तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो। सामान्य परिवेशमा हुर्किएका उनले आफ्नो भविष्य दौडमा देखेका छन्।
विगत सात वर्षदेखि निरन्तर दौडमा सक्रिय रहँदै आएका सनमले आफ्नो अथक मिहिनेत, लगनशीलता र दृढ इच्छाशक्तिबाट उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले हालसम्म एक सयभन्दा बढी दौड प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।
तनहुँसहित लमजुङ, गोरखा, स्याङ्जा, चितवन, बागलुङ र धादिङलगायत विभिन्न जिल्लामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका उनले ७० भन्दा बढी पदक जित्न सफल भएका छन्। यो उनका लागि मात्र नभई आँबुखैरेनी र तनहुँ जिल्लाका लागि पनि गर्वको विषय बनेको छ।
विशेषगरी तनहुँका विभिन्न स्थानमा आयोजित प्रतियोगितामा उनले बारम्बार प्रथम स्थान हासिल गर्दै आफ्नो पहिचान स्थापित गरेका छन्। गुरुङले सोमबारमात्रै गोरखामा आयोजित दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए। उनका अनुसार दौड प्रतियोगिताबारे जानकारी पाउन अहिले सामाजिक सञ्जाल मुख्य माध्यम बनेको छ।
‘कतिपय प्रतियोगिताको जानकारी फेसबुकजस्ता प्लेटफर्मबाट थाहा हुन्छ, कहिलेकाहीँ आयोजकले नै सम्पर्क गर्नुहुन्छ, साथीभाइले पनि खबर गर्छन्’, उनी भन्छन्। साथै विभिन्न सञ्चारमाध्यममा आउने खेलसम्बन्धी समाचार पनि उनका लागि उपयोगी स्रोत बनेका छन्।
सनमको सफलताको पछाडि उनको परिवार, विशेषगरी आमाको महत्त्वपूर्ण भूमिका रहेको छ। उनी आमासँगै बस्दै आएका र आमाले हरेक पाइलामा साथ दिँदै उनलाई प्रेरणा दिइरहेको बताउछन्। ‘आमाको साथ र विश्वासले मलाई अझ बलियो बनाएको छ’, सनम भन्छन्।
आर्थिक दृष्टिले खेलकुद क्षेत्रमा चुनौतीहरू रहे पनि उनले पैसाभन्दा सन्तुष्टिलाई ठूलो ठानेका छन्। ‘दौडमै मेरो भविष्य देखेको छु। मिहिनेत गरिरहेको छु। अहिलेसम्म विदेश जाने सोच बनाएको छैन’, उनी भन्छन्। उनका लागि दौड केवल प्रतिस्पर्धामात्र होइन, जीवनको उद्देश्य र आत्मसन्तुष्टिको माध्यम बनेको छ।
भविष्यमा अझ ठूला प्रतियोगितामा सहभागिता जनाउँदै देशको नाम उँचो बनाउने लक्ष्य राखेका सनम अहिले पनि नियमित अभ्यासमा व्यस्त छन्। आवश्यक पूर्वाधार र अवसरको अभावका बाबजुद उनले हार नमानी आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन्।
प्रकाशित: १६ वैशाख २०८३ १३:५४ बुधबार





