२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिटीमाथिको प्रतिबन्ध फुकुवामा असन्तुष्टि

योर्गान क्लोप

इङ्लिस प्रिमियर लिग शीर्ष क्लबका केही प्रशिक्षकले म्यानचेस्टर सिटीमाथि लागाइएको प्रतिबन्ध हटाउने कोर्ट अफ आर्बिटेसन(सिएएस)को आदेशप्रति असन्तुष्टि जनाएका छन्।  

सिएएसले सोमबार म्यानचेस्टर सिटीमाथि युइएफएले युरोपेली प्रतियोगिता खेल्न लगाएको दुई सिजन प्रतिबन्धको निर्णयलाई उल्ट्याएको थियो, जुन निर्णयलाई केही प्रशिक्षकले ‘अपमानजनक र फुटबल जगत्का लागि खराब दिन’ भएको प्रतिक्रिया दिएका हुन्।

क्लब लाइसेनिङ र फाइन्यान्सियल फेयर प्ले (एफएफपी) को गम्भीर उल्लंघन गरेको भन्दै  युइएफएले सिटीलाई  आगामी दुई सिजन युरोपेली प्रतियोगिता खेल्नमा प्रतिबन्ध लगाएको थियो।  

यद्यपि युएइफएको निर्णयविरुद्ध सिटीले सिएएसमा अपिल गरेको थियो। सिएएसले सोमबार सुनुवाई गर्दै युइएफले करिब ४ महिनाअघि सिटीमाथिको प्रतिबन्धलाई उल्ट्याइदिएको थियो। यस क्रममा सिएएसले सिटीले क्लब लाइसेनिङ र प्रायोजन रकममा  युइएफएको एफएफपी विपरीत कार्य नगरेको बताएका थियो।

सिएएसले युइएफएको निर्णय उल्ट्याउनुमा सिटीका मालिकले मोटो रकम खर्चिएका छन् र यसले गलत नजिर बस्छ।–क्लोप

यस सिजनको प्रिमियर लिग विजेता लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले मंगलबार सिएएसको निर्णयको आलोचना गरेका थिए।

क्लोपले सिएएसले युइएफएको निर्णय उल्ट्याउनुमा सिटीका मालिकले मोटो रकम खर्चिएको र यसले गलत नजिर बस्ने बताएका थिए।

‘मलाई सोमबार आएको निर्णयले फुटबलका लागि राम्रो दिन हो जस्तो लाग्दैन,’ क्लोपले भने, ‘एफएफपी राम्रो अवधारणा हो। यो सबै क्लबले नियमभित्र रहेर पारदर्शी हिसाबले क्लब सञ्चालन गरून् भनेर ल्याइएको हो। मैले यस विषयमा निर्णय गर्ने होइन र म गर्दिनँ पनि तर एफएफपीको परिधिभित्र रहेका क्लबहरू सञ्चालन हुनुपर्दछ।

युइएफएले लगाएको दुई वर्षको प्रतिबन्धको निर्णय उल्ट्याउन सफल भए पनि सिटी युइएफएले तोेकेको जरिवाना रकमबाट भने मुक्त हुन सकेन। सिटीले यसअघि तोकिएको ३० मिलियन युरो जरिवानाको साटो १० मिलियन युरो तिर्नुपर्नेछ।  

त्यस्तै टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले एफएफपीको नै अन्त्य हुनुपर्ने बताएका छन्।  

‘यो अपमानजनक निर्णय हो किनभने सिटी दोषी थिएन भने प्रतिबन्ध मात्र हटाएर जरिवाना मात्र तिराउने निर्णय किन गरियो?’ माउरिन्होले भने, ‘दोषी नै छेैन भने कारबाहीस्वरूप जरिवाना किन ? दोषी हो भने प्रतिबन्ध पनि यथावत् हुनुपर्ने हो,यद्यपि प्रतिबन्धको समय केही घट्न सक्थ्यो होला। सिटी दोषी हो म भन्दिनँ तर यो निर्णय युएइफएको अपमान हो।’

‘यो निर्णयपछि एफएफपीको औचित्य अब रहिरहन्छ जस्तो मलाई लाग्दैन,’ माउरिन्होले थपे।

सिटीले फेब्रुअरीमा युएइफएको आरोप निराधार भएको बताउँदै प्रतिबन्धको निर्णयविरुद्ध सिएएसमा अपिल गरेको थियो।

‘जोजे माउरिन्होका साथै अन्य प्रशिक्षकले पनि युइएफएको प्रतिबन्धको निर्णयले हामी गम्भीर स्थितिमा पुगेका थियौ भनेर मनन गर्न आवश्यक छ,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘हामीले गल्ती गरेको भए हामीलाई युइएफएको निर्णय स्वीकार्य हुन्थ्यो। युइएफएकले गरेको  प्रतिबन्धको निर्णयविरुद्ध अपिल गर्न पाउनु हाम्रो अधिकार थियो, हामीले त्यसैको प्रयोग गरेका हौ।’

सिटीले शनिबार ब्राइटनमाथि ५–० को सहज जितका साथ शनिबार लगातार अर्को सिजनका च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेको छ।

सिटीले शनिबार एफए कपको फाइनलमा आर्सनलको सामना गर्दै छ। च्याम्पियन्स लिग अन्तिम १६ दोस्रो लेगमा भने सिटीले अगस्टमा रियाल मड्रिडको सामना गर्नेछ। पहिलो लेगमा सिटी २–१ ले विजयी भएको थियो।

प्रकाशित: १ श्रावण २०७७ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App