१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

मोरियासु जापानी नयाँ

टोकियो (एएफपी) – जापानले ओलम्पिकका प्रशिक्षक हाजिमे मोरियासुलाई राष्ट्रिय टोलीको नयाँ प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

४९ वर्षे मोरियासुले अन्तरिम प्रशिक्षकका रूपमा दुई महिने कार्यकालमा जापानलाई रूस विश्वकपको अन्तिम १६ सम्म डो-याएका अकिरा निसिनोलाई स्थानान्तरण गर्नेछन्। जर्मनीका पूर्वप्रशिक्षक योर्गान क्लिन्सम्यान र आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगर पनि जापानको प्रशिक्षक बन्ने चर्चा चलेको थियो। तर जापान फुटबल संघ (जेएफए) ले विश्वासिलो भित्रिया खोज्दा मोरियासुलाई नियुक्त गरेको हो।

मोरियासुले तत्कालका लागि जापानको यु–२१ टोली प्रशिक्षणको कामलाई पनि निरन्तरता दिनेछन्। टोकियोमा दुई वर्षपछि हुने ओलम्पिकका लागि जापानले मोरियासुको नेतृत्वमा त्यो टोली तयार गरिरहेको छ। मोरियासुलाई राष्ट्रिय टोलीको पनि जिम्मेवारी दिनुबाट जेएफएले सिनियर टिममा युवा खेलाडीको आगमनलाई स्वागत गर्न चाहेको रूपमा बुझिएको छ।

‘टिममा केही परिवर्तन हुनेछ। नयाँ पुस्ताका खेलाडीको आगमन हुनेछ, नयाँ र पुराना खेलाडीबीचको तालमेलमा जोड दिइनेछ,’ पत्रकार सम्मेलनमा मोरियासुले भने। लगातारको खराब प्रदर्शनका कारण जेएफएका प्रमुख कोजो तासिमाले अप्रिलमा बोस्नियन प्रशिक्षक भाहिद हालिलहोडजिकलाई बर्खास्त गरेका थिए। हालिलहोडजिकलाई विश्वकपको पूर्वसन्ध्यामा निसिनोले स्थानान्तरण गर्दा मोरियासु सहायक प्रशिक्षकका रूपमा रूस यात्रामा गएका थिए। रूस विश्वकप जापानका लागि फलदायी रह्यो। विश्वकप इतिहासमा पहिलो पटक फेयर प्ले अंकका आधारमा निर्णय हुँदा जापान २०१० पछि पहिलो पटक नकआउट चरणमा पुगेको थियो।

जापानी राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर मोरियासुको प्रशिक्षणमा सान्फ्रेसे हिरोसिमाले २०१२ देखि २०१५ को बीचमा तीन पटक जे–लिगको उपाधि जितेको थियो।

१९९२ मा नेदरल्यान्ड्सका हान्स ओफ्ट पहिलो पटक विदेशी प्रशिक्षकका रूपमा नियुक्त भएयता जापानले विदेशी प्रशिक्षकको नेतृत्वमा मिश्रित खालको नतिजा निकाल्ने गरेको छ। फ्रान्सेली प्रशिक्षक फिलिप ट्राउजियरले २००२ मा सहआयोजकको रूपमा जापानले आयोजना गरेको विश्वकपमा घरेलु टोलीलाई अन्तिम १६ मा पु-याएका थिए। तर ब्राजिली प्रशिक्षक जिकोले भने हिदेतोसी नाकाता र सुनसुके नाकामुराजस्ता खेलाडीको उपस्थिति रहेको जापानी फुटबलको स्वर्णिम पुस्ताको टोलीलाई २००६ को विश्वकपमा कुनै उल्लेख्य सफलता दिलाउन सकेनन्।

प्रकाशित: ११ श्रावण २०७५ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App