२२ फाल्गुन २०७७ शनिबार
खेल

परेडको मैदानदेखि रेगिस्तानको बालुवासम्म

राज्यद्वारा उपेक्षित खेलाडीहरुको मर्म

महोत्तरी बर्दिबासका हरिनारायण महतो कुनैबेला नेपाल पुलिस क्लबलाई गोल्ड मेडल दिलाउने विश्वासिलो खेलाडीका रूपमा चिनिन्थे । खेलप्रतिको अभिरुचि, दृढ़ ईच्छाशक्ति र लगनशीलताकै कारण उनले पटकपटक यसलाई पुष्टि समेत गरे ।

२०४४ सालमा महोत्तरीको सदरमुकाम बर्दिबासदेखि ५ किलोमीटर भित्रको ग्रामीण क्षेत्र खैरमारामा जन्मिएका महतो २०६३ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । विध्यालय तहदेखि नै अध्यनमा अब्बल महतो सानैदेखि खेलकुद क्षेत्रमा अगाडि थिए । ज्याला मजदुरीले धानेको उनको परिवारसँग उनलाई फुटबल खेल्न चाहिने जुत्ता किन्ने हैसियत पनि थिएन । त्यस्तो स्थितिका बिच हुर्केको आफ्नो विगत सम्झँदै महतो भन्छन, ‘अरुले मेडल थापेको देख्दा आफूलाई पनि रहर लाग्थ्यो तर म राष्ट्रिय खेलाडी बन्छु भन्ने कल्पना चाँहि गरेको थिइन ।”

एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी हरिनारायण महतो अहिले अबुधाबीमा छन् । उनी एथलेटिक्स तर्फको ८ सय मिटर दौड र रिलेको गोल्ड मेडलिष्ट हुन । कमजोर आर्थिक परिस्थितिको पारिवारिक पृष्ठभुमिमा हुर्किएका महतो २०६३ सालदेखि २०७० सालसम्म नेपाल पुलिस क्लबमा आवद्ध थिए । प्रहरी जवानका रुपमा सेवामा प्रवेश गरेको भए पनि तत्कालिन प्रहरी हवल्दार एवं राष्ट्रिय खेलाडी मनमाया लिम्बू र ओलम्पिक खेलाडी चन्द्रकला थापाको सहयोगमा नेपाल पुलिस क्लबमा प्रवेश गर्ने मौका पाएको उनी सम्झिन्छन् । उनको खेल जीवनमा यी दुई पात्रको भूमिका अविस्मरणीय छ ।

२०६२ सालमा एसएलसी उतिर्ण गरेपछि कक्षा ११ पढ्दापढ्दै उनी नेपाल प्रहरीमा प्रवेश गरे । सानैदेखि खेलकुदमा लागेकाले प्रहरीमा प्रवेश गर्न उनलाई उत्ति गाह्रो भएन । हेटौंडामा ७ महिनाको तालिम सकेपछि बालाजुमा उनको दरबन्दी कायम भयो । तर काजमा उनी कमलपोखरी पुगे । त्यहीँबाट आफ्नो खेलजीवन शुरु भएको उनी बताउँछन् ।  

कमलपोखरीमा कार्यरत रहँदा संगै काम गर्ने प्रहरी हवल्दार मनमाया लिम्बुले ओलम्पिक खेलाडी चन्द्रकला थापासंग भेट गराएको र त्यहि भेट नै उनको खेल जिवनको पहिलो खुड्किलो सावित भयो । २०६५ सालको राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी सहभागी हुन पाएनन् । आफू नयाँ खेलाडी भएको र कोटा समेत सिमित भएकोले आफू उक्त प्रतियोगितामा सहभागी हुन नपाएको उनी बताउँछन् । त्यसपछि २०६७ सालमा भने बंगलादेशको राजधानी ढाकामा हुने एघारौं साफ खेलका लागि छानिए । तर त्यसमा पनि आफ्नो ईभेन्ट ‘८०० मिटर दौड’ समावेश नहुने भएपछि पछाडि हट्नु परेको उनको पीडा छ । त्यतिबेला आफू ज्यादै दुखी बनेको उनले स्मरण गरे ।

२०६५ सालमा काठमाडाैंमा आयोजित पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले नेपाल प्रहरीको शिर उँचो बनाउने मौका पाए । उनले रिले तर्फ स्वर्ण जिते । त्यतिबेलाको खुसी सम्झिंदा अहिले पनि मन फुरुङ्ग हुने गरेको उनी बताउँछन् । त्यसपछि उनले नियमित अभ्यास संगै आफू भन्दा जुनियर स्टाफहरुलाई प्रशिक्षण दिन थाले । राजनैतिक अस्थिरताका कारण ठूला खेलकुद प्रतियोगिताहरु हुन छोडेपछि उनी नेपाल पुलिस एकेडेमीमा नयाँ प्रवेशीहरुको छनोट र मुल्यांकनमा व्यस्त भए । त्यतिबेला असई र ईन्सपेक्टरमा नयाँ भर्ना हुन आएका उम्मेदवारहरुको दौडको मुल्यांकन गर्ने जिम्मेवारी उनको थियो ।  

प्रहरी भित्रको खेलाडी जागिर, सम्मान र आराम भए पनि आर्थिक रूपमा भने उनी कमजोर बने । तलब र राशन गरेर आउने मासिक १५ हजारले परिवार चलाउनै मुस्किल भईरहेको थियो । श्रीमतीको स्वास्थ जाँच गराउने ३ हजार रुपैयाँ गोजिमा नहुँदाको पीडा अहिले पनि उनको आँखामा झलझली देखिन्छ । ‘नाम भएर मात्रै नहुँंदो रहेछ , मामको पनि त जोहो गर्नुप¥यो नि।’ उनले बताए । ‘सरकारले खेलाडीहरुलाई जिउने वातावरण नबनाईदिंदा म जस्ता धेरै खेलाडी विदेशिनु परेको छ ।’

उनी अहिले अबुधाबीमा सुरक्षागार्डको रूपमा कार्यरत छन् । नाम नभए पनि दाम राम्रो पाएको उनी बताउँछन् । आफ्ना समकालीन धेरै खेलाडीहरु अहिले खाडीमा कार्यरत रहेको उनले बताए । युएईमा मात्रै दर्जनौं पूर्व राष्ट्रिय खेलाडीहरु कार्यरत छन् । राज्यले खेल क्षेत्रलाई उपेक्षा गरेको कारण आफूहरु विदेशीनु परेको उनीहरुको दुखेसो छ ।

प्रकाशित: ६ असार २०७७ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App