१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

गण्डकी सरकारले सागका विजेता र प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने

नेपालमा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक जित्ने गण्डकी प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको छ । आइतबार प्रदेशको नीति तथा कार्यक्रम सार्बजनिक गर्दै प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई प्रोत्साहनस्वरुप सम्मान गर्ने बताए । उनले प्रदेशको आर्थिक वर्ष २०७७÷७८ को बजेटमा सम्मानका लागि रकम छुट्टयाइने संकेत गरेका हुन् ।      

नेपालमा गत मंसिर १५ देखि २४ गतेसम्म गरिएको प्रतियोगितामा गण्डकीका ४० खेलाडीले विभिन्न २१ खेलमा पदक जितेका थिए । उनीहरूले ४ स्वर्ण, २३ रजत र १६ कास्य पदक जितेका थिए ।  

बागलुङका नविन रसाइलीले कराँतेमा, लमजुङकी पार्वती गुरुङले तेक्वान्दोमा, स्याङ्जाकी प्रशंसा क्षेत्रीले तेक्वान्दोमा र कास्कीका दिप कार्कीले फुटबलमा स्वर्ण पदक जितेका थिए । त्यस्तै अरुण शाही, विन्दु पुन, दिनेश खनियाँ, उषा भण्डारी, सजमुना थापा, उषा खनाल, अनु गुरुङ सेफिया पुन, हिरा केसी, कमला पुन, एलिना गुरुङ, रचना श्रेष्ठ, अनुषा मल्ल, प्रिती तुलाचन, दुवाना लामा, सावित्रा भण्डारी, केशरी थापा मगर, खोखो धनमाया दर्लामी, झिनमाया थापा, संगीता सुनार, सीता पाठक र निमा गुरुङले रजत पदक जितेका हुन् ।    

त्यसैगरी कास्य पदक विजेतामा राजकुमार रसाइली, सोमबहादुर थापा, योगेन्द्र शेचरन, प्रदीप खड्का, नविन मगर, कृष्ण थापा, अमृत थापा मगर, शिवबहादुर बराम, करण केसी, तारादेवी पुन र मनकुमारी कुमाल छन् । 

प्रकाशित: १९ जेष्ठ २०७७ ०७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App