२७ श्रावण २०७७ मंगलबार
खेल

स्वर्ण जितेपछि आमाको अनुहार हेरिरहें (भिडियाेसहित)

बंगलादेशकी खेलाडी मोन्जिरा बोर्नालाई फाइनलमा हराउँदा कुशुम खड्कालाई लागेको थियो, यो एउटा सपना हो। तर वास्तविकतमा उनको गला स्वर्णले सुसज्जित भैसकेको थियो। दर्शकको हुटिङ चलिरहेको थियो।

१३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत ४५ केजी तौल समूहको कराँतेमा उनी विजयी बन्दा नेपालका लागि ११ औं स्वर्ण पदकको आधार बनेको थियो।

‘मैले सोचेकै थिइन, अहिले सपना जस्तै लागेको छ’, स्वर्ण विजेता कुशुम भन्छिन्, ‘त्यतिबेला मैले मेरो शत प्रतिशत योगदान मात्रै दिएको हुँ।’ 

२० वर्ष अघि कुशुमको परिवार सिन्धुपाल्चोकको चौताराबाट राजधानी छिरेको थियो। राजधानी छिर्दा पालन पोषण मै दुःख थियो उनको परिवारलाई। जेनतेन जिन्दगी गुजारा चल्दै थियो। बाँकी सपना त सपना मै सिमित रहन्थे।

संयोग नै भन्नुपर्छ, त्यति बेला बौद्ध डोजोमा निःशुल्क रुपमा कराँते कक्षा सुरु भएको थियो। ‘साथीहरुको लहैलहैमा लागेर मैले बच्चै देखी कराँते खेले, बौद्ध डोजोमा आवद्ध भए,’ उनी भन्छिन,‘त्यतीबेला बौद्ध डोजोमा निःशुल्क भर्ना हुन पाउने भएर पनि हामीले कराँते सुरु गरेका थियौं।’ 

‘बिक्रम लामा गुरुले कातामा भन्दा मेरो लागि फाइट ९कुमुते० मा राम्रो भनेर सल्लाह दिएपछि म यसैमा खेल्न थाले’ उनी भन्छिन्। 

‘हामी सामान्य परिवारको मान्छे, बाबा फलफुलको व्यापार गर्नुहुन्छ’ कुशुमले भनिन्,‘तर बाबाले जहिले पनि खेलमा लाग्न प्रेरणा दिनुभयो।’ 

कुशुमको आमा भने छोरीको करियरको लागि अझै चिन्तित भएकी थिइन्। ‘खेलबाट आम्दानी हुन नसक्दा आमाले मलाई खेल्न छोडेर जागिर खान समेत भन्नु भएको थियो’ उनले ति दिन सम्झिइन्,‘मैले पनि खेल छोडेर जागिर खाने सोच बनाइसकेको थिए।’

१२ को पढाई सकाएपछि उनका साथीहरु कोही अमेरिका युरोप छिर्न थाले। ‘फेरी मेरो घरबाट विदेश जाने अनुमति पनि थिएन, म दोधारमा थिए’ कुशुमले सुनाइन्न्, ‘घरबाट बिजिनेस गर्न पनि आग्रह गरेका थिए, तर मैले कराँते खेल्न बाहेक केही जानेको थिइन।’

त्यति बेला कुशुमको मन निकै आत्तिएको थियो। कुशुमले तीन वर्ष अघिको घटना सम्झिइन,‘सातौं राष्ट्रिय खेलकुद मेरो जिन्दगी कै टर्निङ पोइन्ट बन्यो।’

विराटनगरमा भएको सातौं राष्ट्रिय खेलमा कुशुमले ४५ केजी समूहमा स्वर्ण पदक जितेकी थिइन्। खेलको नतिजा पछि उनलाई सोही समूहमा प्रतिस्पर्धा गर्न नेपाल आर्मीबाट अफर आयो। अवसरको खोजीमा रहेकी कुशुमले नेपाल आर्मी जस्तो बलियो विभागीय टिमबाट आएको अवसरलाई किन गुमाउन सक्थिन र! त्यसपछि भने उनको परिवारमा झनै खुशी थपियो। उनी नेपाली सेनाबाट खेल्न थालिन्। 

आर्मीमा प्रवेश गरेपछि उनलाई आवश्यकता अनुसार तालिमको व्यवस्था त छदैं थियो, मासिक रुपमा तलब पनि आउन थाल्यो। तालिमसंगै आम्दानी पनि हुन थालेपछि एकातिर पारिवारिक इच्छा पुरा अर्कोतिर आफ्नो सपना साकार पार्ने अवसर। 
पछिल्ला तीन वर्षमा उनले धेरै देशहरु घुमिन। पाँच वटा महत्वपूर्ण प्रतिस्पर्धामा सहभागी भइन्। पाँचमध्ये तीनवटामा गोल्ड मेडल समेत जितिन्। त्यसले अन्तर्राष्ट्रिय स्तरमा बिस्तारै अनुभव पनि बलियो बनाउँदै लग्यो। 

कराँते क्षेत्रको भैतिकपूर्वाधार विदेशको तुलनामा निकै कमजोर रहेको उनको बुझाई छ। ‘विदेशीहरुले प्रतियोगितालाई लक्षित गर्दै गेम प्लान गरेका हुन्छन्।, त्यसैले पनि उनीहरु धेरै उपाधी हातपार्छन्।,’ उनी भन्छिन्, ‘प्रशिक्षकबाट जित्नै पर्छ भन्ने दबाब थिएन्, तर पनि गोल्डको अपेक्षा भने थियो।’

मंसिर १६ गते सोमबार, उनले श्रीलंकाली खेलाडीलाई सेमिफाइनलमा पराजित गरिन्। फाइनलमा बंगलादेशकी खेलाडीलाई पराजित गरिन्। ‘दर्शकदीर्घामा आमा बस्नु भएको थियो, मैले गोल्ड जितेपछि उहाँको मुहारमा देखेको खुशीले मलाई निकै भावुक बनायो, उहाँ पनि भावुक बन्नु भएको थियो’ उनले स्वर्ण जितेको दिन स्मरण गरिन्।

गोल्ड जितेपछि गाँउबाट पनि कुशुमलाई फोन आउन थाल्यो, साथीभाइले नि बधाई दिन थाले। उनको बाबा ममीलाई पनि धेरैले फोन गरे बधाई दिए हर्षका आँशु वर्षन थाले। 

जुनियरसंग डर छ 

‘हरेक प्रतिस्पर्धा गोल्डकै लागि गरिएको हुन्छ, एउटा सानो गल्तीले गोल्ड चुकाउनुपर्छ’ खेलाडीलाई रिङ भित्र र बाहिर धेरै चुनौती हुने बताउँदै उनी भन्छिन्,‘एउटा मात्रै गोल्ड जितेर हुन्न, हामीलाई जुनियरसंग पराजित हुने डर हरपल हुन्छ।’
तर उनी चुनौतिबाट भाग्ने मनासायमा छैनन्। ‘प्रत्येक प्रतिस्पर्धा गोल्ड मेडलका लागि गरिएको हुन्छ, म त्यसबाट विचलित हुनेवालामा छैन’ उनी भन्छिन्, ‘नियमित मिहेनतले म आफ्नो सपना पुरा गर्ने छु।’

कुशुमले कराँतेमा खेल्ने फाइट हो। जसलाई कुमिते पनि भनिन्छ। खेलका क्रममा शारीरिक पीडा पनि हुन्छ। फाइटमा कहिले काँही आफैले किक पनि खाइन्छ। ‘फेरी कहिले काँही आफुले हानिन्छ पनि। यो सामान्य कुरा हो’ कुशुम भन्छिन, ‘तर खेल भावना विपरित भने हुनुहुन्न।’ 

ताइपेइका खेलाडीसंग प्रतिस्पर्धा गर्दा गोडाको मासु च्यातिएको घटना उनको खेल जीवनको भुल्न नसक्ने घटना हो। 

सरकारी सम्मानले खुशी

सरकारले प्रोत्साहन स्वरुप दिएको ९ लाख रुपैयाँ खेलकुद क्षेत्रका लागि सकारात्मक विषय भएको उनको बुझाई छ। ‘यो पैसा म मेरै खेलकुदमा लगानी गर्छु’ उनी भन्छिन्, ‘सरकारी प्रोत्साहनका कारण खेलेर समयको बर्वादी मात्र हो भन्ने तथ्य केही हदसम्म भएपनि कम भएको छ।’

गोल्ड नजित्नेलाई पनि सरकारले छुट्टै प्रोत्साहनका प्याकेज ल्याउनु पर्ने उनको तर्क छ। ‘खेलाडीलाई भाग्न दिने अवस्था आउन दिनुहुन्न’ कुशुम भन्छिन्। 

‘कराँतेमा अझै बलियो हुनु छ, विबाहको लागि प्रेसर पनि छैन, अहिले सोचेको पनि छैन’, कुराकानीको अन्त्यमा उनले भनिन्। 

प्रकाशित: ३० मंसिर २०७६ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App