२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालगन्जमा क्रिकेट रंगशाला: अघि बढ्दै माटो पटान र पर्खाल निर्माण

नेपालगन्ज अन्तराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर। तस्विर : नागरिक

आगामी दुई वर्षमा क्रिकेट खेल्ने मैदान तयारी गर्ने लक्ष्यसहित नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अगाडि बढ्दै छ। क्रिकेट रंगशाला निर्माणलाई नेपालगन्जले गौरवको आयोजनाका रूपमा लिइएको छ। रंगशाला निर्माणका लागि जनप्रतिनिधिले मिहिनेत गरिरहेका छन्।  

नेपालगन्ज उपमहानगरपालिकाले सुरुआतमा पर्खालको जग र माटो पटानलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। सुरुआती चरणमा क्रिकेट मैदान निर्माणका लागि २ करोड ५० लाख रकम खर्च हुँदै छ।  

प्रदेश सरकारको सहयोगमा १ करोड रुपैयाँमा माटो पटान र उपमहानगरपालिकाले पर्खाल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्।  

घरेलु क्रिकेटमा नेपालगन्जलाई महिला क्रिकेटको उद्गम थलोका रूपमा मानिन्छ। तर मैदान अभावले यहाँको क्रिकेट स्तर पछिल्लो समय खस्कँदो अवस्थामा छ। खेल्ने र प्रतियोगिता गर्ने मैदान नहुँदा रंगशालानजिकै रहेको मंगलप्रसाद उच्च माविको मैदानमा निर्भर छ नेपालगन्जको क्रिकेट।  

उपमहानगरपालिकाले क्रिकेट रंगशाला निर्माणलाई गौरवको योजनाका रूपमा अगाडि सारेपछि भने नेपालगन्जका क्रिकेटप्रेमी खुसी भएका छन्। क्रिकेट मैदान निर्माण कार्य सुरु हुनु भनेको नेपालगन्जवासीका लागि सफलताको विषय भएको बताउँछिन् टेनिसकी पूर्वखेलाडी तथा नेपालगन्ज उपमहानगरपालिकी उपमेयर उमा थापा मगर।

उपमहानगरपालिकाले क्रिकेट रंगशाला निर्माणलाई गौरवको योजनाका रूपमा अगाडि सारेपछि भने नेपालगन्जका क्रिकेटप्रेमी खुसी भएका छन्।

मगरले भनिन्, ‘क्रिकेट मैदान नेपालगन्जको प्रमुख आवश्यकता हो। तर रंगशाला निर्माणका लागि नगरभित्र उपयुक्त जमिन थिएन। रंगशाला निर्माणको कुरामा वर्षांैदेखि सहमति जुट्न नसकेको जमिनमा स्थानीय सहमत हुनुभयो। यो सहमति नगरलाई एक कदम समृद्ध बनाउने प्रयास हो। यसले नेपालगन्जको पहिचानलाई बढाउनेछ।’

नेपालगन्ज उपमहानगरपालिकाले निर्माण गर्न लागेको रंगशालाको डिपिआर तयार भएर माटो पटान र पर्खाल निर्माणको काम केही साताभित्र सुरु हुने नगरपालिकाले बताएको छ। नेपालगन्ज उपमहानगरपालि–६ मा रहेको करिब १२ बिघा जमिनमध्ये पाँच बिघा जमिनमा रंगशाला निर्माण हुनेछ।

नगरपालिकाले आगामी दुई वर्षमा क्रिकेट खेल्ने मैदान तयार गर्ने लक्ष्य लिएको छ। जति सक्दो छिटो क्रिकेट खेल्न मिल्ने मैदान बनाउने प्रयास भइरहेको बताउँछिन् उपमेयर मगर। उनले थपिन्, ‘पर्खाल निर्माणका लागि मात्र हामीलाई करिब ४ करोड बजेट आवश्यक देखिन्छ। बजेट अभाव भएका कारण हामीले सुरुआतमा पर्खालको जग बनाउने र मैदानमा माटो पटानलाई प्राथमिकता दिएका छौं। अन्तर्राष्ट्रिय स्तर क्रिकेट मैदान निर्माण गर्न भएकोले हामीलाई केही वर्ष लाग्छ। तर सुरुआतमा क्रिकेट खेल्नका लागि मैदान तयार गर्नेमा हामी केन्द्रित छौं।’  

नेपालगन्जको फुल्टेक्रास्थित करिब १२ बिघा जमिन मुस्लिम समुदायका लागि कर्बला, केही जमिन हिन्दु धर्मावलम्बीहरूले प्रयोग गर्दै आएका थिए।  

रंगशाला निर्माणका लागि पटक–पटक प्रयास गरिए पनि स्थानीय बासिन्दाबीच सहमति नहुँदा रंगशाला निर्माण गर्ने कार्य सुरु हुन सकेको थिएन। जग्गासम्बन्धी विवाद मिलाउन नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २ अध्यक्ष एवम जग्गा छनोट समिति संयोजक सुनिलसिंह हमालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो। जसले रंगशाला निर्माणमा सहमति जुटाउने काम गरेको थियो।  

नेपालगन्जमा क्रिकेट रंगशाला निर्माण कार्यलाई क्रिकेट संघले महत्वका साथ लिएको छ। प्रदेश ५ क्रिकेट संघ अध्यक्ष दुर्गा थापा नगरपालिकाले सुरुआत गरेको योजनालाई स्थानीय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन संघले प्रयास गर्ने बताउँछन्।  

बाँके जिल्ला क्रिकेट संघका अध्यक्षसमेत रहेका थापाले भने, ‘क्रिकेट मैदान प्रयोग क्रिकेट संघ र खेलाडीले गर्ने हो। नगरपालिकासँग हाम्रो एउटा सम्झौता भएपछि संघले क्रिकेट रंगशाला निर्माणका लागि एसियाली क्रिकेट र अन्तर्राष्ट्रिय क्रिकेट एसोसिएसनसँग सहयोगका लागि प्रस्ताव गर्नेछ। नेपालगन्जको क्रिकेटका बारेमा हामीले धेरैलाई चिनाउनु पर्दैन। बाँके जिल्ला क्रिकेट संघले महिला क्रिकेटको विकासमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कार पनि पाएको छ। हामीलाई विश्वास छ क्रिकेट मैदान निर्माणमा विभिन्न निकायले सहयोग गर्नेछन्।’

प्रकाशित: ९ श्रावण २०७७ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App