१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

सिजन बचाउने प्रयासमा बिसिसिआई

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले विश्वको सबैभन्दा ठूला फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल)  को यस  सिजन सञ्चालन गर्ने लक्ष्य बनाएको छ ।

कोरोना भाइरसका कारण प्रभावित आइपिएलको यस १३औं सिजन बचाउने बिसिसिआईले प्रयास गरिरहेको हो । एक रिपोर्टका अनुसार कोरोना भाइरसको संक्रमण कम हुँदै गएमा बिसिसिआईले आगामी सेप्टेम्बर २५ देखि नोभेम्बर १ मा यस सिजन आयोजना गर्ने लक्ष्य राखेको छ । 

बिसिसिआईले पछिल्ला समय फ्रेन्चाइज टोलीसँग पनि सेप्टेम्बरदेखि नोभेम्बरभित्र सिजन सकाउने हिसाबले छलफल अगाडि बढाइरहेको छ । बिसिसिआईको एक स्रोतका अनुसार धेरै पक्षले आयोजनाको लक्ष्यमा असर गर्ने भए पनि सिजन जोगाउने हिसाबले काम अगाडि बढिरहेका छ ।

‘हाम्रा लक्ष्यमा फरक पार्ने धेरै पक्षहरू अझै पनि विद्यमान नै छन्, तर पनि बिसिसिआई आफ्नो जिम्मेवारीलाई शतप्रतिशत कार्यान्वयन गराउने तवरबाट कार्य गरिरहेको छ । हाम्रो योजना सेप्टेम्बरदेखि नोभेम्बरभित्र सिजन सकाउने हो,’ ती व्यक्तिले भने ।

आइपिएलका फ्रेन्चाइज टोलीसँग पनि वर्तमान तयारीबारे प्रश्न गर्दा यस सिजन बचाउने प्रयास भइरहेको र नोभेम्बरभित्र सिजन पूरा गर्ने लक्ष्यअनुरूप काम भएको बताएका छन् । यद्यपि, खेल सञ्चालन गर्न स्थिति सामान्य भएपश्चात् कम्तीमा एक महिना एडभरटाइजिङ र मार्केटिङका लागि समय लाग्ने फ्रेन्चाइज टोलीको भनाइ छ । बिसिसिआईले हरेक प्रयास गरे पनि आगामी दिनमा महामारीको प्रकृतिले आयोजनाको लक्ष्यमा प्रभाव पार्नेछ ।

पछिल्ला समय संक्रमितको संख्या घट्दो दरमा रहेकाले बिसिसिआई पनि आफ्नो योजनाप्रति आशावादी रहेको बुझिएको छ । यद्यपि, आइपिएलकै अर्का सदस्यले भने देख्दा आयोजना गर्ने सामान्य लागे पनि स्थिति राम्रो भएपछि पनि तयारीमा धेरै समय बित्ने बताए । ‘हामीलाई सामान्य लाग्न सक्छ, विदेशी खेलाडीलाई पनि आउन समय दिनुपर्यो । साथै हाम्रो धेरै किसिमका आन्तरिक तयार पनि हुन्छन् । यी सबै काम गर्न अगस्टदेखि नै फिल्डमै काम थाल्नुपर्छ,’ आइपिएलका ती सदस्यले भने ।

यद्यपि, बिसिसिआईको योजनाअनुसार त्यस समय आयोजना गर्न केही कठिनाइ पनि हुनेछ । त्यसका लागि आगामी अक्टोबर १८ देखि नोभेम्बर १५ मा अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी–२० विश्वकपले नयाँ मिति तय गर्नुपर्नेछ । त्यसैले पछिल्ला योजना कार्यान्वयन हुने वातावरण सिर्जना गर्न बिसिसिआईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का साथै अन्य राष्ट्रलाई पनि सहमत गराउनुपर्नेछ । तर आइसिसीले विश्वकप तोकिएको समयमै अस्ट्रेलियामा हुने बताउँदै आएको छ ।

यस सिजन रद्द भएमा भारतीय क्रिकेटले धेरै क्षति बेहोर्ने भएकाले बिसिसिआई हदसम्म प्रयास गर्ने योजनामा छ । यदि यो वर्ष आइपिएल नभएमा चार हजार करोड भारतीय रुपैयाँ घाटा लाग्ने बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले बताइसकेका छन् ।

‘यो वर्ष आइपिएल नभएमा ४ हजार करोड भारतीय रुपैयाँ नोक्सानी हुनेछ । यदि यो वर्ष आइपिएल हुन्छ भने हामीले तलब कटौती गर्न पर्दैन, यसैबाट व्यवस्थापन गर्न सकिन्छ, नभएमा त्यो अवस्थामा पनि आउन सक्छ,’ गांगुलीले भनेका छन् । यो वर्ष आइपिएल भएमा भारतबाहिर हुने चर्चा पनि चल्दै आइरहेको छ ।

युएई र श्रीलंकाले पनि आइपिएल आफ्नो देशमा गर्न बिसिसिआईलाई प्रस्ताव गरिसकेका छन् । यसअघि सन् २००९ मा दक्षिण अफ्रिकामा आइपिएल भएको थियो । सन् २०१४ मा युएईमा आइपिएलका २० खेल भएका थिए । आइपिएल सुरुमा चैत १६ देखि सुरु हुने कार्यतालिका थियो, तर यो महामारीका कारण प्रभावित हुन पुग्यो ।

प्रकाशित: ९ जेष्ठ २०७७ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App