पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन्। युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन्।
दक्ष कालिगडको कमी, भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै पाउन छोडेपछि पूर्वी नेपालको विर्तामोड र भारतबाट माटोका विभिन्न तयारी भाँडा ल्याएर बिक्री गरिरहेको भाँडा व्यवसायी गणेश शाहले बताए।
“पहिले धनगढीमा माटोका भाँडा बनाउने कालिगड जहातही हुन्थ्ये, माटो पनि आवश्यकताअनुसार सहजै उपलब्ध हुन्थ्यो। स्थानीयस्तरमा बनाइएको भाँडा बिक्री गर्न सहज पनि थियो”, उनले भने, “पछिल्लो समय बमहिरबाट तयारी अवस्थामा भाँडा ल्याएर बिक्री गर्दा उपभोक्ता विश्वास पनि कम गर्ने भएकाले व्यापार घटेको छ।”
भारतबाट ल्याउने गरेका माटोको भाँडा भन्सार तिरेर आयात गर्नुपर्ने भएकाले महङ्गो पनि पर्न गएको भन्दै शाहले यसरी व्यापार गर्दा मुनाफा पनि नहुने बताए।
आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लाष्टिकका रङ्गीविरङ्गी भाँडा सहजै पाइन थालेपछि पहिलेको तुलनामा माटोका भाँडाले बजार पाउन छोडेको धनगढीको कृष्णनगरकी व्यवसायी नीलमदेवी कलवाराले उल्लेख गरे।
“केही वर्ष पहिले दैनिक पाँच हजारदेखि १० हजारसम्म कारोबार हुन्थ्यो, अहिले दैनिक एक हजारदेखि तीन हजारसम्मको कारोबार हुन्छ”, उनले सुनाइन्।
लामो समयदेखि माटोका भाँडासम्बन्धी व्यवसाय गर्दै आएकी कलवाराले पछिल्लो समय बिक्री घटेसँगै व्यवसाय सङ्कटमा पर्न थालेको गुनासो गरिन्। “पहिलेको तुलनामा कारोबार घटेपछि जीविकोपार्जनमा समस्या हुन थालेको छ। यो व्यवसायबाट खर्च चलाउन मुस्किल हुन थालेपछि अहिले गर्मी मौसममा गन्नाको जुस र जाडोमा अण्डा ठेला राखी बिक्री गर्न थालेकी छु”, उनले भनिन्।
स्थानीयस्तरमा भाँडा बनाउने माटो पाउन छोडेपछि भारतको लख्खिमपुरसहितका सहरबाट तयारी भाँडा ल्याएर बिक्री गरिरहेको कलवाराले जानकारी दिइन्। “पहिले माटोका भाँडा बनाउने भट्टा यहाँ थुप्रै थिए, हिजोआज माटो पाउन छोडेपछि बाहिरबाट भाँडा ल्याउदा महँगोमा बिक्री गर्नु पर्दछ”, उनले भनिन्।
प्लास्टिकका भाँडा तथा अन्य सामग्री प्रयोग गर्न सहज हुने, जहाँ पनि पाइने हुँदा परम्परागत माटाका भाँडाको व्यापार घटेको धनगढीका व्यवसायी अरविनप्रसाद कलवाराले बताए। “पहिलेभन्दा अहिले व्यापार धेरै घटेको छ, यही अवस्था रहे यो पेसा लोप हुने जोखिम बढेको छ”, उनले भने।
स्थानीय सरकारले माटोका भाँडा बनाउने सीप पुस्तान्तरण गर्न र यो पेसा संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्नेमा कलवाराले जोड दिए। “माटोबाट निर्मित भाँडा टुटफुट बढी हुने भएकाले प्रयोगकर्ता घट्न थालेका छन्। घरघरमा सिमेन्टका गमला लगेर बिक्री गरिँदा पनि माटोका भाँडाको माग घटेको हो”, उनले सुनाए।
अहिले प्रतिग्राग्री दुई सयदेखि पाँच सय, प्रतिगमला एक सयदेखि दुई सय, प्रतिखुत्रुक्के ३० देखि तीन सय, प्रतिकलश १५ देखि ५० मा बिक्री भइरहेको उनले जानकारी दिए।
प्रकाशित: २५ पुस २०८१ १५:१६ बिहीबार