१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अफ कोर्ट रणनीति अन कोर्टमा

प्रेरणा कोइराला

‘द्याट्स ह्वाट मेक्स मी ग्रेट, आई अलवेज प्ले एभ्री वान एट दियर ग्रेटेस्ट, सो आइ ह्याब टु बी ग्रेटर’ महिला टेनिस लिजेन्ड सेरेना विलियम्सको यो भनाइलाई नेपाल नम्बर एक महिला टेनिस खेलाडी प्रेरणा कोइरालाले सधैं पछ्याउँदै आएकी छन् ।  

प्रेरणाले कहिले पनि कसैलाई आफ्नो ठूलो आइडल मानिनन् । उनको बुझाइ छ, अहिले उनलाई नेपालमा नम्बर एक भएकै कारण पछ्याउने धेरै नयाँ खेलाडी छन् । त्यसैले उनी सबैका लागि प्रेरणा बन्न चाहन्छिन् । पोखरामा पछि परेको खेलमा प्रेरणाले उत्कृष्ट पुनरागमनका साथ जित रचेपछि एक मलेसियन खेलाडीले सोधेकी थिइन्, अन्य खेलाडी जितिसकेको खेल गुमाउँछन्, तिमी हारको मुखबाट जित निकाल्छौ, कहाँबाट आउँछ यस्तो ऊर्जा ?’ प्रेरणाको सहज जबाफ थियो,‘म आफ्नो क्षमता र मिहिनेतमा विश्वास गर्छु, त्यो नै मेरो जितका आधार हुन् ।’

नम्बर एकसम्मको यात्रा
प्रेरणाको यो सफलताका पछाडि उनको बुबा पुरुषोत्तमको पनि उत्तिकै भूमिका छ । पुरुषोत्तम आफैँ टेनिस खेलका पारखी थिए । प्रेरणा मैजुबहालस्थित आइडियल स्कुलमा कक्षा ८ मा पढ्दा क्रिकेट खेल्थिन्, जहाँ उनी टोलीकी तीव्र गतिकी बलर थिइन् । प्रेरणाले सानैदेखि खेलमा रुचि देखाएपछि पुरुषोत्तमले स्कुलकै प्रशिक्षक राजकुमार लामासँग प्रेरणालाई स्कुलकै टेनिस क्लबमा भर्ना गराए ।

‘हाम्रो समयमा अविभाभकले छोराछोरीको पढाइबाहेक अरूतिर लागेको मन पराउँदैनथे,’ पुरुषोत्तम सम्झन्छन्,‘सबै जना डाक्टर, इन्जिनियरकै दौडमा छन्, केही पृथक् होस् भन्ने मेरो चाहना थियो । प्रेरणामा पनि खेलप्रति लगाव देखेपछि पढाइभन्दा पनि उनलाई खेलकुदमै लगाउने निर्णय गरेँ ।’ पुरुषोत्तमको चाहना टेनिस खेलोस् भन्ने भए पनि प्रेरणाको लगाव भने क्रिकेटमा थियो । भाग्यवश एक दिन प्रेरणासहित स्कुलका केही खेलाडीलाई प्रशिक्षक राजकुमारले सातदोबाटोस्थित अखिल नेपाल लन टेनिस संघको टेनिस कोर्टमा लगे  । 

फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटिएफ)को विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फ प्रेरणाले उपाधि जितेकी थिइन् । ग्रेड फाइभ जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।   

त्यहाँ प्रशिक्षक कृष्ण घले र सूर्यभूषणले प्रेरणाको शारीरिक बनावट देखेपछि भनेका थिए, ‘यु आर मेड फर टेनिस ।’ प्रशिक्षकको त्यो प्रतिक्रियापछि भने प्रेरणा आफैँले टेनिस खेलमा लाग्ने निर्णय गरिन् । बुबा पुरुषोत्तमले प्रशिक्षक राजकुमारसँगको सल्लाहमा उनलाई प्रशिक्षणका लागि ह्याम्स टेनिस एकेडेमीमा भर्ना गरिदिए । ६ महिना त्यहाँ अभ्यास गरेपछि प्रेरणा अभ्यासका लागि सातदोबाटोस्थित टेनिस कोर्टमा जान थालिन् । त्यहाँ अभ्यास थालेको ६ महिनापछि नै उनले प्रतियोगिता खेल्न सुरु गरिन् ।

‘मैले पहिलो खेल हारें । बुबाले कराउनुभयो । पहिलो खेलमै सफलता हात पार्न निकै कठिन हुन्छ,’ प्रेरणा सम्झन्छिन्, ‘मैले हार मानिनँ, अभ्यासलाई निरन्तरता दिइरहेँ । त्यसको एक वर्षमै म यु–१४ को नम्बर एक खेलाडी भएँ ।’ प्रेरणा सधैं अफ कोर्ट रणनीति बनाउँथिन् र अन कोर्टमा त्यसको प्रयोग गर्थिन्, त्यसपछि उनले सधैं क्रमिक रूपमा सफलता हात पार्न थालिन् । नम्बर एकको यात्रामा बुबाको प्रेरणा र साथसँगै उनको पनि दृढ संकल्प थियो ।  

‘मेरो मानसपटलमा एउटा छुट्टै दुनियाँ बनाउँथें,’ प्रेरणा भन्छिन्, ‘म अफ कोर्टमा बनाएको रणनीति अन कोर्ट रिफ्लेक्ट गर्न चाहन्थें । मलाई सो समयमा ठेउला आएको थियो । हातभरि फोका थिए । मेरो लङ्ग्स क्यापासिटी घटेको थियो, म सधैं क्वार्टरफाइनलभन्दा अघि बढ्न सक्दिनथें, यस पटक भने फाइनलसम्मको यात्रा पक्का गर्दै उपाधि नै जितें ।

त्यसपछि खेलिएको सिटिजन्स ओपनले भने प्रेरणालाई एक सफल खेलाडीको रूपमा उभ्याउने काम ग-यो ।

‘सफलता निकाल्न निकै दबाब थियो,’ प्रेरणा भन्छिन्,‘मेरो परिवारले मेरो लागि धेरै लगानी गरिसकेको थियो र सफलता हात पार्दै उहाँहरूलाई खुसी पार्न चाहन्थें ।’ पहिलो पटक नम्बर वान हुँदा प्रेरणाले प्रशिक्षकको भनाइ स्मरण गर्दै भनिन्, ‘खेलअगाडि  प्रशिक्षकले हारे केही हुँदैन जितेमा इतिहास रचिन्छ र त्यसका लागि खेल भनेर भन्नुभएको थियो । मैले इरा राउतसँग पहिला सेट गुमाएँ पनि दोस्रो सेटमा पुनरागमन गरें । त्यसपछि इराले बीचमै खेल छाडिन् । त्यहाँबाट मलाई लाग्यो आफ्नो स्वाभाविक खेल खेल्ने हो भने कुनै पनि खेलाडी ठूलो  र कठिन प्रतिद्वन्द्वी हुँदैन ।’

प्रेरणा २०१८ मेमा सम्पन्न छैटाैं सिटिजन्स बैंक ओपन  राष्ट्रिय टेनिस प्रतियोगितापछि अपराजित रहँदै आएकी छन् । त्यसपछि खेलिएका पाँच प्रतियोगितामा उनले अपराजित यात्रालाई निरन्तरता दिँदै आफूलाई अब्बल साबित गरिरहेकी छन् ।  

ग्रेड फाइभ जित्ने पहिलो नेपाली खेलाडी  
गत वर्ष १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीअघि गुजरातस्थित अहमदाबाद इन्टरनेसनल स्पोर्ट्स एकेडेमीमा छ महिना अभ्यास गरेकी प्रेरणाले सागमा तीन कांस्य पदक जितेकी थिइन् । उनले महिला एकल, महिला डबल्स र महिला टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन् ।  

फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटिएफ)को विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फ प्रेरणाले उपाधि जितेकी थिइन् । ग्रेड फाइभ जित्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।  

लकडाउनको प्रभाव
पेन्टागन कलेजमा अध्ययनरत प्रेरणा कक्षा १२ को बोर्ड परीक्षापछि सर्बियामा हुने ग्रेड चारको तयारीमा रहेकी थिइन् । तर कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा स्थगन हुनु र प्रतियोगिताहरू पनि सरेपछि करिब तीन महिना प्रशिक्षण गर्न नपाए पनि उनी असार पहिलो साताबाट भंगालस्थित नौलिन स्पोर्टस भिल्लामा अभ्यास गरिरहेकी छिन् ।  

प्रेरणाका लागि लकडाउनका कारण अभ्यासमा फर्कन भने सहज थिएन । ‘चैत ११ गते लकडाउन भएपछि केही दिन बिनाअभ्यास घरमै बसिन् । तर घरमा बस्दा मेरो दैनिकी परिवर्तन भयो, अब लाग्यो मेरो लय गुम्नेछ । तुरन्तै अभ्यासमा फर्कन आवश्यक ठानें,’ प्रेरणाले भनिन्, ‘लकडाउनको समयमा घरबाहिर निस्कने अनुमति थिएन । तर मैले कम्तीमा घरबाट एयरपोर्ट डाँडासम्म (५किमी) दौडने रुट बनाएँ । म, बुबा र भाइ दैनिक रूपमा बिहान ४ बजे उठेर दौडन थाल्याैं ।’

करिब तीन महिना उनको यही दैनिकी रह्यो । गत साताबाट भने उनी अभ्यासमा फर्किइन् । ‘पहिलो दिन केही असहज भए पनि अहिले स्वाभाविक लयमा आइसकेको छु,’ प्रेरणाले भनिन्, ‘अब एक वर्ष मैले जुनियर प्रतियोगिता खेल्न पाउँछु । त्यसैले १८ वर्षभित्रै अब ग्रेड चार, तीन, दुई र एकमा पनि सफलता हात पार्ने लक्ष्यमा छु । यसबाट धेरैभन्दा धेरै अंक बटुल्दै २१ वर्षसम्म डब्लुटिए खेल्ने र २४ वर्षमा ग्रान्ड स्लाम खेल्ने मेरो लक्ष्य छ ।’  

फुटबल र क्रिकेटबाहेक अन्य खेलका खेलाडीले विरलै मात्र कर्पोरेट क्षेत्रको साथ पाउने गर्छन् । तथापि प्रेरणाका लागि केही फरक बन्यो । प्रेरणाले चुच्चेपाटीस्थित भाटभटेनीका मालिक कल्याण केसीले मासिक २२ हजार ५ सय प्रायोजन गर्दै आएका छन् ।

प्रकाशित: १६ असार २०७७ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App