६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बास्केटबलमा फिलिपिन्स सहभागी हुने

मलिना – फिलिपिन्सले इन्डोनेसियामा अगस्ट १८ बाट सुरु हुने एसियाली खेलकुदमा पुरुष बास्केटबल टोलीले सहभागिता जनाउने आइतबार पुष्टि गरेकोे छ।

जुलाई २ मा विश्वकप छनोटअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा विवाद भएसँगै प्रमुख खेलाडी र प्रशिक्षक प्रतिबन्धमा परेपछि फिलिपिन्सले एसियाली खेलकुदमा बास्केटबल टोली नपठाउने चर्चा सुरु भएको थियो।

अस्ट्रेलियाविरुद्ध मनिलामा सम्पन्न खेलमा फिलिपिन्सका खेलाडी र समर्थकले विपक्षी खेलाडीमाथि हातपात गरेपछि अन्तर्राष्ट्रिय बास्केटबल महासंघ (फिबा)ले फिलिपिन्सका १० खेलाडी र २ प्रशिक्षकमाथि प्रतिबन्ध लगाउनुका साथै २ लाख ५० हजार स्विस फ्य्रांक जरिवाना गरेको थियो।

उक्त घटनामा तीन अस्ट्रेलियाली खेलाडी पनि प्रतिबन्धमा परेका थिए । फिबाले फिलिपिन्सका प्रशिक्षक र सहायक प्रशिक्षकले खेलाडीलाई सम्झाउनुको साटो थप विवादका लागि उकासेको आरोप लगाएको थियो । दुई टोलीबीचको विवादले उग्र रूप लिएपछि अस्ट्रेलियाली टोलीले सुरक्षाका लागि अस्ट्रेलियन दूतावासको सहारा लिएको थियो।

यसअघि फिलिपिन्सले जुलाईको अन्त्यमा भएको एसियाली बास्केटबल प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।तर राष्ट्रपति रोड्रिगो डुर्टेटेको विशेष आग्रहमा फिलिपिन्स बास्केटबल संघले इन्डोनेसियामा टोली पठाउने निर्णय गरेको हो । सेप्टेम्बर २ सम्म चल्ने प्रतियोगितामा ४५ राष्ट्रको सहभागिता रहनेछ।

‘हामलाई जित्नुपर्ने दबाब छैन । हामी उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछाैं,’ फिलिपिन्स फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बास्केटबल फिलिपिन्सको गौरव हो । यस खेलले फिलिपिन्सलाई एकताको सूत्रमा बाँध्दै आएको छ ।’फिलिपिन्स बास्केटबल संघले फिबाको कारबाहीविरुद्ध अपिल गर्ने जनाएको छ।

 

प्रकाशित: २२ श्रावण २०७५ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App