१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कोरोना सचेतना दौड

लभ एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा कोरोना सचेतना दौड शनिबार सञ्चालन भएको छ। वैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम वैकुण्ठ मानन्धर पाँच किलोमिटर भेट्रान रोड रेस राखिएको थियो।

दौडमा ३ महिलासहित २५ जना प्रतिस्पर्धी सहभागी थिए। कोरोना भाइरस (कोभिड– १९) का दौरान २५ भन्दा बढी भेला हुन नपाउने नेपाल सरकारको नियमलाई पालना गरी २५ जना मात्र सहभागी गराएर दौड सञ्चालन गरिएको दौड संयोजक बुद्धवीर लामाले जानकारी गराए। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुका साथै कोरोना भाइरसका दौरान कसरी सतर्क रहने भन्ने सन्देश प्रवाह गर्न दौड आयोजना गरिएको संयोजक लामाले बताए।

सहभागी सबैले निर्धारित २५ किलोमिटर दूरी तय गर्न सफल भए। सहभागीमध्ये सबैभन्दा पाका ८४ वर्षीय डा. खगेन्द्रबहादुर श्रेष्ठ रहे। श्रेष्ठ डा. खगेन्द्रबहादुर श्रेष्ठ स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष पनि हुन्। अन्य सहभागीमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, एभरेस्ट म्याराथनकी तीन पटककी विजेता याङ्दी लामा शेर्पा, एसियन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपका कांस्य विजेता धर्म महजर्न, संयोजक बुद्धवीर लामालगायत रहेका छन्। लामा वैकुण्ठ र अर्का पूर्वधावक जितबहादुर केसीले म्याराथनमा प्रतिस्पर्धा गर्ने बेलाका निकटतम् प्रतिद्वन्द्वी हुन्। वैकुण्ठ र केसीले फरक–फरक म्याराथनमा प्रतिस्पर्धा गर्दा सहभागी लामा जहिले पनि दोस्रो हुन्थे।

कोरोना सचेतना दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयको मूल गेट बाहिरबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः त्यहीं आएर टुंगिएको थियो। दौडलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। ६० वर्षमाथि उमेरसमूहमा शम्भु दाहाल पहिलो, पुष्पलाल श्रेष्ठ दोस्रो र मंगलदास तण्डुकार तेस्रो भए। महिला खुला समूहमा याङ्दी लामा शेर्पा पहिलो, सीता रिमाल दोस्रो र राधा श्रेष्ठ तेस्रो बने। ४० देखि ५९ वर्ष उमेरसमूहमा धर्म महर्जन प्रथम, भीमबहादुर गुरुङ द्वितीय र दीपककुमार रञ्जित तृतीय भए। विजेतालाई डा. खगेन्द्रबहादुर श्रेष्ठले प्रमाणपत्र र पदक वितरण गरे।  

प्रकाशित: २१ असार २०७७ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App