श्राम १२औं राष्ट्रिय एमटिबी डाउनहिल तथा २०औं क्रस कन्ट्री एमटिबी प्रतियोगिता आगामी पुस ४ गतेदेखि काठमाडौंमा हुने भएको छ।
नेपाल साइक्लिङ संघको आयोजनामा आगामी पुस ४ र ५ गते काठमाडौंमा नेपाल नेसनल माउन्टेन बाइक च्याम्पियनसिप हुन लागेको हो। संघले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दियो।
सो अवसरमा गोकर्ण नगरपालिकाका मेयर दीपककुमार रिसाल, राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक बिस्तारित बोर्डका अध्यक्ष सुदर्शन सिग्देल, साइक्लिङ संघका अध्यक्ष सुदीप पौडेल र संघका वरिष्ठ उपाध्यक्ष तथा नेपाली चुलोका प्रबन्ध निर्देशक संघर्ष विष्टलगायत उपस्थित थिए।
कार्यक्रममा मेयर रिसालले धेरै युवाले रुचाएको खेललाई नगरपालिकाले सहयोग गरेको र नगरले सम्पूर्ण खेलकुद विकासमा काम गरिरहेको बताए।
साथै मेयर रिसालले ट्य्राक बनाउन नगरले सहयोग गरेको उल्लेख गरे। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा रहेको सहिद स्मारक पार्कमा प्रतियोगिता हुने आयोजकले जनाएको छ। यो कोर्समा १३औं दक्षिण एसियाली खेलकुद पनि भएको थियो।
डाउनहिल र क्रस कन्ट्री गरी दुई विधामा प्रतिस्पर्धा हुने रेस डाइरेक्टर देवेन्द्र बस्न्यातले जानकारी दिए। पुरुष इलिट (१९ देखि ३० वर्ष) र महिला इलिट, जुनियर (१७ र १८ वर्ष उमेरसमूह), मास्टर्स (३० वर्षमाथि) र युथ (१४ देखि १६ वर्ष उमेरसमूह) गरी पाँच इभेन्टमा गरी कुल ३० पदकका लागि प्रतिस्पर्धा गरिने बस्न्यातले उल्लेख गरेका छन्। डाउनहिल र क्रस कन्ट्रीमा समान ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
यस प्रतियोगिताका लागि कोर्स बनाउन गोकर्ण नगरपालिकाले सहयोग गरेको संघले जनाएको छ। बाइकिङ एन्ड हाइकिङ गर्ने हिसाबले पहिलेदेखि ट्य्राक तयार पारिएको संघका अध्यक्ष सुदीप पौडेलले बताए।
साथै उनले हरेक खेलाडीको बिमा पनि गरिएको उल्लेख गरे। यस प्रतियोगिताका लागि श्रामका सञ्चालक तथा साइक्लिका प्रमुख प्रशिक्षक प्रयास तामाङले एक लाख रूपैयाँ सहयोग गरेको संघले जनाएको छ।
यस प्रतियोगिताको क्रस कन्ट्रीमा सुरज रानामगर, डाउन हिलमा नीरव श्रेष्ठ, महिला इलिट क्रस कन्ट्रीमा लक्ष्मी मगर, जुनियर क्रस कन्ट्रीमा निमा शेर्पा र मास्टर्स हर्क लामा डिफेन्डिङ च्याम्पियन हुन्।
प्रकाशित: १ पुस २०८२ ०९:३५ मंगलबार





