१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको उत्कृष्ट लय यथावत्

काठमाडौं – सीता रानामगरको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले सोमबार थाइल्यान्डमा जारी वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगिताको दोस्रो स्थान पक्का गरेको छ। थाइल्यान्डको एसियन एन्सिच्युट अफ टेक्नोलोजीको क्रिकेट मैदानमा नेपालले युएईमाथि ६ विकेटको सफलता निकाल्दै लगातार तीन जितसँगै दोस्रो स्थान पक्का गरेको हो। यसअघि चीन र मलेसियाविरुद्ध जित निकालेको नेपालले समूह ‘ए बाट दोस्रो स्थान पक्का गरेको हो। 

नेपालले आफ्नो समूहको अन्तिम खेल मंगलबार थाइल्यान्ड ‘ए’ विरुद्ध खेल्नेछ। थाइल्यान्डविरुद्ध जित निकाल्न सके नेपाल समूहविजेताको रूपमा सेमिफाइनल यात्रा गर्नेछ। युएईले भने तीन खेलमा ४ अंक बटुलेको छ। मंगलबार नै युएईले जित निकाल्दा दोस्रो चरणको यात्रा पक्का गर्नेछ।  नेपाल हार्दा युएईले जित निकालेको खण्डमा पनि रनरेटले समूहको विजेता टुंगो लाग्नेछ। युएईले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य नेपालले चार विकेट गुमाउँदै अन्तिम ओभर बाँकी छँदा पूरा गरेको थियो। ओपनरद्वय सीता रानामगर र काजल श्रेष्ठले ६१ रनको साझेदारी गर्दै नेपालको जितको आधार बनाएका थिए।

११.२ ओभरमा हुमैरा तास्निमले सीतालाई ३७ रनमा आउट गर्दै नेपालको पहिलो विकेटको साझेदारी तोडेकी थिइन्। ३५ बल खेलेकी सीताले ४ चौका प्रहार गरिन्। त्यसपछि भने नेपाली चेलीले खासै राम्रो साझेदारी बनाउन सकेनन्। त्यसलगत्तै १३औं ओभरमा डोली भट्ट ७ रनमा इसा ओजाद्वारा एलबिडब्लु आउट भइन्। 

१५औं ओभरमा काजल पनि तेस्रो विकेटको रूपमा युएईकी काभिसा कुमारीद्वारा रनआउटको सिकार भएपछि नेपालको इनिङ धरमराएको थियो। ४२ बल खेलेकी काजलले २५ रन बनाए पनि बाउन्ड्री प्रहार गर्न असफल रहिन्। त्यसपछि ब्याटिङ गर्न आएकी इन्दु बर्मा पनि ११ रन बनाएर आउट भइन्। १६.४ ओभरमा चामनी सेनेभिरत्नेले इन्दुलाई पवेलियनको बाटो देखाएकी थिइन्। तर, पाँचौं विकेटका लागि कप्तान रुबिना क्षेत्री र नेरी थापाले १८ रनको साझेदारी गर्दै नेपाललाई अन्तिम ओभरअगावै जित दिलाए। रुबिना १० रनमा र नेरी ६ रनमा अविजित रहे। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो। उसका लागि छायाँ मुघलले सर्वाधिक ३१ रनको योगदान दिइन्। पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेर आउट भएकी छायाले ४१ बलमा एक चौका हिर्काइन्।  इसा ओजा २८ रन बनाएर आउट हुँदा चामनी सेनेभिरत्ने २३ रनमा आउट भइन्। नेपालको बलिङमा डेब्यु गरेकी सोनु खड्काले तीन ओभरमा १६ रन खर्चिंदै एक विकेट लिइन्। करुणा भण्डारी र सीता रानामगरले समान एक विकेट निकाले। नेरी थापाले ४ ओभरमा किफायती बलिङ गर्दै १७ रन मात्र खर्चिए पनि विकेट लिन भने सकिनन्। 

१० टोली सहभागी रहेको प्रतियोगिताको समूह ‘बी’ मा आयोजक थाइल्यान्ड, हङकङ, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन्। समूह ‘बी’ को इन्डोनेसियाले तीन खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा छ। २ खेलमा २ जित निकालेको थाइल्यान्ड दोस्रोमा र तीन खेलमा एक हार बेहोरेको हङकङ तेस्रो स्थानमा छ। ओपनरद्वय सीता रानामगर र काजल श्रेष्ठले ६१ रनको साझेदारी गर्दै नेपालको जितको आधार बनाएका थिए।

प्रकाशित: १ माघ २०७५ ०२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App