२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

युरोपियन वर्ष खेलाडीमा रियल मड्रिडको वर्चस्व, मोड्रिच सर्वोत्कृष्ट खेलाडी

काठमाडौं – युरोपको सर्वोत्कृष्ट खेलाडीको उपाधि क्रोएसियाका कप्तान एवं रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका छन्।

बिहीबार राति फ्रान्सको मोनाकोमा च्याम्पियन्स लिगको ड्र सार्वजनिक कार्यक्रममा मोड्रिचले आफ्ना प्रतिद्वन्दीलाई पछि पार्दै अवार्ड हात पारेका हुन्। मोड्रिचले उपाधि जित्न पूर्व सहकर्मी युभेन्ट्स तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल तथा इजिप्टका फरवार्ड मोहमद सलाहलाई पछि पारे।

रियल म्यड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग र क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउन मोड्रिचले उत्कृष्ट भूमिका निर्वाह गरेका थिए। उनले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल समेत हात पारेका थिए। मोड्रिचले यो अवार्ड पाउन ३ सय १३ मत पाए। त्यस्तै रोनाल्डोले २ सय २३ र सलाहले १ सय ३४ अंक पाए। सर्वाेत्कृष्ट खेलाडी चुन्नका लागि युरोपका ८० क्लब प्रशिक्षक, युरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकारको मत गनिएको थियो।

नाभास उत्कृष्ट गोलरक्षक 
रियल मड्रिडका गोलरक्षक केलोर नाभास युरोपको उत्कृष्ट गोलरक्षक घोषित भएका छन्। नाभासले आफ्ना प्रतिद्वन्दीलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन्। कोस्टारिकाका ३१ वर्षीय गोलकिपर नाभासले ब्राजिलका एलिसन बेकर र इटालियन गोलरक्षक जियान लुइजी बुफोनलाई पछि पारे। स्पेनीस क्लब रियलबाट खेलिरहेका नाभासले रियलले लगाातार तेस्रो पटक च्याम्पियन्स लिग जित्दा महत्त्वपूर्ण भूमिका खेलेका थिए। भोटिङमा नाभासले २ सय २२, एलिसन बेकरले १ सय ९७ र बुफोनले ९२  अंक पाए। 

रामोस उत्कृष्ट डिफेन्डर
स्पेन तथा रियल मड्रिडका कप्तान एवं डिफेन्डर सर्जियो रामोस युरोपको उत्कृष्ट डिफेन्डर चुनिएका छन्। रामोसले आफ्नै क्लबबाट खेल्दै आएका फ्रान्सका राफेल भराने र ब्राजिलका मार्सेलोलाई पछि पार्दै उपाधि कब्जा गरे। रियलका कप्तानमध्ये एक सफल कप्तान रामोसले रियलले जित्ने उपाधिमा महत्वपूर्ण भूमिका खेल्ने गरेका छन्। रामोसले मतदानमा १ सय ८४, भरानेले १ सय ६७ र मार्सेलोले १ सय ४५ अंक प्राप्त गरे। 

बिभिन्न बिधाका उत्कृष्ट खेलाडी
युइएफए वर्ष पुरुष खेलाडीः लुका मोड्रिच (रियल मड्रिड क्रोएसिया)

युइएफए वर्ष मिडफिल्डरः लुका मोड्रिच (रियल मड्रिड क्रोएसिया )

युइएफए वर्ष गोलकिपरः केलोर नाभास (रियल मड्रिड कोस्टारिका)

युइएफए वर्ष डिफेन्डरः सर्जियो रामोस (रियल मड्रिड स्पेन)

युइएफए वर्ष फरवार्डः क्रिस्टियानो रोनाल्डो (हाल युभेन्ट्स तत्कालिन रियल मड्रिड पोर्चुगल)

युइएफए प्रेसिडेन्टस अवार्डः डेभिड बेकह्याम (इङ्ल्याण्ड)

युइएफए वर्ष महिला खेलाडी (पेनिल्ले हार्डरडेनमार्क)

प्रकाशित: १५ भाद्र २०७५ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App