९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि नेपाली महिला भलिबल टोली बुधबार थाइल्यान्ड प्रस्थान गर्दै छ। मंगलबार नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना गरी अभ्यास गर्न जाने १८ खेलाडीसहित ४ पदाधिकारीलाई बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल तथा नेपाल भलिबल संघका पदाधिकारीले बिदाइ गरे।

मंगलबार भएको बिदाइ कार्यक्रममा राखेपका सदस्यसचिव सिलवालले भलिबललाई निकै महŒवका साथ हेरेकोे र पदक दिलाउन सक्ने खेल भएकाले तयारी राम्रो गर्न खेलाडीलाई सुझाए।

‘सागपछि नेपालमै भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेका छौं,’ सदस्यसचिव सिलवालले भने, ‘महिला टोलीले पछिल्लो समय राम्रो सम्भावना देखाएको छ। साग नजिकिँदै छ। सागको पदक जित्नका लागि हामी योग्य छौं। त्यसैले तयारी भरपूर गर्नुस्।’
यस्तै बिदाइ कार्यक्रममा भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले संघले खेलाडीहरूको आर्थिक अवस्था सुधारका लागि गृहकार्य गरिरहेको जानकारी दिए।

‘अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय भलिबल महासंघले नेपाल भलिबल संघलाई सहयोग गरिरहेको छ,’ महासचिव चन्दले भने, ‘नतिजा ल्याउने गरी तयारी गर्नुस्। अनुभव लिने राम्रो अवसर पनि मिलेको छ। यो अन्तर्राष्ट्रिय भ्रमणले टेवा पु¥याउनेछ।’

थाइल्यान्डमा रहँदा नेपाली टोलीले ७ अभ्यास खेल खेल्ने नेपाली टोलीका सहायक प्रशिक्षक जगदीश भट्टले जानकारी दिए।
‘७ खेलका लागि तालिका तय भएको छ,’ सहायक प्रशिक्षक जगदीश भट्टले भने, ‘अभ्यासका लागि थप हुने सम्भावना पनि छ। टोलीलाई वैदेशिक अभ्यास अनुभव लिने अवसरका रूपमा हेरिएको छ।’

वैदेशिक प्रशिक्षणका लागि जान लागेको टोलीले यही अभ्यास खेललाई बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीको रूपमा पनि हेरिएको छ।  पहिलो संस्करणको महिला एभिसी सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म बंगलादेशमा सञ्चालन हुँदै छ। सेन्ट्रल जोनपछि नेपालले मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमिमा हुने साग खेल्ने तालिका रहेको छ।

अरुणा शाहीलाई कप्तानको जिम्मेवारी
राष्ट्रिय टोलीकी नियमित कप्तान विनीता बुढाथोकी बन्द प्रशिक्षणमा नपरेपछि निकै चर्चा पाएको कप्तानको जिम्मेवारी सोमबार भएको बिदाइ कार्यक्रममा समाप्त भएको छ। नेपाल भलिबल संघले पश्चिमाञ्चल भलिबल संघबाट नेपालमा व्यावसायिक भलिबल खेल्दै आएकी अरुणा शाहीले सोमबार कप्तानको जिम्मेवारी पाएकी छिन्।

भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालको कप्तानी अरुणाले गर्ने जानकारी दिएका हुन्।

‘बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको सेन्ट्रल जोनका लागि कप्तानमा अरुणाको नाम पठाएका छौं,’ महासचिव चन्दले बिदाइ कार्यक्रममा भने।

अरुणाको कप्तानीमा नेपालले बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन खेल्नेछ। सेन्ट्रल जोनपछि मंसिर १५ देखि २५ गतेसम्म नेपालमा नै आयोजना हुने साग खेलमा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २९ आश्विन २०७६ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App