प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानसँग खेल्न लागेको नेपाली महिला फुटबल टोलीको हौसला बढाउँदै आफू खेल अवधिभर उनीहरुसँगै रहने र नेपालले जित्नेमा विश्वस्त रहेको बताएका छन्।
स्पेनको औपचारिक भ्रमणबाट फर्किका प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारस्थित आफ्नो निवासबाट ‘भर्चुअल’ माध्यममार्फत उज्वेकिस्तानमा रहेका खेलाडीहरूलाई सम्बोधन गरेका हुन्।
श्रीलङ्कालाई पराजित गर्दै फाइनलमा पुगेको टोलीलाई जितको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म तपाईंहरुको खेलसँगै हुनेछु। तपाईंहरुमा जितको मनोबल देखिएको छ। तपाईंहरुले जित्नैपर्छ। हामी जित्नेछौँ।’
उनले खेलाडीहरू सम्बोधन गर्दै भने, ‘साम्बा एन्ड टिम, विस यु अल द बेस्ट।’ प्रधानमन्त्रीको हौसलापछि खेलाडीहरूले ताली बजाएर आभार व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले नेपाली महिला फुटबलको ४० वर्षे संघर्षपूर्ण इतिहासमा यो खेलले अर्को स्वर्णिम नतिजा ल्याउने विश्वास व्यक्त गरे।
‘देशको गौरव बढाउन तपाईंहरुले गरिरहनुभएको योगदानको म प्रशंसा गर्दछु। यो जित हाम्रो लागि एउटा ‘टर्निङ पोइन्ट’ हुनेछ,’ उनले भने।
भर्चुअल संवादमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ पनि सहभागी थिए।
एन्फा अध्यक्ष नेम्वाङले प्रधानमन्त्रीको हौसला र खेल क्षेत्रप्रतिको चासोले आफूहरूलाई थप प्रोत्साहन मिलेको बताए।
प्रकाशित: २१ असार २०८२ १६:४४ शनिबार