१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पहिलो पटक प्याराग्लाइडिङ समावेश

नेपालगन्ज–  प्याराग्लाइडिङले १९९६ मा नेपाल सरकारबाट अनुमति पायो। त्यसपश्चात् व्यावसायिक रूपमा यो खेल मौलाउँदै गयो। पर्यटकीय र आर्थिक क्षेत्रको बलियो माध्यमका रूपमा प्याराग्लाडिङले स्थान जमायो। पोखरामा मात्र सीमित उक्त खेल नेपालका विभिन्न ठाउँमा फैलियो तर, सरकारले यसलाई खेलका रूपमा मान्यता दिन सकेन। जसले गर्दा यस खेलका खेलाडीलाई विदेश गएर प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता थियो। बल्ल सरकारले २३ वर्षपछि प्याराग्लाइडिङलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरेको छ।

प्रदेश नं. ५ मा हुने उक्त प्रतियोगितामा यस खेल समावेश हुँदा प्याराग्लाइडिङका खेलाडी उत्साहित छन्। नेपालमा राष्ट्रिय मान्यता नपाउँदा विदेशमा गएर प्रतिस्पर्धा गर्ने गरेको प्याराग्लाइडिङ खेलाडी बालु बस्यालले जानकारी दिए। ‘मान्यता विदेशमा हुन्थ्यो,’ उनले भने, ‘देशले दिएको थिएन।’ अहिले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल समावेश हुँदा उनले खुसी व्यक्त गरे। पछिल्लो समय प्याराग्लाइडिङको देशव्यापी रूपमा प्रभाव बढ्दै गएको उनको भनाइ छ। यस खेललाई दीर्घकालीन रूपमा बचाउन सरकारले पूर्वाधार निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

यो महँगो र यसका संरचना दीर्घकालीन रूपमा टिकाउ नहुँदा यसलाई बचाउन चुनौती हुने अर्का खेलाडी तथा प्याराग्लाइडिङका केन्द्रीय प्रमुख प्रशिक्षक सानुबाबु सुनुवारले बताए। प्याराग्लाइडिङ खेल राष्ट्रिय खेलमा समावेश गर्न २ वर्षअगाडि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवले प्रतिबद्धता जनाएका थिए। नेपालमा यही कात्तिक १५ मा प्याराग्लाइडिङको विश्वकप खेल भएको थियो। यसले पनि प्याराग्लाइडिङलाई आठौं राष्ट्रिय खेलकुदमा समावेश गर्न दबाब पुगेको खेलाडीहरू बताउँछन्। गएको भदौमा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालले रजत पदक पाएको थियो। ‘त्यति बेला हामीलाई राज्यले सहयोग गरेन,’ सुनुवारले भने, ‘खेलाडी आफ्नै लगानी र समन्वयमा प्रतिस्पर्धा गरेका थिए।’

प्याराग्लाइडिङमा गरेको लगानी खेर नजाने उनको भनाइ छ। यस खेलसँगै पर्यटन र आर्थिक क्षेत्रमा ठूलो टेवा पुगेको प्याराग्लाइडिङका खेलाडी बताउँछन्। हाल नेपालमा उक्त खेलका चार सयभन्दा बढी खलाडी छन्। १९८३ मा स्विस नागरिक प्याराग्लाइडिङ गर्दै पहिलो पटक नेपाल आएका थिए। पर्यटनको राजधानी पोखरामा मात्र हुने यस्ता खेल अहिले पूर्व–पश्चिमतिर हुँदै आएका छन्। बेलाबेलामा निजी क्षेत्रमा हुने प्रतियोगिताले केही हौसला दिएको खेलाडीको भनाइ छ।

‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा यो खेल समावेश हुनु खुसीको कुरा हो,’ बस्यालले भने, ‘अब प्याराग्लाइडिङ खेलमा अझै आकर्षण बढ्दै जान्छ।’ यस खेलमा आकर्षित गर्न विभिन्न प्रतियोगिताहरू हुन् आवश्यक रहेको उनको भनाइ छ। प्याराग्लाइडिङ खेल भने पोखरामा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयले जनाएको छ। खेलाडीको मागअनुसार यो प्रतियोगिता आठौँ राष्ट्रिय खेलकुददेखि समावेश गरिएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रेस सल्लाहका रोहित दाहालले जानकारी दिए। यसले प्याराग्लाइडिङ क्षेत्रमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ। यस प्रतियोगितादेखि प्याराग्लाइडिङका खेलाडीमा उत्साह र हौसला प्रदान हुने मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश नं. ५ का अध्यक्ष भीम ओलीले जनाए।

तीन खेल प्रदेशबाहिर
प्रदेश ५ मा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन खेल प्रदेशबाहिर खेलाइने भएको छ। प्रदेश ३ र गण्डकी प्रदेशमा उक्त खेल खेलाइने भएको हो।

गल्फ प्रदेश ३ को काठमाडौं, स्क्वास ललितपुर र प्याराग्लाइडिङ गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाख ३ गते नेपालगन्जमा उद्घाटन हुँदै छ। खेल भने चैत २७  गतेदेखि नै सुरु हुनेछन्। उक्त तीन खेलका लागि प्रदेश ५ मा संरचना नहुँदा प्रदेशबाहिर खेलाउन लागेको आठौँ राष्ट्रिय खेलकुदका प्रेस सल्लाहकार दाहालले जानकारी दिए। उनका अनुसार संरचना निर्माण गर्न समय लाग्ने र उपयुक्त ठाउँ पनि नभएकाले प्रदेश ५ मा संरचना निर्माण नभएको हो।

प्रकाशित: २४ चैत्र २०७५ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App