७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

नेपालको खराब सुरुआत

काठमाडौं – एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ। ललिपुरस्थित आर्मी शारीरिक तथा तालिम प्रशिक्षण केन्द्रमा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ३–० सेटमा पराजित भएको हो।

प्रतियोगितामा पहिलो हार भोगेको नेपाललाई अघिल्लो चरण प्रवेश गर्न जित्नै पर्ने दबाब परेको छ। तीन टोली रहेको समूह ‘ए’ मा रहेको नेपालले मंगलबार माल्दिभ्सविरुद्ध जित निकाल्न सके अघिल्लो चरण सम्भावना कायम रहनेछ।

‘नेपालभन्दा निकै स्तरीय टोलीसँगको प्रतिस्पर्धामा गरेको प्रदर्शनबाट म सन्तुष्ट छु। अफगानिस्तानसँग यो टोलीलाई तुलना गर्न मिल्दैन। यो  टोलीसँग हामीले राम्रो अनुभव लियौं।’

अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलमा शृंखला हात पारेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिए पनि पाहुना टोली किर्गिस्तानसँग सोचेजस्तो खेल्न सकेन। विगतका खेलमा जस्तो रिसिभ र ब्लक चल्न नसक्दा नेपाल सोझो सेटमा स्तब्ध बनेको हो। २३–२५ मा पहिलो सेट गुमाएको नेपाल दोस्रो सेटमा पनि खेलमा फर्किन सकेन। बलियो प्रतिद्वन्द्वी किर्गिस्तानको कडा स्पाइकलाई ब्लक गर्न नसक्दा प्राय स्कोर विपक्षीको पोल्टामा गएको थियो। खेलमा फर्किने अपेक्षासहित कोर्ट प्रवेश गरेको नेपाली टोलीले दोस्रो सेट पनि किर्गिस्तानलाई २२–२५ ले सुम्पियो। दोस्रो सेटमा पनि ब्लक र रिसिभ चल्न सकेन। दुई सेट गुमाएको नेपालविरुद्ध उच्च मनोबलका साथ खेलेको किर्गिस्तानले तेस्रो सेटमा पनि सहज जित निकाल्न सफल भयो। तेस्रो सेटमा पनि २५–२२ स्कोर निकाल्दै पहिलो खेलमा पाहुना टोली किर्गिस्तानले प्रतियोगितामा सुखद सुरुआत गर्न सफल भयो। यससँगै किर्गिस्तानलाई अघिल्लो चरण प्रवेशका लागि सहज भएको छ।

आफ्नो पहिलो खेलमा जित निकालेको टोली किर्गिस्तानका सहायक प्रशिक्षक सारबागसेभ केलेबेगले टोलीको प्रदर्शनमा असन्तुष्ट रहेको बताए। ‘कुनै पनि खेलमा प्रशिक्षक सन्तुष्ट भए खेलको विकास हुँदैन। पहिलो खेल भएकाले टोलीले शतप्रतिशत खेल्न सकेन। यद्यपि जित निकाल्दा खुसी छौं,’ किर्गिस्तानका सहायक प्रशिक्षक सारबागसेभले भने, ‘भाग्य कहिले प्रतिद्वन्द्वीको पक्षमा पर्छ कहिले आफ्नो पक्षमा पर्छ। सधैं राम्रो खेल्दै अघिल्लो चरण प्रवेशमा केन्द्रित हुनुपर्छ।’

नेपालमा पहिलो पटक आयोजना भएको यति ठूलो प्रतियोगिताको आयोजक भलिबल संघलाई प्रशंसा गर्दै सारबागसेभले युरोपियन प्रशिक्षकको प्रशिक्षणमा रहेको नेपालको भविष्य राम्रो रहेको बताए। उता पहिलो खेल नै गुमाएको नेपाली टोलीका प्रशिक्षक हान एबिङले बलियो प्रतिद्वन्द्वी किर्गिस्तानसँगको खेलमा आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए।

‘नेपालभन्दा निकै स्तरीय टोलीसँगको प्रतिस्पर्धामा गरेको प्रदर्शनबाट म सन्तुष्ट छु। अफगानिस्तानसँग यो टोलीलाई तुलना गर्न मिल्दैन। यो  टोलीसँग हामीले राम्रो अनुभव लियौं,’ प्रशिक्षक हान एबिङले भने, ‘स्पाइक, ब्लक रिसिभमा उनीहरूलाई हाइट फाइदा बन्यो। हाम्रो कुनै पक्ष सोचेजस्तो चल्न सकेन। किर्गिस्तानको आउट साइड हिटरले उत्कृष्ट प्रदर्शन गरे, जसलाई हामीले रोक्न सकेनौं।’

समूह ‘ए’ को पहिलो खेलमा जित निकालेको किर्गिस्तानले मंगलबार सार्क टोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताअन्तर्गत सोमबारै सम्पन्न दिनको पहिलो खेलमा साबिक विजेता तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत ग¥यो। लगनखेलकै प्रशिक्षण केन्द्रमा उद्घाटन समारोहअघि भएको खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३२–३०,  १६–२५,  २७–२५ र २६–२४ को सेटमा हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

जितसँगै समूह ‘बी’ मा रहेको तुर्कमेनिस्तानले २ अंकको खाता खोलेको छ भने पराजित अफगानिस्तानले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। पहिलो सेट गुमाएको अफगानिस्तान दोस्रो सेटमा पुनरागमन गरे पनि बाँकी सेटमा प्रतिस्पर्धात्मक स्कोरमा पराजित भएको हो। विजयी तुर्कमेनिस्तानले मंगलबार उज्वेकिस्तान र अफगानिस्तानले बंगलादेशको सामना गर्नेछन्।

यस्तै सोमबारै सम्पन्न दिनको तेस्रो खेलमा सार्क टोली बंगलादेश उज्बेकिस्तानसँग ३–० कोे सोझो सेटमा पराजित भयो। आर्मी प्रशिक्षण केन्द्रको कोर्टमा भएको खेलमा बंगलादेश उज्बेकिस्तानसामु निरीह देखिएको थियो। अघिल्ला प्रतियोगितामा मध्यम प्रदर्शन गरेको बंगलादेश सुखद सुरुआतको खोजीमा रहे पनि कठिन प्रतिद्वन्द्वी उज्बेकिस्तानविरुद्ध खेल्न सकेन। पहिलो सेट २५–१६ ले गुमाएको बंगलादेशले दोस्रो सेट २५–१६ र तेस्रो सेट २५–२३ ले गुमाएको थियो। पराजित बंगलादेशले अब मंगलबार अर्को सार्क राष्ट्र अफगानिस्तासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल भलिबल संघको आयोजनामा नेपालमा भएको प्रतियोगितामा सात राष्ट्रले सहभागिता जनाएका छन्। सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा आयोजक नेपालले प्रतियोगिता सञ्चालन गरेको हो।


आजको खेल
बंगलादेशविरुद्ध अफगानिस्तान    ३ः०० बजे
तुर्कमेनिस्तानविरुद्ध उज्बेकिस्तान    ५ः०० बजे
किर्गिस्तानविरुद्ध माल्दिभ्स    ७ः०० बजे

प्रकाशित: ३ भाद्र २०७६ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App