अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ।
अस्ट्रेलियाको उत्तरी क्रिकेट सङ्घ (एनटी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो उद्घाटन खेल आगामी अगस्त १५ तारिखमा अस्ट्रेलियाको स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्ने भएको हो।
यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ। सिरिजमा सहभागी रहने अन्तरराष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन्।
त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिगबास लिग (बिबिएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ।
नेपालले समूह चरणमा ६ खेल खेल्नेछ। लिग चरणको शीर्ष चार रहने टोलीका बीचमा सेमिफाइनल भिडन्त हुनेछ।
त्यसैगरी, नेपालले आफ्नो दोस्रो खेल अगस्त १६ मा बङ्गलादेशको ‘ए’ टोली विरुद्ध खेल्नेछ। नेपालले तेस्रो खेल अगस्त १८ तारिखमा मेलबर्न स्टार्सविरुद्ध खेल्ने छ भने चौथो खेल अगस्त १९ तारिखमा होबार्ट हुरिकेन्सविरुद्ध खेल्नेछ।
त्यसैगरी, पाँचौँ खेल अगस्त २० तारिखमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्ने छ भने अन्तिम लिग खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ।
नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

प्रकाशित: २४ असार २०८२ १६:४२ मंगलबार





