१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको प्रतिस्पर्धात्मक हार

काठमाडौं – नेपाली युवा टोलीले जब्बर रक्षात्मक प्रदर्शन गरेपछि एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा मंगलबार जापानलाई साँघुरो जितमा रोकेको छ।  

समूह ‘डी’ अन्त्र्गत पालेम्बाङको विभावा मुक्ति रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपाली यु–२३ टोली जापानसँग १–० को नतिजामा निराश भयो। 

नेपालले सातौं मिनेटमा गोल खाएको थियो । त्यही गोल जापानलाई तीन अंक जोड्न पर्याप्त भयो । जापानका काउरू मितोमाले गरेको गोलबाट पछि परेको नेपाल खेलमा फर्किन नसक्दा अंक गुमाउन बाध्य भयो । मितोमाले योइची नागानुमाको पासमा गोल गरेका थिए। 

जापानले २१ वर्षभन्दा मुनीका खेलाडीलाई मैदान उतारेको थियो ।  नेपालले भने यु–२३ टोलीमा तीन उमेर नाँघेका खेलाडी राख्न पाउने सुविधा प्रयोग गरेको छ । राष्ट्रिय टोलीका गोलकिपर किरणकुमार लिम्बुको कप्तानीमा खेलेको नेपाली टोलीमा विशाल राई र रोहित चन्द सिनियर खेलाडी थिए। 

पहिलो हाफमै गोल खाएको नेपालले दोस्रो हाफमा पूनरागमनको प्रयास गरे पनि जापानको रक्षापंक्ति तोड्न सकेन । नेपालका खेलाडी अधिकांश समय जापानको आक्रमणलाई रोक्नमै व्यस्त हुनु परेको थियो।

पहिलो खेलमा नेपालले गोलका लागि एक मात्र प्रयास गर्न सक्यो । जापानले नेपाली पोष्टमा गोलका लागि १३ आक्रमण गरेको थियो । समूहमा तीन अंक जोडेको जापानले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । नेपालको पनि अन्तिम १६ पुग्ने सम्भावना जीवित छ । प्रतियोगितामा सबै ६ समूहका शीर्ष दुई टोली सोझै नकआउट चरण पुग्छन भने सबै समूहमा तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ पुग्ने व्यवस्था छ।

नेपालले अब समूहको दोस्रो खेल बिहीबार भियतनामसँग विबावा मुक्ति रंगशालामै खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल पाकिस्तानविरुद्ध बेकासीको प्याट्रियट रंगशालामा खेल्नेछ।

यसअघि नेपालले एसियाली खेलकुदमै जापानविरुद्ध ३ पटक खेलेको थियो । तीनै खेलमा नेपाल पराजित भएको थियो। १९८६ मा दक्षिण कोरियामा सम्पन्न प्रतियोगितामा ५–० ले पराजित भएको नेपाल १९९२ मा थाइल्यान्डमा पनि ५–० कै अन्तरमा हारेको थियो । २०१४ मा दक्षिण कोरियामा नेपालले जापानलाई ४–० को नतिजा सुम्पिएको थियो।

समूह ‘डी’ मा यसअघि नै सम्पन्न खेलमा भियतानमाले पाकिस्तानलाई ३–० को नतिजामा हराउँदै ३ अंक पक्का गरेको छ । भियतनाम गोलअन्तरका आधरमा समूहको शीर्ष स्थानमा छ भने जापान दोस्रो स्थानमा छ। 

थाइल्यान्डमा १० दिनको विशेष प्रशिक्षण गरेर नेपाली टोली उतैबाट इन्डोनेसिया पुगेको थियो । इन्डोनेसिया जानुअघि नेपाली टोलीले थाइल्यान्डको ‘ए’ डिभिजन क्लब तेरो पुलिस र थाई यु–२३ टोलीसँग दुई अभ्यास खेल खेलेको थियो । नेपाल दुवै अभ्यास खेलमा पराजित भएको थियो। 

 

प्रकाशित: २९ श्रावण २०७५ २३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App