८ वैशाख २०८१ शनिबार
खेल

सिटीको फराकिलो जित

वाटफोर्डविरुद्ध बल अघि बढाउँदै म्यानचेस्टर सिटीका रोड्रिगो। तस्बिर: एपी

रहिम स्टर्लिङको दुई गोल मद्दतमा साबिक च्याम्पियन म्यानचेस्टर सिटीले रेलिगेसन क्षेत्रमा रहेको वाटफोर्डमाथि मंगलबार ४–० को फराकिलो जित निकाल्दा प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले आर्सनलविरुद्ध १–० को महँगो जित हात पारेको छ ।  

वाटफोर्डमाथि सहज जित निकालेको सिटीले मंगलबार च्याम्पियन बनिसकेको लिभपुलसँगको दूरी घटाउँदा एस्टन भिल्ला रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि उक्लिएको छ । एक स्थानमुनि वाटफोर्ड र एस्टन भिल्लाले ३७ खेलबाट समान ३४ अंक जोडे पनि एस्टन भिल्ला गोलअन्तरका आधारमा भाग्यमानी रहँदै रेलिगेसन क्षेत्रमाथि अटाएको हो । लिगको अन्तिम  खेलमा एस्टन भिल्लाले आइतबार वेस्ट ह्यामसँग खेल्नेछ भने वाटफोर्डले आर्सनलको चुनौती सामना गर्नेछ ।  

प्रिमियर लिगमा नर्विच सिटी रेलिगेसनमा पर्ने पक्का भइसकेको छ भने लिगमा एक खेल बाँकी रहँदा रेलिगेसन क्षेत्रबाट जोगिन वाटफोर्ड, एस्टन भिल्ला र बर्नमाउथबीचको समीकरण निकै रोमाञ्चक बनेको छ । यस्तै च्याम्पियन्स लिगमा छनोट हुन पनि चेल्सी, लेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र उल्भ्सबीच उत्तिकै प्रतिस्पर्धात्मक स्थिति छ ।  

एकै सिजन तीन प्रशिक्षक बर्खास्त गर्ने वाटफोर्ड पहिलो टोली भएको छ । आइतबार मात्र नयाँ प्रशिक्षक निगेल पियरसनले टोलीको जिम्मेवारी लिएका थिए । क्लबमा नयाँ व्यवस्थापन भए पनि क्लबले मंगलबार सुखद नतिजा निकाल्न सकेन । अघिल्लो साता एफए कपको सेमिफाइनलमा आर्सलनसँग २–० को हार बेहोरेको सिटीले मंगलबार वाटफोर्डमाथि ४–० को जित निकाल्दा राहत मिलेको छ । यसअघिको पहिलो लेगमा सिटीले वाटफोर्डलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो भने अघिल्लो सिजनको एफए कपको फाइनलमा ६–० ले हराउँदै उपाधि चुमेको थियो । मंगलबार पनि सहज जित निकाल्दा सिटीले वाटफोर्डविरुद्ध ३१औं मिनेट स्टर्लिङको गोलबाट खाता खोलेको थियो । ४०औं मिनेटमा स्टर्लिङलाई वाटफोर्डका खेलाडीले पेनाल्टी क्षेत्रभित्र खराब ट्याकल गरेपछि प्राप्त गरेको पेनाल्टी अवसर स्टर्लिङले सदुपयोग सकेनन् । वाटफोर्डका गोलकिपरले उत्कृष्ट बचाउ गरे पनि रिबाउन्डमा स्टर्लिङले जाली चुमाउँदै टोलीको अग्रता दोब्बर पारेका थिए । ६३औं  मिनेटमा फिल फोडेनले टोलीका लागि तेस्रो गोल गरेर अग्रता ३–० मा पु¥याउँदा त्यसको तीन मिनेटपछि यार्मिक लापोर्तेले गोल थप्दै टोलीको जित सुनिश्चत गरेका थिए । उपाधि सुम्पिसकेको सिटीले लिगको अन्तिम खेल आइतबार तालिकाको पुछारमा रहेको नर्विच सिटीसँग खेल्नेछ ।  

प्रिमियर लिगअन्तर्गत मंगलबार आर्सनलविरुद्ध १–० को अमूल्य जित निकाल्दा ट्रिजिगेटले पहिलो हाफमा गरेको गोल पर्याप्त बनेको हो । २७औं मिनेटको उक्त गोलले नै एस्टन भिल्ला रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि उक्लिन सफल भएको हो । यसअघि मंगलबारकै खेलमा सिटीले वाटफोर्डलाई पराजित गर्दा एस्टन भिल्लालाई फाइदा पुगेको हो । पराजित आर्सनल भने ५३ अंकका साथ तालिकाको १०औं स्थानमा यथावत् छ ।  

एफए कपको सेमिफाइनलमा सिटीलाई पराजित गरेको आर्सनलले  मंगलबार कमजोर मानिएको एस्टन भिल्लालाई नतिजा सुम्पिँदा प्रिमियर लिगमा छैटौं स्थानको सम्भावना टरेको छ । यद्यपि आर्सनलको युरोपा लिग सम्भावना भने कायमै छ । एफए कपको फाइनल प्रवेश गरेको आर्सनले शनिबार चेल्सीविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सुखद अन्त्य गरे आर्सनलको युरोपा लिग यात्रा आरम्भ हुनेछ । 

प्रकाशित: ८ श्रावण २०७७ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App