२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एपिएफको पहलो जित

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो चरणका खेल सकिँदा विभागीय टोली एपिएफले बिहीबार तालिकाको पुछारमा रहेको सरस्वती युथ क्लबलाई २–१ ले हराउँदै पहिलो जित निकालेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा एपिएफले पहिलो जित निकाल्दा सरस्वतीले भने अंकतालिकामा अहिलेसम्म खाता खोल्न सकेको छैन। पहिलो जितसँगै एपिएफले ४ खेलबाट ४ अंक बनाएको छ। एक खेल बराबरी र दुई खेल गुमाएको एपिएफ तालिकाको दशौं स्थानमा उक्लिएको छ।

एपिएफको जितमा आशिष लामाले दुई गोल गर्दा सरस्वतीका लागि विनोद केसीले एक गोल फर्काए। जितको खोजीमा मैदान उत्रिएका दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। ६३औं मिनेटमा एपिएफका लागि आशिष लामाले प्रवीनकुमार श्रेष्ठको आकर्षक पासलाई सदुपयोग गर्दै टोलीको खाता खोलेका थिए। अग्रता लिएसँगै सरस्वतीलाई दबाबमा राखेको एपिएफका लागि आशिषले नै इन्जुरी समयमा  गोल गर्दै अग्रता दोब्बर पारेका थिए। लगत्तै सरस्वतीले गोल फर्कायो। एपिएफविरुद्ध गरेको गोल नै सरस्वतीको जारी लिगमा पहिलो गोल हो। विनोद केसीले हेडरमार्फत जाली चुमाउँदा सरस्वतीले अग्रता घटाएको थियो। यसअघि सुरुआतबाट नै आक्रामक देखिएको एपिएफले १४औं मिनेटमा गोलका लागि प्रयास गरे पनि असफल भएको थियो। एपिएफका प्रवीन स्याङ्तानको प्रयासलाई सरस्वतीका गोलकिपर प्रदिश भण्डारीले उत्कृष्ट बचाउन गरेका थिए। अंकको खोजीमा रहेको सरस्वतीले पहिलो हाफ केही राम्रा अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्यो।

लिगमा बिहीबार भएको खेलसँगै चौंथो चरणका खेल पनि समाप्त भएका छन्। साबिक च्याम्पियन मनाङ मस्र्याङ्दी र मच्छिन्द्र क्लब अपराजित रहँदै क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। मनाङको चार खेलबाट १० अंक रहेको छ भने मच्छिन्द्रको ९ अंक छ। आर्मी ३ जितका साथ ९ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा अर्को अपराजित टोली जावलाखेल युथ क्लबको ८ अंक रहेको छ। जावलाखेलले २ मा जित र २ मा बराबरी खेलेको छ।

यस्तै नेपाल पुलिस क्लब ७ अंकका साथ तालिकाको पाँचाैं स्थानमा रहँदा थ्री स्टार क्लब समान ७ अंकका साथ तालिकाको छैटौं स्थानमा छ। लिगको पुछारमा रहेको सरस्वती भने अंकविहीन छ। लिगमा पाँचाैं चरणका खेल शनिबारबाट सञ्चालन हुनेछन्। ६३औं मिनेटमा एपिएफका लागि आशिष लामाले प्रवीनकुमार श्रेष्ठको आकर्षक पासलाई सदुपयोग गर्दै टोलीको खाता खोलेका थिए।

प्रकाशित: १८ पुस २०७६ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App