८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

नेत्रहीन क्रिकेटमा चौधरीको पहिलो अर्धशतक

अन्तर्राष्ट्रिय महिला क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरेपछि मनकेसी चौधरी । तस्बिर सौजन्य : एनएसजेएफ

काठमाडौं – मनकेसी चौधरी अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बन्दा नेपालले आयोजक पाकिस्तानमाथि तेस्रो ट्वान्टी–२० खेलमा १० विकेटको जित निकालेको छ।

यसअघि लाहोरमा भएको पहिलो खेलमा पनि नेपालले घरेलु टोली पाकिस्तानलाई १० विकेटले नै स्तब्ध पारेको थियो भने फैसलाबादस्थित इकवाल स्टेडियममा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।

फैसलाबादमै शुक्रबार हुने भनिएको तेस्रो खेल पनि मैदान भिजेका कारण हुन नसकेपछि इस्लामाबादमा सारिएको थियो।

शनिबार इस्लामाबादको सिमाना रावलपिण्डीमा पाकिस्तानले दिएको १ सय ३ रनको लक्ष्य नेपालले ७.३ ओभरमा भेटाएको हो। खेलमा नेपालकी ओपनर मनकेसी चौधरीले आक्रामक ब्याटिङ गरिन्। २१ बलको सामना गरेकी चौधरी ५८ रनमा अविजित रहिन्। बि टु क्याटेगोरी खेलाडी चौधरीले १० चौका प्रहार गरेकी थिइन्। यस्तै अर्की ओपनर विनीता पुनले २४ बल खेल्दै ५ चौकाको मद्दतमा अविजित  ३४ रन बनाइन्।

चौधरी र पुनबीच भएको १ सय ३ रनको साझेदारी पनि महिला नेत्रहीन क्रिकेटमा कीर्तिमानी साझेदारी भएको छ।
पाकिस्तानले पहिलो खेलको तुलनामा तेस्रो खेलमा सुधारिएको प्रदर्शन गरे पनि नेपाली खेलाडी ब्याटिङमा हाबी भएको थियो।

पहिलो खेलमा ५३ रनमै अलआउट भएको पाकिस्तानले दोस्रो खेलमा पूरै २० ओभर ब्याटिङ गर्दै १ सय २ रन जोड्न सफल भएको थियो। खेलमा पाकिस्तानका लागि ओपनर तयावा फतिमाले सर्वाधिक २७ रन बनाइन् भने सादियाले १७ रन जोडिन्। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पाकिस्तानले ३५ रन अतिरिक्तबाट पाएको थियो। मैदान ओसिलो रहेका कारण पहिलो इनिङमा नेपाली खेलाडीलाई फिल्डिङमा केही अप्ठ्यारो भएको थियो। बलिङमा नेपालका लागि कप्तान भगवती भट्टराई र मुना अर्यालले १/१ विकेट लिए। भगवतीले ३ पाकिस्तानी खेलाडीलाई रनआउटसमेत गरिन्। यस्तै सरिता घिमिरेले डाइरेक्ट हिटमार्फत एक रनआउट गरिन्।

लगातार दुई खेल जितेपछि नेपालकी कप्तान भगवती भट्टराईले दुवै टिमले राम्रो खेलेको बताइन्। ‘पाकिस्तानी टिमले आज राम्रो ब्याटिङ गर्दै पूरै २० ओभर खेल्यो। हाम्रो खेलाडीले पनि राम्रो खेले र हामीले खेल जित्यौं। अब बाँकी खेलमा पनि राम्रो खेल्नेछौं।’

यस्तै प्लेअर अफ दी म्याच बनेकी नेपालकी मनकेसी चौधरीले पहिलो अर्धशक प्रहार गर्न पाउँदा खुसी लागेको बताइन्। उनले आगामी खेलमा अझै राम्रो प्रदर्शन गर्ने प्रतिक्रिया दिइन्।

पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलको आयोजनामा भइरहेको पाँच खेलको सिरिजअन्तर्गत चौथो खेल आइतबार र पाँचाैं खेल सोमबार हुनेछन्। दुवै खेल इस्लामावादस्थित शालिमार क्रिकेट स्टेडियममा खेलाइनेछ।

प्रकाशित: २० माघ २०७५ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App