एएफसी महिला एसियन कप छनोट अन्तर्गत आज हुने निर्णायक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानको सामना गर्दैछ।
एसियन कप २०२६ मा स्थान बनाउनका लागि फाइनलसरह मानिएको यो खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सुरुवाती-११ (प्लेइङ-११) सार्वजनिक गरिएको छ।
मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले श्रीलंकाविरुद्धको खेलबाट एक खेलाडी परिवर्तन गरेका छन्। रक्षापंक्तिलाई थप मजबुत बनाउने रणनीतिसहित राइट ब्याक पूजा रानालाई मौका दिइएको छ भने मिडफिल्डर प्रीति राईलाई बेन्चमा राखिएको छ।
आज राति नेपाली समयअनुसार ९:१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि ‘गर या मर’ को अवस्थामा छ। समूहका सुरुवाती दुवै खेल जितेका नेपाल र उज्वेकिस्तानको समान ६ अंक छ।
त्यसैले आजको खेलको विजेता टोली सोझै एसियन कपका लागि छनोट हुनेछ। निर्धारित समयमा खेल बराबरीमा सकिएमा नतिजाका लागि टाइब्रेकरमा जानेछ।
नेपाल र उज्वेकिस्तानबीचको ‘हेड टु हेड’ इतिहास भने उज्वेकिस्तानको पक्षमा छ। हालसम्म भएका तीनवटै खेलमा नेपाल पराजित भएको छ।
यद्यपि, आजको जितले नेपालका लागि नयाँ इतिहास रच्नेछ। यदि नेपालले यो खेल जितेमा सन् १९९९ पछि पहिलो पटक एएफसी महिला एसियन कपमा छनोट हुने ऐतिहासिक उपलब्धि हासिल गर्नेछ।

प्रकाशित: २१ असार २०८२ २१:१२ शनिबार