साविकको विजेता नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि रक्षाका लागि सामान्य लक्ष्य पाएको छ। जारी फाइनलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा समेटिएपछि नेपालले उक्त लक्ष्य पाएको हो।
नेपालको धारिलो बलिङसामू सिंगापुरका खेलाडी क्रिजमा टिक्नै सकेनन्। सिंगापुरका लागि रोशन अस्टिनले ८४ बल खेलेर २३ रन जोडे। कप्तान रियाम नाइकले १५ रन बनाए। यस्तै, वेदांश गुप्ताले १२ र आकाश तेजाले १० रनको योगदान दिए।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सिंगापुरलाई सस्तैमा समेट्न सफल भए। अभय यादव र सुशील बहादुर रावलले समान ३-३ विकेट लिए। अभयले १० ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए भने सुशीलले ८ ओभरमा ३८ रन दिएर ३ विकेट हात पारे। शुभम् खनालले २ विकेट लिएका थिए भने बिपिन प्रसाद शर्माले १० ओभरमा मात्र १४ रन खर्चेर १ विकेट लिए।
साविक विजेता नेपालले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदै दोस्रोपटक उपाधि जित्ने लक्ष्य राखेको छ। सिंगापुर अप्रत्यासित जित निकाल्दै पहिलो पटक उपाधि चुम्ने दाउमा छ
प्रकाशित: २१ असार २०८२ १०:४७ शनिबार





