१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

शीर्ष क्लबलाई साढे तीन अर्ब युरो घाटा

कोरोना भाइरसको महामारीका कारण रोकिएको फुटबल गतिविधि विभिन्न विकल्पका साथ सिजन पूरा भए पनि युरोपका शीर्ष क्लबहरूले करिब ३ अर्ब ६० करोड युरो घाटा सहन पर्ने भएको छ ।

गत सिजन युरोपका विभिन्न लिगका प्रमुखहरूको बैठकमा यस्तो निष्कर्ष निस्किएको हो । घरेलु लिग तथा युरोपका अन्य प्रतियोगिता पूरा नभएको खण्डमा त्यो घाटा ६ अर्ब २० करोड युरोसम्म पुग्न सक्छ । शनिबारबाट जर्मन बुन्डेसलिगा सुरु भइसकेको छ भने प्रिमियर लिग जुन १२ मा सुरु हुने गरी तयारी भइसकेको छ । स्पेनिस ला लिगा र इटालियन सिरी ‘ए’ पनि जुनको दोस्रो सातासम्म सुरु हुने अनुमान गरिएको छ । यस सिजनको प्रतियोगिता पूरा र अर्कोे सिजनको प्रतियोगिता सुचारु गर्ने युइएफएको योजना छ ।

तर सदस्य ५५ राष्ट्रमा दुई लेगको छनोट प्रक्रियामा भने परिवर्तन आउन सक्ने अनुमान गरिएको छ । त्यसका लागि एक मात्र लेग गराउने बारेमा पनि छलफल जारी छ । तर अन्तर्राष्ट्रिय फुटबल क्यालेन्डर कस्तो हुने हो भन्ने युइएफएको चिन्ताको विषय बन्न सक्छ । विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय फुटबललाई कस्तोखाले निर्देशन दिन्छ भन्नेमा पनि २०२०–२१ सिजन केकसरी अगाडि बढ्छ भन्ने मार्ग दिन सक्छ । बुन्डेसलिगाले सामाजिक दूरी, नियमित स्वास्थ्य परीक्षण र बन्द रंगशालाको नियम पालना गरेको थियो । युएइफएले पनि यही मोडालिटी प्रयोग गर्नेमा दुविधा छैन ।

च्याम्पियन्स लिग र युरोपा लिगको पनि अन्तिम १६ का खेलहरु नै बाँकी छन् । त्यसैले विभिन्न राष्ट्रका क्लबहरुबीच कसरी खेल खेलाउने भन्ने पनि युएइफएका लागि अर्को कठिन निर्णय हुनेछ । कोभिड १९ को संकट लम्बिने र फुटबल गतिविधि सुचारु गर्न कठिन हुने भन्दै युइएफएले विभिन्न समिति र उपसमिति बनाएर योजनाहरू बनाइरहेको छ । लिगहरु सुचारु भएको खण्डमा सबै खेल बन्द रंगशालामा खेलाइनेछ । यस सिजनको सबै खेल बन्द रंगशालामा खेल्नुपरेमा प्रिमियर लिग क्लबले मात्र ८७ करोड युरो घाटा व्यहोर्नुपर्नेछ ।

‘कुनै पनि लिगमा घरेलु मैदानमा हुने खेलमा घरेलु टोलीले दर्शकबाट कति आमदानी गर्न भन्ने महत्वपूर्ण पक्ष रहँदै आएको छ, जुन सिजनका बाँकी खेल पूरा गर्दा नहुन सक्छ,’ युरोपियन क्लब एसोसिएसनका प्रमुख कार्यकारी निर्देशक चार्ली मार्सलले भने, ‘यो नै प्रमुख चिन्ताको विषय हो । सबै क्लबले आर्थिक नोक्सानी भोग्नुपर्छ ।’

प्रकाशित: ५ जेष्ठ २०७७ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App