विभागीय टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला फाइभ ‘ए’ साइड इन्डोर हक्की प्रतियोगितामा च्याम्पियन भएको छ।
नेपालमा पहिलोपल्ट सम्पन्न इन्डोर फाइभ ‘ए’ साइड महिला हक्की प्रतियोगिता आर्मी च्याम्पियन भएको हो। भक्तपुरमा सम्पन्न फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशमाथि २–० गोलअन्तरको जित निकाल्यो। दुवै गोल सरस्वती तामाङले गरेकी हुन्। विजेतालाई राखेप सदस्यसचिव टंकलाल घिसिङले पुरस्कृत गरेका थिए।
विजेता आर्मीले ५० हजार र उपविजेता सुदूरपश्चिम प्रदेशले २५ हजार नगद पुरस्कार प्राप्त गरेको राखेपकी कार्यकारी सदस्य तथा नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी आसिका एसके वेष्ट स्कोरर भइन्। उनले आठ गोल गरेकी थिइन्।
उत्कृष्ट डिफेन्डरमा सुदूरपश्चिमकी पूर्णिमा नेगी भइन्। नेपाल आर्मीकी कुश्मा रानामगर बेष्ट गोलकिपर चयन भइन्। बागमती प्रदेशकी सपना तामाङ उदीयमान खेलाडी घोषित भएकी छन्। विधागत उत्कृष्ट खेलाडीले ट्रफी पाएका थिए।
प्रकाशित: २२ असार २०८२ ०७:१४ आइतबार