१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

राखेपमा ६ को मनोनयन

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डलाई पूर्णता दिने हेतुले बिहीबार ६ सदस्यलाई मनोनीत गरेको छ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राखेपको बोर्डमा ६ सदस्य मनोनयन गरेका हुन्। नयाँ ऐन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार कुल ३७ जनाको बोर्ड हुनेछ भने त्यसको अध्यक्षता युवा तथा खेलकुदमन्त्रीले गर्नेछन्। यसअघि राखेपको उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भइसकेका छन्। बाँकी सदस्यलाई पनि पूर्णता दिने क्रममा बिहीबार मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी ६ जनालाई मनोनयन गरेका छन्।  

नयाँ ऐनमा व्यवस्था भएअनुसार खेल विज्ञ, खेल प्रशिक्षक, प्राविधिक वा एन्टी डोपिङमध्येबाट रिम रानाभाट र इन्दिरा निरौला मनोनयन परेका छन्। रानाभाट र निरौला ऐन जारी भएपछि गठित सदस्यसचिव सिफारिस समितिमा विज्ञका रूपमा थिए। मन्त्री विश्वकर्माले दुवैलाई विज्ञको रूपमा समेत बोर्ड सदस्यमा मनोनयन गरेका हुन्। त्यस्तै अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठलाई राष्ट्रिय खेल संघको सिफारिसबाट मनोनयन गरिएको छ भने परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्वका रूपमा गोविन्दप्रसाद भट्टराई मनोनीत भए।

अर्जुनबहादुर नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष र सुवास नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन्। सम्पन्न श्रेष्ठ भने नेपाल मुआथाई संघका प्रतिनिधिका रूपमा बोर्डमा आएका छन्। अर्का सदस्य भट्टराई भने पर्वतीय खेलकुद महासंघका अध्यक्षसमेत हुन्। राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै मन्त्रालयले परिषद्को बोर्ड बैठकलाई समेत पूर्णता दिन लागिपरेको छ र मन्त्रालयले छिट्टै बाँकी सदस्य पनि मनोनीत गर्दै बोर्डलाई पूर्ण दिने विज्ञप्तिमार्फत उल्लेख गरेको छ।

प्रकाशित: १६ श्रावण २०७७ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App