९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

इतिहासमै नेपालको खराब प्रदर्शन

काठमाडौं – सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको इतिहासमा नै खराब प्रदर्शन गरेको नेपाल घरेलु कोर्टमा लगातार दोस्रो पराजय भोग्दै एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ।

अघिल्लो चरण प्रवेशका लागि गर या मरको अवस्थामा रहेको नेपाल माल्दिभ्सविरुद्ध सोझो सेटमा ३–० ले पराजित हुँदा प्रतियोगिताको यात्रा समूहचरणमा नै समाप्त भएको हो। यसअघि समूहचरणको पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको थियो। लगातारको पराजयले घरेलु टोलीलाई सेमिफाइनल पुुग्ने लक्ष्य अधुरै रहेको हो। नेपालमाथि जित निकालेको माल्दिभ्स समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ। पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको माल्दिभ्सले घरेलु टोलीलाई स्तब्ध पार्दा सेमिफाइनल यात्रा तय भएको हो।

लगनखेलस्थित आर्मी तालिम तथा प्रशिक्षण केन्द्रमा भएको समूहचरणको अन्तिम खेलमा नेपाल माल्दिभ्सविरुद्ध चल्न सकेन। पहिलो सेटमा २२–२५ को नतिजा सुम्पिएको नेपालले दोस्रो सेट पनि राम्रो खेल्न  सकेन।  सुरुआतमा अग्रता लिए पनि कायम राख्न नसक्दा दोस्रो सेट २१–२५ ले गुमाएको थियो। ९–५ को अग्रता बनाए पनि ९–९ को अवस्थामा पाहुना टोली माल्दिभ्सले पुनरागमन गर्दा नेपालको मनोबल कमजोर बनेको थियो। लगातारका दुई सेट गुमाएको नेपालले तेस्रो सेटमा पनि राम्रो खेल्न सकेन। अघिल्ला सेटमा भन्दा रिसिभ र ब्लक पक्षमा चुकेको नेपालले तेस्रो सेट पनि १४–२५ ले सुम्पियो। माल्दिभ्ससँगको हारसँगै समूह ‘ए’ बाट नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको हो। नेपालले लिग चरणमा कुनै अंक जोड्न सकेन। अब नेपालले पाँचौं स्थानका लागि समूह ‘बी’ को तेस्रो हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

लिग चरणका सबै खेलमा पराजित भएको नेपाली टोलीलाई अभ्यासको खाँचो भएको मुख्य प्रशिक्षक हान एबिङले बताए। ‘उदाउँदै गरेको नेपाललाई अभ्यासको खाँचो छ। आजको खेलमा राम्रो तालमेल मिलेन। खेलाडीले शतप्रतिशत खेल्न सकेनन्,’ प्रशिक्षक एबिङले भने, ‘पहिलो सेटमा तालमेल मिलेन। दोस्रो सेटमा प्रहार गरेका स्पाइक बाहिरिए। लगातार दोस्रो सेट गुमाएपछि टोलीको मनोबल घट्यो र राम्रो प्रदर्शन हुन सकेन।’

यसै प्रतियोगिताका लागि नेपाली टोलीको जिम्मेवारी पाएका प्रशिक्षक एबिङले नेपाली टोलीको प्रदर्शनमा आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए। यता कप्तान इमबहादुर रानामगरले पुरानै समस्याका कारण पराजित हुनुपरेको बताए। ‘ब्लक र रिसिभमा विगतमा झैँ कमजोरी रह्यो। एथेष्ट प्रशिक्षण भएन। अभ्यास र कम अनुभवका कारण राम्रो खेल्न सकेनांै। केही मैत्रीपूर्ण खेल खेल्न पाएको भए अझै कमीकमजोरी थाहा हुन्थ्यो,’ कप्तान इमले भने, ‘अनुभवी खेलाडीलाई पहिलो रोजाइमा राख्दै खेलौं भनेर सहायक प्रशिक्षकलाई सुझाएको थिएँ।

यसबीचमा हामी केवल रिसिभ र ब्लक पक्षलाई मात्र केन्द्रित रह्यौं। अनुभवी खेलाडीलाई सेट गर्दै खेलाउने प्रयास मिलेन।’ प्रतियोगिताअन्तर्गत बुधबारै सम्पन्न दिनको पहिलो खेलमा उज्बेकिस्तानले अफगानिस्तानलाई सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ। बुधबारको जितसँगै उज्बेकिस्तानले लिग चरणका सबै खेलमा स्पष्ट जित हात पारेको छ। लगनखेलकै कर्भडहलमा सम्पन्न खेलमा उज्बेकिस्तानले पहिलो सेट २५–२३ ले आफ्नो बनाएको थियो। त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेका बाँकी दुई सेट उज्बेकिस्तानले समान २९–२७ ले आफ्नो बनाउँदा लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्न सफल भएको हो।

यस्तै बुधबारै सम्पन्न समूह ‘बी’ अन्तिम खेलमा साबिक विजेता तुर्कमेनिस्तानले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको छ। आर्मी कभर्ड हलमा सम्पन्न खेलमा तुर्कमिनिस्तानले सुरुआती दुई सेटमा जित  निकाले पनि तेस्रो सेट गुमाउन पुगेको थियो। पहिलो सेटमा २५–२२ र दोस्रो सेटमा २५–१६ को जित निकालेको तुर्कमेनिस्तानले निकै प्रतिस्पर्धात्मक तेस्रो सेट २७–२९ ले गुमाएको थियो। चौथो सेटमा २५–१६ ले बाजी मार्दा तुर्कमेनिस्तानको अघिल्लो चरणको यात्रा निश्चित भएको हो। समूह ‘बी’ मा तीन खेलमध्ये दुईमा हार भोगेका अफगानिस्तान र बंगलादेश जारी प्रतियोगिताबाट बाहिरिएका छन्।

यससँगै नेपालमा जारी एभिसी सेन्ट्रल जोन सिनियर पुरुष प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलका खेल बिहीबारबाट हुनेछन्। पहिलो सेमिफाइनलमा किर्गिस्तानले तुर्कमेनिस्तानको सामना गर्दा अर्को खेलमा माल्दिभ्स र उज्बेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। माल्दिभ्ससँगको हारसँगै समूह ‘ए’ बाट नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: ५ भाद्र २०७६ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App