१ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

उपाधि रक्षाको लक्ष्यमा नेपाल, पहिलो खेलमा ताजकिस्तानसँग खेल्दै

बंगलबन्धु गोल्डकपअन्तर्गत ताजकिस्तानविरुद्ध हुने खेलका लागि अभ्यास गर्दै नेपाली खेलाडी । तस्बिर सौजन्यः एन्फा

काठमाडाैं – बंगबन्धु गाेल्डकपमा उपाधि रक्षाको लक्ष्यका साथ बंगलादेश भ्रमणमा निस्किएको साबिक विजेता नेपालले प्रतियोगिताको पहिलो खेलमा मंगलबार ताजकिस्तानसँग खेल्नेछ । सिटेल रंगशालामा हुने खेलमा नेपाल निश्चित जितको लक्ष्यका साथ मैदान उत्रिनेछ । तर प्रतियोगिताका लागि एक साताको मात्र प्रशिक्षण गरेको नेपालका लागि उपाधिरक्षा यात्रा कठिन बन्न सक्छ।

नेपालले चौथो संस्करणमा जितेको पूरा रकम नपाएको भन्दै नाम दर्ता गराए पनि प्रतियोगिता नखेल्ने बताएको थियो। विजेतास्वरूप पाउनुपर्ने ५० हजार अमेरिकी डलरमध्ये २५ हजार अमेरिकी डलर मात्र पाएको नेपालले गत साता मात्र बाँकी २५ हजार अमेरिकी डलर पाएको थियो । पुरस्कार रकम पाएपछि नेपाल प्रतियोगितामा होमिएको हो । नेपालले बंगबन्धु गोल्ड कपमा सहभागिता जनाउने भएकै कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले केवल दुई खेल मात्र खेलाउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग स्थगित गरेको थियो।

तर हालै इन्डोनेसियामा भएको एसियाली खेलकुद र बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालका लागि यी दुई प्रतियोगितामा बटुलेको अनुभव बंगलबन्धु कपमा फाइदा बन्न सक्छ । एसियाली खेलकुदको समूहचरणबाटै बाहिरिएको नेपालले साफ च्याम्पियनसिपमा भने सेमिफाइनलसम्मको यात्रा पक्का गरेको थियो।

चौथो संस्करणमा नेपालले बहराइनको यु–२३ टोलीलाई  ३–० ले पराजित गर्दै उपाधि जितेको थियो । संयोगवश नेपालले उपाधि जित्दा नेपाली टोलीको प्रशिक्षक बालगोपाल महर्जन अहिले नेपाली टोलीको नेतृत्व गर्दै बंगलादेश प्रस्थान गरेका छन्।

सिटेल रंगशालामा हुने खेलमा नेपाल निश्चित जितको लक्ष्यका साथ मैदान उत्रिनेछ । तर प्रतियोगिताका लागि एक साताको मात्र प्रशिक्षण गरेको नेपालका लागि उपाधिरक्षा यात्रा कठिन बन्न सक्छ।

२६ गतेसम्म चल्ने प्रतियोगितामा ६ राष्ट्रले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा नेपालसहित ताजिकिस्तान र प्यालेस्टाइन छन् भने समूह ‘बी’ मा आयोजक बंगलादेशसहित फिलिपिन्स र लाओस रहेका छन् । नेपालले दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनविरुद्ध खेल्नेछ । लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।

प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द र गोलकिपर किरण चेम्जोङले भने हुने छैनन् ।
नेपालले पाउन बाँकी रहेको पुरस्कारको रकम अन्तिम समयमा प्राप्त गरेसँगै प्रतियोगितामा सहभागिता पक्का भए पनि विदेशी क्लबबाट व्यावसायिक खेल खेल्दै आएका चन्द र चेम्जोङलाई पत्राचार गर्ने समय अपुग भएको भन्दै उनीहरूको ठाउँमा विकल्प खोजिएको नेपाली टोलीका कार्यवाहक प्रशिक्षक महर्जनले जानकारी दिएका थिए । किरणको अनुपस्थितिमा विशाल श्रेष्ठले नेपालको पोस्ट सम्हाल्नेछन् भने रोहितको स्थानमा तेज तामाङलाई समावेश गरिएको छ।

प्रकाशित: १६ आश्विन २०७५ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App