३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

दोस्रो दिन पराजुली र खनाल अगाडि

पोखरा – अन्तर्राष्ट्रियस्तरको ‘पोखरा माउन्टेनबाइक रेस स्टेज चौथो’ को दोस्रो संस्करणको दोस्रो दिन मंगलबार काठमाडौंका अजय पराजुली अगाडि रहेका छन्। छोरेपाटन–शिवालय–कृस्ती–मट्टिखान हुँदैै पुनः छोरेपाटनमा आएर टुंग्याइएको ६१ किलोमिटर रेस उनले ३ घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गरे। 

दोस्रो दिनको टास्कमा सशस्त्र प्रहरी बलका किरण मल्ल भने दोस्रो स्थानमा रहे। उनले पहिलो दिनको टास्कमा अग्रता लिए पनि दोस्रो दिन भने दोस्रो स्थानमा चित्त बुझाए। उनले निर्धारित दूरी ३ घण्टा १२ मिनेट ८ सेकेन्डमा पूरा गरे। यसै गरी तेस्रो स्थानमा भने काठमाडौंका सुरज रानामगर आए। उनले उक्त दूरी ३ घण्टा १६ मिनेट २४ सेकेन्डमा पूरा गरेका थिए। 

कास्की जिल्ला साइक्लिङ संघको आयोजनामा सञ्चालित चार दिनको प्रतियोगितामा सबैभन्दा कम समयमा दूरी पूरा गर्ने च्याम्पियन बन्नेछ। महिलातर्फको प्रतिस्पर्धामा भने ललितपुरकी उषा खनालले ४ घण्टाको समय लगाउँदै अगाडि रहिन्। दोस्रो स्थानमा भने लेयसबेथ कनिसले ४ घण्टा १६ मिनेटमा दूरी पूरा गरिन्। नुवाकोटकी लक्ष्मी मगरले भने तेस्रो स्थानमा चित्त बुझाइन्। उनले दूरीलाई ४ घण्टा २७ मिनेटमा पूरा गरिन्। 

तेस्रो दिन आज बुधबार बेगनासबाट सुरु टास्क भने सबैभन्दा लामो दूरीको हुनेछ। बेगनास, कालिका, बेगनासताल, रुपाताल हुँदै बेगनासताल बसपार्कबाट पचभैयाको डाँडामा पुगेर टुंगिनेछ। तेस्रो दिनको दूरी ८० किलोमिटरको छ। चौथो तथा अन्तिम दिन बाटुलेचौर, डाँडागाउँ, अर्मलाकोट, अर्मलाडिही, महेन्द्रगुफा हुँदै बाटुलेचौरमा पुगेर सकिने रेसको भने ६७ किलोमिटरको हुनेछ।

साइक्लिङ संघले विगतमा राष्ट्रियस्तरको प्रतिस्पर्धा गरे पनि यो भने पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो। प्रतियोगितामा ब्रिटिस, फ्रान्स, अस्ट्रिया, भारत, अमेरिका, स्पेन र चीनलगायतका देशका खेलाडीहरू सहभागी छन्। साइकल दौडको माध्यमबाट साहसिक खेलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको चारै दिनमा प्रतिस्पर्धीको समयलाई आधार मानेर विजयी घोषणा गरिने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए। उनका अनुसार विजेताले ट्रफी एवं १५ सय डलर बराबरको तालिम प्राप्त गर्नेछन्। पोखरामा यो प्रतियोगितासँगै बर्सेनि आयोजना गरिने याक अट्याक माउन्टेनबाइक रेस प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा निकै टेवा पुगेको विश्वाससमेत साइक्लिङले लिएको छ।

प्रकाशित: १ फाल्गुन २०७५ ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App