२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

एपिएफलाई महिला फुटबल उपाधि

काठमाडौं – आयोजक त्रिभुवन आर्मीलाई हराउँदै सशस्त्र प्रहरी बल (एपिएफ) ले  बुधबार प्रधान सेनापति सातौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आर्मी मुख्यालको मैदानमा एपिएफले आर्मीलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो।

यससँगै एपिएफले प्रधानसेनापतिको उपाधि लगातार चौथो र समग्रमा पाँचांैपल्ट उचालेको हो। यसअघि पुलिस र आर्मीले एक/एक पटक मात्र उपाधि उचालेका छन्। लगातार चौथो पटक उपाधि उचालेको एपिफले उपाधिसँगै नगद ३ लाखसहित ट्रफी हात पारेको छ। उता उपविजेतामा सीमित आयोजक आर्मीले भने १ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो। यस्तै सेमिफाइनल प्रवेश गरेका भुटान र नेपाल पुलिसले नगद ५०/५० हजार रुपैयाँ हात पारे।

एपिएफले उपाधि जित्दा सरु लिम्बुले पाँचौं मिनेटमा टोलीका लागि सुरुआती गोल गरेकी थिइन्। सावित्रा भण्डारीबाट फुस्किएको बललाई सरुले गोलमा परिणत गरेकी थिइन्। पहिलो पाँचांै मिनेटमा नै अग्रता सुम्पिएको आर्मीले खेलमा फर्किन पहिलो हाफमा निकै संघर्ष ग-यो। तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन। त्यसपछि दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो।

आर्मीले गोलका लागि संघर्ष गरिरह्यो। तर पनि एपिएफले आक्रामक खेललाई निरन्तरता दिइरह्यो। ६३औं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पेनाल्टी बक्सभित्र आर्मीकी गोलकिपर अञ्जना रानामगरलाई बिट गराए पनि रक्षक पुनम जर्घा मगरले गोललाइनबाट उत्कृष्ट बचाउ गरिन्। ८०औं मिनेटमा एपिएफकी रेखा पौडेले फाउल गरे पनि पाएको फ्रिकिकलाई आर्मीले सदुपयोग गर्न सकेन। २० यार्ड टाढा पाएको फिकिक प्रहारलाई पुनम जर्घा मगरले सोझै एपिएफकी गोलकिपर एन्जिल टी सुब्बाको हातमा दिएकी थिइन्। निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा रेखा पौडेलले गोल गर्दै टोलीको जित सुनिश्चित गरेकी थिइन्। लगातार चौथो पटक उपाधि जितेको एपिएफकी कप्तान अनिता बस्नेतले अहिले महिला फुटबलको स्तर सुधार भएको बताइन्।

‘विगतका प्रतियोगिताभन्दा पछिल्लो प्रतियोगिताका खेल बढी प्रतिस्पर्धात्मक बन्दै आएका छन्। सँगै विदेशी टोलीको पनि सहभागिताले हामीलाई थप अभ्यास भइरहेको छ,’ एपिएफकी कप्तान अनिताले भनिन्, ‘महिला टोली दक्षिण एसियामा बलियो हुन प्रधान सेनापतिले कप मात्र पुग्दैन। एन्फाले  लिग, मोफलसमा पुरुष गोल्ड कप प्रतियोगिता आयोजना गरेजस्तै महिलाका लागि प्रतियोगिता आयोजना गर्नुपर्छ। एक–दुई प्रतियोगिताले हामीलाई पुग्दैन।’

अनिताको भनाइमा सहमत जनाउँदै एपिएफका प्रशिक्षका जनक सिंह थारूले पनि पुरुष फुटबलमा जस्तै महिला फुटबलमा पनि प्रतियोगिताको  जरुरी भएको प्रतिक्रिया दिए। ‘एन्फाले पुरुषका लागि धेरै प्रतियोगिता आयोजना गर्दै आएको छ। महिलाका लागि  पनि ग्रास रुटदेखि विकासको आवश्यकता छ ,’ एपिएफका प्रशिक्षक थारूले भने, ‘दक्षिण एसियामा टक्कर दिन हामीलाई धेरैभन्दा धेरै प्रतियोगिताको आवश्यकता छ। सेनापति र केही सामान्य प्रतियोगिताले पुग्दैन। महिला टोलीलाई बलियो बनाउन ग्रास रुटदेखि कार्ययोजना ल्याउनुपर्छ।’

सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ८ टोलीले सहभागिता जनाएका थिए। मंसिर २९ देखि आयोजना भएको प्रतियोगितामा तीन विभागीय, तीन प्रदेश र २ विदेशी गरी कुल ८ टोलीको सहभागिता थियो। आयोजकले सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन गरेको थियो। जसअन्तर्गत समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गरेका थिए।

११ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी दीपा राई सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले यामाहाको स्कुटर हात पारिन्। यस्तै प्रतियोगितामा एपिएफकी एन्जिला तुम्बापो सुब्बा उत्कृष्ट गोलकिपर चुनिँदा भुटानकी कप्तान पेमा छोदेन छिरिङ उत्कृष्ट मिडफिल्डर, आर्मीकी पूजा रानामगर उत्कृष्ट रक्षक, उत्कृष्ट स्ट्राइकर एपिएफकी सावित्रा भण्डारी र एपिएफका जनक सिंह थारू उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट सबैले जनही नगद १० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदीयमान महिला खेलाडीको उपाधि आर्मीकी विमला विकले हात पारिन्। उनलाई सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाले नगद २५ हजार रुयौयाँ पुरस्कार प्रदान गरिन्।

‘दक्षिण एसियामा टक्कर दिन हामीलाई धेरैभन्दा धेरै प्रतियोगिताको आवश्यकता छ। सेनापति र केही सामान्य प्रतियोगिताले पुग्दैन। महिला टोलीलाई बलियो बनाउन ग्रास रुटदेखि कार्ययोजना ल्याउनुपर्छ।’

प्रकाशित: १० पुस २०७६ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App