१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कीर्तिमानको योजनामा जोकोभिच

पेरिस – नोभाक जोकोभिचले एटिएफ टुरको फाइनलमा जितका साथ कीर्तिमानी छैटौंपटक विश्व नम्बर एकमा रहँदै वर्ष २०१९ को अन्त्य गर्ने योजनामा रहेको बताएका छन्।

१६ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले आइतबार पाँचौं पटक पेरिस मास्टर्सको फाइनलमा क्यानडाका डेनिस सापोभालोपविरुद्ध ६–३, ६–४ को जित हात पारेका थिए। यद्यपी, सोमबार जारी विश्व वरीयतामा जाकोभिचले राफेल नाडाललाई भने विश्व नम्बर एकबाट प्रतिस्थापित गर्न भने सकेनन।

नाडालले पनि नोभेम्बर १० बाट सुरु हुने वर्षको अन्तिम च्याम्पियनसिपमा फिट नभए पनि अन्तिमसम्म हात नझिक्ने बताएका छन्। स्पेनिस स्टार नाडालले राउन्ड रोबिनको आधारमा हुने फाइनल खेल्न नसकेको खण्डमा पनि जोकोभिचले समूह चरणका दुई खेलमा जितका साथ फाइनल प्रवेश गर्दै उपाधि जित्नुपर्नेछ। यसका लागि जोकोभिच भने सेमिफाइनलभन्दा माथि गएको हुनु पर्नेछ।

‘मेैले लन्डनमा सबै खेल जित्ने सम्भावना जीवितै छ। मैले पछिल्लो वर्ष सबै खेल जितेको थिएँ। मलाई त्यहाँ खेल्न मनपर्छ,’३२ वर्षे जोकोभिचले भने, ‘तर मेरो प्रतिद्वन्द्वी को हुन्छन् र उनीहरूले कस्तो प्रदर्शन गर्छन् भने भन्न कठिन छ। यो पक्का हो की प्रत्येक खेलमा शीर्ष १० भित्रका खेलाडीसँग प्रतिस्पर्धा हुनेछ। त्यसैले म उत्कृष्ट भन्दा उत्कृष्ट प्रदर्शन गर्नेमा केन्द्रित छु।’

‘परिणाम स्वरूप विश्व नम्बर एकमा बस्दै सिजनको अन्त्य गर्न सके, त्यो मेरा लागि अविस्मरणीय बन्नेछ,’जोकोभिचले भने। जोकोभिच यसपटक पिट सामप्रसको नाममा रहेको छैटौं पटक विश्व नम्बर एक बन्दै सिजन अन्त्यको कीर्तिमान बराबरी गर्ने संघारमा छन्। नाडाल भने पाँचौं पटक यो उपलब्धिको नजिक छन्।

‘यो सबै खेलाडीले देखेको सपनासमेत हो,’जोकोभिचले भने, ‘एउटा व्यावसायिक ग्रान्डस्लाम टेनिस खेलाडीको हिसाबमा यो सबै खेलाडीले यस्तै किसिमको लक्ष्य लिएको हुन्छ। सबै खेलाडी लामो समयसम्म विश्वको शीर्ष खेलाडी बन्न चाहन्छन्।’ ३३ वर्षे नाडालले पेरिसमा उपाधि जितेको भए उनले स्वत विश्व नम्बर एकमा रहँदै वर्षको अन्त्य गर्ने निश्चित थियो। तर, नाडालले पेटको मांशपेशीमा समस्या देखिएको भन्दै सापोभालोपविरुद्धको सेमिफाइनलबाट हात झिकेका थिए।

वर्ष २०१९ को सुखद नतिजा हात पार्ने क्रममा जोकोभिचले अस्ट्रेलियन ओपन र विम्बल्डनको उपाधि जितिसकेका छन्। गत वर्ष जोकोभिचले कुइनोको चोटका कारण इटालियन मार्कोे सिचेनाटोविरुद्ध अप्रत्यासित हार व्यहोरेका थिए। तर त्यसपछि भने उनले उत्कृष्ट पुनरागमन गर्दै आएका छन्। यस क्रममा उनले २०१८ मै विम्बल्डन र युएस ओपनसहित चार प्रमुख उपाधि जितेका थिए।

‘म अझै लामो समयसम्म टेनिस खेल्न चाहन्छु। तर अहिले नै कति वर्ष खेल्छु भनेर भन्न सकिन्नँ,’जोकोभिचले भने, ‘आशा छ, मलाई अझै केही वर्ष कोर्टमै देख्नुहुनेछ।’ नोभाक जोकोभिचले एटिएफ टुरको फाइनलमा जितका साथ कीर्तिमानी छैटौंपटक विश्व नम्बर एकमा रहँदै वर्ष २०१९ को अन्त्य गर्ने योजनामा छन्। जोकोभिच यसपटक पिट सामप्रसको नाममा रहेको छैटौं पटक विश्व नम्बर एक बन्दै सिजन अन्त्यको कीर्तिमान बराबरी गर्ने संघारमा छन्।

 

प्रकाशित: २१ कार्तिक २०७६ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App