५ वैशाख २०८१ बुधबार
खेल

‘फर्गुसनको समयभन्दा उपाधि जित्न कठिन’

ओले गनर सोल्सजायर

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले सर एलेक्स फर्गुसन टोली प्रशिक्षक रहँदाको समयभन्दा अहिले उपाधि जित्न कठिन रहेको बताएका छन् ।  फर्गुसनको २६ वर्ष ६ महिना प्रशिक्षणमा युनाइटेडले ३८ उपाधि जितेको थियो,जसमा १३ पटक इङ्लिस प्रिमियर लिगको उपाधि समावेश थियो । यद्यपि फर्गुसनले २०१३ मा क्लब प्रशिक्षण छोडेपछि युनाटेडले पछिल्लो ७ सिजन मात्र ३ उपाधि जितेको छ ।  

‘हामीले इमानदारिताका साथ भन्नुपर्छ, फर्गुसनको समयभन्दा अहिले उपाधि जित्न कठिन छ,’ सोल्सजायरले भने ।  यस सिजनको प्रिमियर लिग उपाधि लिभरपुलले जितिसकेको छ  । दोस्रो स्थानको म्यानचेस्टर सिटीले बिहीबार चेल्सीलाई नतिजा सुम्पिएपछि लिभरपुल ३० वर्षपछि प्रिमियर लिग विजेता बनेको हो । फर्गुसनले क्लब छोडेपछि युनाइटेडले २०१५–१६ को एफए कप,२०१६–२०१७ को युरोपा लिग र २०१७ को इङ्लिस लिग कपको उपाधि जितेको छ । युनाइटेडको लक्ष्य अब यस सिजनको एफए कप हुनेछ ।  

आर्सनल, चेल्सी, लिभरपुल हाम्रा लागि सधैं चुनौती दिने टोली हुन् । तर धेरै जसो समय यी तीन टोलीमध्ये हामीलाई एक टोलीले कडा चुुनौती दिन्थ्यो,’ सोल्सजायले भने, ‘तेस्रो स्थानमा बसेर सिजनको अन्त्य गर्नु कुनै उपलब्धि मानिँदैनथ्यो । तर अहिले लिग र अन्य घरेलु प्रतियोगिताको दाबेदारमा ४ वा ५ टोली सधैँ रहने गर्दछन् । अन्य प्रतिद्वन्द्वी विजेता बन्दा सधैँ खल्लो लाग्छ । मलाई लाग्छ क्लब प्रशिक्षक र खेलाडीलाई मात्र नभई क्लब शुभचिन्तक पनि निराश बन्छन् ।’

जनबरीमा ब्रुनो फर्नान्डेजलाई भित्र्याएको युनाइटेड पछिल्लो २८ खेलमा अपराजित रहँदै आएको छ । यसअघि युनाइटेडले जोजे माउरिन्होको प्रशिक्षणको पहिलो सिजनमा १७ खेलसम्म अपराजित यात्रा कायम राखेको थियो । युनाइटेडले स्ट्राइकर ओडियोन इगालोको सम्झौता २०२१ जनवरीसम्मका लागि पक्का गरिसकेको छ । सोल्सजायरले नयाँ सिजनका लागि बोरुसिया डर्टमन्डका जोर्डन सान्चोलाई क्लबमा अनुबन्धन गर्न चाहेका थिए । यता युनाइटेडका उपाध्यक्ष इड उडवार्डले आफूहरू आर्थिक मन्दीमा नगइसकेको बताउँदै आएका छन् ।  

‘कोरोना भाइरसको महामारीका कारण आर्थिक रूपमा पक्कै पनि केही गिरावट आएको होला,’ सोल्सजायरले भने, तर यसको अर्थ हामी पूर्ण रूपमा घाटामा भने गएका छैनाैँ । हामी अझै आर्थिक रूपमा सक्षम छाैँ । थाहा छैैन अब कहिले दर्शकले मैदानमा उपस्थित भएर हाम्रो खेल हेर्न पाउनेछन्, यस सिजन प्रिमियर लिग अंकतालिकामा टोलीको स्थानले धेरै अर्थ राख्नेछ ।‘युरोपा कप जित्यो भने पनि त्यसबाट हामी च्याम्पियन्स लिगमा छनोट हुन सक्छौं,’ सोल्सजायरले थपे, ‘पछिल्लो ३–४ महिनायता पक्कै पनि धेरै जसो व्यवसायीहरूका लागि अब के हुने हो भन्ने दुबिधा बढेको छ ।

प्रकाशित: १४ असार २०७७ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App