४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

चितवन राइनोजको पहिलो जित, धनगढी ब्लुज ६७ रनमा अलआउट

तस्बिरः उमेश पुन/नागरिक

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बुधवारको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

चितवन अघिल्ला २ खेलमा पराजित भएको थियो। चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० र दोस्रो खेलमा पोखरा पल्टनसँग ५ विकेटले हारेको थियो। जितसँगै चितवनले अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। यता धनगढी ब्लुजले अघिल्ला २ खेलमा एकमा जित र १ मा हार ब्यहोरेको थियो। आजको खेलमा पराजित भएको धनगढीको अघिल्लो चरण यात्रामा धक्का लागेको छ।

पोखरा रंगशालामा चितवन राइनोजले प्रस्तुत गरेको रनको १९४ रनको लक्ष्य पछ्याएको धनगढी ब्लुज १६.२ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो।

धनगढीका लागि पिटर ट्रिगोले सर्वाधिक २७ रन बनाए। ट्रिगोले २१ बलमा ३ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै योगेन्द्रसिंह कार्कीले १७ रन बनाउनु बाहेक कसैले पनि दोहोरो रनको आकडा पार गर्न सकेनन्। धनगढीका ओपनर दिलिप नाथ र डेनियल लरेन्स ० रनमा आउट भएका थिए।

धनगढीलाई सस्तैमा समेटन चितवनका सन्नी पटेलले ४, भुवन कार्की र सुमित पटेलले २–२ तथा करण केसी र शक्ति गौचनले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाइ १९३ रन बनाएको थियो। चितवनका लागि पहिलो विकेटका रुपमा ओपनिङ ब्याट्सम्यान हरिशंकर शाह र अनिकुमार शाहले १०१ रनको उच्च साझेदारी गरे। यो प्रतियोगिताकै सर्वाधिक ठूलो साझेदारी हो।

पहिलो विकेटका रुपमा अनिलकुमार शाह १०.४ ओभरमा दिपेन्द्रसिंह ऐरीको बलमा ३७ रन बनाउँदै दिलिप नाथबाट क्याच आउट भए। उनले ३४ बलमा १ चौंका र ३ छक्का प्रहार गरे। दोस्रो विकेटका रुपमा आउट हुनुअघि हरिशंकर शाहले सर्वाधिक ५३ रनको योगदान दिए। उनी ११.३ ओभरमा योगेन्द्रसिंह कार्कीको बलमा विकेटकिपर दिलिप नाथबाट क्याच भए। क्याच हुनुअघि योगेन्द्रले ३३ बलमा ६ चौंका र ३ छक्का प्रहार गरे। अन्य ब्याट्सम्यानमा सन्नी पटेलले नटआउट २६, सुमित पटेलले २४, पारस खड्काले १९ र करण केसीले नटआउट ११ रनको योगदान दिए।

धनगढी ब्लुजका लागि दिपेन्द्रसिंह ऐरी, डेनियल लरेन्स, योगेन्द्रसिंह कार्की र मन्जित श्रेष्ठले एक–एक विकेट लिए। चितवन राइनोजको कप्तान पारस खड्का र धनगढी ब्लुजको कप्तान दिपेन्द्रसिंह ऐरी हुन्।

प्रकाशित: १४ कार्तिक २०७५ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App