coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

साग प्रतियोगिता : ६ महिनापछि बल्ल पाए खेलाडीले पुरस्कार

प्रदेश सरकारले गरेको सम्मान ग्रहण गर्दै खेलाडी । तस्बिरः चुमन/नागरिक

प्रदेश १ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित साग खेलका पदक विजेता खेलाडीलाई सम्मान कार्यक्रममा नगदसहित सम्मानपत्रले सम्मान गरिएको हो । ६ महिना अघि सम्पन्न भएको साग प्रतियोगितामा प्रदेश १ का खेलाडीले पदक जिते पुरस्कार स्वरूप रकम प्रदान गर्ने प्रदेश सरकारले घोषण गरेको थियो ।

प्रदेशसभामा सत्तारुढ दलका सदस्यले २०७६ साल मंसिरमै सम्पन्न भइसकेको साग प्रतियोगिताका विजेता खेलाडीलाई दिइने पुरस्कार नदिएको भन्दै कुरा उठाएपछि मुख्यमन्त्रीले यस अर्थिक वर्षभित्रै खेलाडीलाई सम्मान गर्ने बताएका थिए ।  

पदक विजेता खेलाडीलाई सम्मान गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने, ‘प्रदेशलाई खेलकुदको राजधानी बनाउने संकल्प लिएका कारण सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको छ ।’ ‘खेल र खेलाडीले मुलुकको इज्जत प्रतिष्ठा, नामलाई शिखरको उचाइमा पुर्‍याउने भएकाले खेलकुदलाई प्राथमिकतामा राखेका छौं,’ मुख्यमन्त्री राईले भने, ‘ खेलकुद क्षेत्र अब छायाँमा पर्ने छैन । कसैको राजनीतिक हस्तक्षेप हुनेछैन ।’ हामीले सबै खेलाडीलाई भेला गराएर भव्यरूपमा सम्मान गर्ने योजना बनाएका थियौं । तर, कोभिड १९ का कारण त्यस्तो गर्न सकेनौं ।  

सम्मान प्राप्त गरेपछि बोल्दै सागमा फुटबल टोलीको कप्तान सुजल श्रेष्ठले प्रदेश सरकारले खेलाडीलाई गरेको सम्मानबाट थप हौसला पाएको बताए । प्रदेश सरकारले पदक विजेतालाई सम्मान गर्ने भन्ने कुरा विर्सेको जस्तो लागेको बताउदै श्रेष्ठले भने, ‘असार ३१ मै पुरस्कृत र सम्मान गर्दा बजेट हतारमा सके जस्तो अनुभव भएको छ ।’ ‘आफूहरु पैसाका लागि नभई राष्ट्रका लागि खेल्ने गरेका छौं,’ श्रेष्ठले भने, ‘हामीले पैसाका लागि खेलेनौं र पैसा प्राथमिकतामा परेन । हाम्रो लक्ष्य भने कै अरुलाई पराजित गरेर पदक जित्नु र राष्ट्रको नाम उच्च बनाउनु रहेको छ । त्यसैले मन दुखेको छैन ।’  

प्रदेश सरकारले पुरस्कृत गर्ने क्रममा खेल, इभेन्ट र सहभागिताका अनुसार पुरस्कार वितरण गरेको थियो । स्वर्ण पदक जितेको फुटबलका खेलाडीले जनही ७५ हजार ५ सय रुपैयाँ पाए । प्रदेशबाट फुटबलमा ८ जना पुरुष खेलाडी थिए भने महिला फुटबलतर्फ रजत पदक हात पारेका ८ जना खेलाडीले जनही ६० हजार रुपैयाँ प्राप्त गरे ।

एकलतर्फ स्वर्ण पदक जित्नेलाई ३ लाख रुपैयाँ, रजतलाई २ लाख र कास्यलाई १ लाख रुपैयाँ प्रदान गर्ने सरकारले घोषणा गरेको थियो । प्रदेश १ बाट स्वर्ण, रजत र कास्य पदक हात पार्ने ८८ जना खेलाडीका लागि ८० लाख रुपैयाँले पुरस्कार प्रदान गरेको हो । यसमा एकतर्फ स्वर्ण ६, रजत ४ र कास्य १० जनाले पदक हात पारेका छन् । त्यसैगरी, टोलीतर्फ स्वर्ण १५, रजत २२ र कास्य ४१ जनाले हात पारेका थिए । प्रदेश १ बाट सागमा खेलाडीले १० स्वर्ण, १० रजत र २९ कास्य गरी ४९ पदक दिलाएका थिए ।  

साग प्रतियोगितामा स्वर्ण पदक विजेता प्रदेशका खेलाडी फुटबलतर्फ अनन्त तामाङ, विकास सवास, छिरिङ गुरुङ, हेमन्त थापामगर, सेसाङ आङदम्बे, सुजल श्रेष्ठ, मिक्चेन तामाङ, रेजिन सुब्बा, जुडोतर्फ राधिका खड्का तथा तेक्वान्दोतर्फ सिना लिम्बू मादेन, भूपेन श्रेष्ठ, स्वस्तीका तामाङ, निता गुरुङ र सुशीला राईले पदक जितेका थिए । त्यसैगरी करातेतर्फ अनुपमा मगर र संगीता मगर, उसुतर्फ जुना राई, गल्फतर्फ सुकबहादुर राई, निरज तामाङ, टंकबहादुर कार्की र साइक्लिङमा राजेश मगरले पदक जितेका थिए ।

प्रकाशित: ३१ असार २०७७ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App