७ वैशाख २०८१ शुक्रबार
खेल

खेलकुदको दुर्दशा, दर्जनौं खेल प्रशिक्षक विहीन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी पाएको पोखरामा दजनौं खेल प्रशिक्षक विहीन छन्। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेर इतिहास लेखाएको पोखराले फेरी ३७ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता फर्किएको छ। घरेलु मैदानमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ इतिहास कोर्ने लक्ष्य छ। लक्ष्य पुरा गराउने प्रशिक्षककै अभावमा यतिबेला पोखरा रुमलिएको छ। खेलकुद शहरबाट चिनिएको पोखराको खेलकुदको आवश्यक पूर्वाधार थपिदैं गएपनि प्रशिक्षक भने निवृत्तिभरण भई खाली हुदैं गएका छन्।  

कास्कीमा उसु, भलिबल, तेक्वान्दो, सितेरियो कराँते, भारोत्तोलन र शारीरिक सुगठनका प्रशिक्षक मात्रै छन्। जिम्न्याष्टिकका प्रशिक्षकको रुपमा रहेका कृष्ण तिमिल्सिना पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको प्रशिक्षक विभाग सहइन्चार्जको रुपमा सरुवा भएका छन्। राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ वटा खेलहरु समावेश गरिदैं आएको छ। समावेश गरिएका खेलहरुकै प्रशिक्षक अभावले पदकको अपेक्षा भने गर्न नसकिने खेलकर्मीहरु बताउँछन्। आफैंले अन्धाधुन्दमै  गरिएको प्रशिक्षणबाट खेलाडी तयार भएपनि पदक जित्ने सम्भावना भने न्युन हुने छ। विभागिय क्लब तथा सात प्रदेशमा गण्डकी प्रदेशको खेलकुदस्तर भने मध्यम छ। अब नयाँ इतिहास कोर्ने योजनासहित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने संघारमा रहदाँ कोभिड–१९ को प्रभावले सताएको छ।  

फुटबल, ह्याण्डबल, क्रिकेट, बक्सिङ, जुडो, गल्फ, साईक्लिङ, लनटेनिस, सफ्ट टेनिस, स्क्वास, सेपाकताक्रो, हक्की, आर्चरी, फुलकन्ट्याक्ट कराँते, आईटिएफ तेक्वान्दो, कबड्डी लगायतका खेलका प्रशिक्षक छैनन्। प्रशिक्षक केबल स्वयंसेवक छन्। राष्ट्रिय खेलकुद परिषदकाट नियुक्त भएका प्रशिक्षक भने छैनन्। ‘प्रशिक्षक छैनन् भन्दा छन्। तर परिषदका होईनन्। सबै स्वयंसेवक प्रशिक्षक हुन्’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘प्रशिक्षक अभावै अभावमा राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी गर्नुपर्ने बाध्यता छ।’ उनका अनुसार प्रशिक्षककै अभाव भएपनि गण्डकी प्रदेशको राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदर्शन भने सम्मानजनक नै छ।  

खेलका आवश्यक सामान समेत छैनन्। खेलाडी  भएपनि प्रशिक्षण सामाग्रीको अभावले खेलकुद थलिएको छ। केहीमा सामान भएपनि खेलाडी नहुदाँको पीडा छ। केहीको सामान पनि छैन्। खेलाडी पनि छैनन्। तेक्वान्दो, सितेरियो कराँते र भारोत्तोलनको भने आवश्यक पूर्वाधारसहित खेल सामाग्री छ। सामाग्री राख्ने स्टोरकै अभावले पनि सामान जोगिने अवस्था छैन्। १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको समयमा आएर स्टोर बनाएको छ।  

‘प्रशिक्षक छैन्। प्रशिक्षकको व्यवस्था गर्न नेपाल क्रिकेट संघ(क्यान)सँग सहकार्य हुदैं छ। गण्डकी प्रदेशस्तरीय प्रशिक्षक राख्ने योजना छ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘प्रशिक्षक नहुदाँ खेलाडीलाई नियमित प्रशिक्षण गराउन पाईएको छैन्।’ उनका अनुसार संघकै पहलमा सेन्ट्रल क्रिकेट एकेडेमी समेत शुरु गर्ने योजना रहेको उल्लेख गर्दै एकेडेमीलाई प्रशिक्षण गराउन सिनियर खेलाडीलाई व्यवस्था मिलाउने सुनाए। महिला क्रिकेट भने कास्कीमा शून्यमा पुगेको छ।  

आर्चरीको पनि राखेप नियुक्त प्रशिक्षक छैन्। परिषदले केही समयको लागि करारमा प्रशिक्षक राखिएको थियो। यद्यपी परिषदले हटाएपछि नयाँ नियुक्ति भएको छैन्। ‘प्रशिक्षक माग गरिरहेका छौं’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने–‘लेभल कोर्ष गरेको (सर्टिफिकेट प्राप्त) छन्। तर नियुक्त नहुदाँ समस्या भएको छ।’ केही लेभल कोर्ष गरेका पोखरामै प्रशिक्षक छन्। प्रशिक्षणको लागि केन्द्रकै भरमा बस्नुपर्ने बाध्यता छ।  

पोखरामा १५ वर्षदेखि बक्सिङको प्रशिक्षक विहीन छ। लामै समय बक्सिङ प्रशिक्षक विहीन नहुदाँ खेलको विकास र विस्तार हुनै सकेको छैन्। कुनै बेला बक्सिङमा आधिपत्य जमाएको कास्की अहिले लगातार खस्किदैं गएको छ। ‘प्रशिक्षक छैनन्। माग भने वर्षौदेखि गर्दै आएपनि सुनुवाई भने भएको छैन’ कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले भने–‘प्रशिक्षक नआईदिदाँ प्रशिक्षणमा समस्या छ।’ उनका अनुसार बक्सिङको प्रशिक्षण भईरहनेपनि व्यक्तिगत रुपमा भईरहेको छ। उनका अनुसार गण्डकी प्रदेशकै बक्सिङको प्रशिक्षक छैनन्। काजमा ल्याएर प्रशिक्षण गराउन समेत नसकिएको उनको भनाई थियो।  

 

 

 

 

 

 

प्रकाशित: १३ श्रावण २०७७ ०४:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App