२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

मुस्ताङमा कभर्ड हल निर्माण सुरु

पुरानो कार्यालय भवन भत्काइदैं । भत्काइएको भवनमै कभर्ड हल पुनर्निर्माण गरिने छ । तस्बिर सौजन्य : सुमन थकाली(कार्यालय प्रमुख, जि.खे.वि.स. मुस्ताङ)

हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्नेसँगै मुस्ताङले पनि एउटा खेल आयोजनाको जिम्मेवारी पाउने छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले मुस्ताङमा टेबलटेनिसको राष्ट्रिय प्रतियोगिता गर्न प्रस्ताव गरेको छ । २०७७ फागुन २०–२७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने छ ।  

राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधार बनाउन जरुरी छ । कोभिड–१९ कोरोना भाइरसको महामारी छ । घर बाहिर निस्कने बातावरण अहिले छैन । तर पनि समयमै पूर्वाधार बनाएर राष्ट्रिय प्रतियोगिताको भव्य आयोजना गर्ने दायित्व र जिम्मेवारी पुरा गर्नुपर्ने छ । जिम्मेवारी पुरा गर्न यतिबेला जिल्ला खेलकुद विकास समिति मुस्ताङले कभर्ड हल निर्माणमा जुटेको छ । निर्माणको लागि भईरहेको पुरानो भवन भत्काउन सुरु गरिएको छ ।  

‘जेठको पहिलो सातादेखि पुरानो भवन भत्काउन सुरु गर्यौं । त्यही पुरानो भवनमै नयाँ  भवन बनाउने छौं’ जिल्ला खेलकुद विकास समिति मुस्ताङका कार्यालय प्रमुख सुमन थकालीले भने–‘मंसिरसम्म काम हुन्छ । जति सकिन्छ सकिन्छ , नभए अर्को वर्ष गर्ने छौं ।’ प्रतिकुल परिस्थिति छ । कोरोना भाइरसकै कारण कामदारको अभाव छ । उपलब्ध कामदारबाटै काम गर्नुपर्ने छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले २०७६ असोज ४ गते  शिलान्यास गरेका थिए । ‘फागुनमा टेबलटेनिस प्रतियोगिता खेलाउनलाई हलको समस्या भने हुदैन’ कार्यालय प्रमुख थकालीले भने–‘सानो हल पनि छ, त्यसैमा खेलाउन सकिन्छ ।’ त्यसलाई मर्मत सम्भार गर्न नवौंको लागि माग गरिएको ३० लाख रुपैयाँबाट खर्च गरिने छ ।  

एक स्थानीय तह एक खेल मैदानको नीति संघीय तथा प्रदेश सरकारको छ । त्यही नीति अनुसार युवा तथा खेलकुद मन्त्रालयले मुस्ताङको घरपझोङ गाउँपालिकालाई ५० लाख रुपैयाँ पूर्वाधारको लागि पठाईसकेको छ । पठाईसकेको रकमबाटै अहिले संरचना पुनर्निर्माणको काम सुरु गरिएको हो । ‘गाउँपालिकाबाट आएको पैसाबाट काम सुरु गरेका छौं । गाउँपालिकाकै उपभोक्ता समिति मार्फत काम गरिएको छ ।’ कार्यालय प्रमुख थकालीले सुनाए । गाउँपालिकाले पनि समपुरक बजेटबाट २५ लाख रुपैयाँ छुट्टाउने जनाएको छ ।  

गाउँपालिका र खेलकुद विकास समितिले विस्तृत परियोजना प्रतिवेदन बनाईसकेको छन् । प्रतिवेदन अनुसार भवनको लागत ८ करोड रुपैयाँ अनुमान गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारका अनुसार कभर्ड हल ३० मिटर चौडाई र ४५.४ मिटरको लम्बाईको हुने छ । काली गण्डकीको तीरबाटै जग उठाएर काम गरिएको छ । भित्री खेल्ने कोर्ट भने २०.२ मिटर चौडाई र लम्बाई ३४.६ मिटरको रहने इन्जिनियर ताम्राकारले सुनाए । चारवटा व्याडमन्टिन कोर्ट रहने छन् । ‘५५० दर्शक क्षमता प्यारापिट समेत निर्माण गरिने छ।’ उनको भनाई थियो ।  

चालु यसै आर्थिक वर्षको लागि राष्ट्रिय खेलकुद परिषदले ४० लाख रुपैयाँ उपलब्ध गराएको छ । उपलब्ध गरेको बजेट पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको खातामा छ । ‘जिल्ला खेलकुद विकास समिति मुस्ताङले उपभोक्ता समिति गठन गरेर आएपछि किस्तास्वरुप बजेट निकासा गराउँछौं ।’ क्षेत्रीय खेलकुद विकास समिति पोखराका लेखा प्रमुख डिबी नेपालीले बताए । बजेट निकासाको लागि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख थकालीले पनि आवश्यक कागजपत्र तयारी गरिएको जानकारी दिए । ‘गाउँपालिकाको तर्फबाट काम सुरु भईसकेको छ । खेलकुदको उपभोक्ता समिति गठन गरेर क्षेत्रीय खेलकुदमा पठाउँछौं, सम्झौता गरेर बजेट निकासा गरेर काम अघि बढाउँछौं ।’ कार्यालय प्रमुख थकालीले भने ।  

मुस्ताङको सदरमुकाम जोमसोममा चिस्यान हुनुभन्दा अगावै काम सक्नुपर्ने हुन्छ । पुस र माघमा अत्याधिक चिसो हुन्छ । १२ बजेटपछि हावा चल्छ । फागुनमा समेत हिउँ पर्छ । हिमालपारी पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाले खेलकुदमा नयाँ आयाम थपिने विश्वास गण्डकी प्रदेशका सदस्य चन्द्रमोहन गौचन सुनाउँछन् । ‘उपलब्ध बजेटबाट काम सुरु गरिएको छ’ उनले भने–‘संघ र प्रदेशबाट थप बजेट माग गरिएको छ  ।’ जोमसोम २७ सय ४३ मिटरको उचाईमा छ ।

प्रकाशित: १८ जेष्ठ २०७७ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App