१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मी फेरि शीर्ष स्थानमा

एपिएफका खेलाडी विजय थापाको स्पाइक ब्लक गर्ने क्रममा नेपाल प्रहरीका द्वारिका थापा (जर्सी नम्बर १) । तस्बिरः उमेश पुन/नागरिक

पोखरा – त्रिभुवन आर्मीलाई पराजित गर्दै आत्मविश्वासी देखिएको सशस्त्र प्रहरी बलको एपिएफ क्लब विभागीय डर्बी खेलमा नेपाल पुलिस क्लबसँग पराजित हुन पुगेको छ।

पराजयसँगै एपिएफ दोस्रो स्थानमा झरेको छ। आर्मी हेल्प नेपालको अनुपस्थितिमा तीन अंक पाएपछि लिगको शीर्ष स्थानमा उक्लिन पुग्यो। एपिएफलाई पराजित गर्दै नेपाल पुलिस क्लब १३ अंकका साथ तेस्रो स्थानमा छ।

फाइनल खेल्ने सम्भावनालाई जीवितै राख्ने महत्वपूर्ण खेलमा सशस्त्रको हारले उपाधि यात्रा रोमाञ्चक बनेको छ। लिगको शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

आर्मीलाई जितेर मनोबल बढाएको एपिएफको आत्मविश्वासलाई भने पुलिसले कमजोर बनाइदियो। पहिलो र दोस्रो सेट २५–१७ र २५–२१ ले आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो सेट भने २४–२६ ले एपिएफलाई सुम्प्यो। २५–१७ ले चौथो सेटमा एपिएफ सहजै पराजित भएपछि तीन अंक पुलिसको खातामा चढ्यो।

फाइनल खेल्ने सम्भावनालाई जीवितै राख्ने महत्वपूर्ण खेलमा सशस्त्रको हारले उपाधि यात्रा रोमाञ्चक बनेको छ।

हेल्प नेपाल स्पोटर्स क्लबले राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिता परित्याग गरेको छ। एपिएपविरुद्धको चौथो दिनको खेलमा भारतीय नयाँ खेलाडीसहित कोर्ट प्रवेश गरेपछि विपक्षी टोलीले परिचयपत्र माग्दा उत्पन्न विवादकै कारण हेल्प नेपाल पाँचाैं दिन बिहीबार त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा उपस्थित भएन। एपिएपविरुद्धको खेलमा हेल्प नेपालले विवादकै कारण कोर्ट छाडेर हिँडेपछि वाकओभरको घोषणा गरिएको थियो।

खेलाडीको वास्तविक नाम र प्रतियोगितामा आयोजकलाई उपलब्ध गराएको नाम बेमेल भएपछि विवाद सृजना भएको थियो। नेपाल भलिबल संघले पुरानै तीन भारतीय खेलाडीलाई समावेश गराई प्रतियोगिता खेल्न आग्रह गरे पनि नआएको प्रचारप्रसार संयोजक राजकुमार गुरुङले बताए। ‘पुरानै खेलाडी खेलाउने गरी सहमतिको प्रयास गर्यौं। तर हेल्प नेपाल त्यसप्रति सहमत हुन सकेन। उनीहरूले आर्मीविरुद्धको खेलमा उपस्थिति जनाएनन्,’ संयोजक गुरुङको भनाइ थियो। हेल्प नेपालको अनुपस्थितिमा आर्मीलाई ३ अंक प्रदान गरियो।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको पाँचांै दिन बिहीबार ढोरपाटन स्पोर्ट्स क्लबले पहिलो जित दर्ता गर्ने क्रममा जावलाखेल भलिबल टे«निङ सेन्टरलाई पराजित गर्दै तीन अंक जोड्यो। ढोरपाटनले जावलाखेललाई २५–१७, १८–२५, २५–१८ र २५–१८ ले पराजित गरेको थियो।

यसै गरी नयाँ बजार सामाजिक युवा क्लबले एक घण्टा मात्रै विश्राम गरेको ढोरपाटनलाई सोझो सेटमा पराजित गर्दै अंकतालिकामा ३ अंक थप्यो। यससँगै नयाँ बजारको ९ अंक छ। आफ्नो छैटौं खेल खेल्ने क्रममा नयाँ बजारले ढोरपाटनरिुद्ध २५–२२, २५–१८ र २५–१८ को स्कोर निकाल्यो। अब नयाँ बजारले अन्तिम खेल भने त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ।

मणिमुकुन्द भलिबल क्लब रूपन्देहीले दोस्रो जित निकाल्दै अंकतालिकामा ८ अंक जोडेको छ। मणिमुकुन्दले बिहीबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा जावलाखेलविरुद्ध २५–१४, २५–१२ २५–२० ले खेल जित्दै ८ अंक पुर्याएको हो। मणिमुकुन्दले ढोरपाटनलाई पराजित गर्दै तीन अंक जोडेको थियो। आर्मी र नयाँ बजारसँग पाँचै सेट खेल्दै एक–एक अंक जोडेको थियो।

प्रकाशित: ६ पुस २०७५ ००:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App