इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलका मोहमद सालाहले आफ्ना सहकर्मी डिएगो जोटाको कार दुर्घटनामा निधन भएपछि क्लब फर्कन डर लागिरहेको बताएका छन्।
सहकर्मीको निधनपछि लिग च्याम्पियन लिभरपुलका केही स्टार खेलाडीले प्रिसिजनको तयारीका लागि फर्कने समय पछाडि धकेलेका छन्। पोर्चुगलका फरवार्ड जोटा र उनका भाइ आन्द्रे सिल्भाको बिहीबार स्पेनमा भएको कार दुर्घटनामा निधन भएको थियो। शनिबार जोटा दाजुभाइको अन्त्येष्टिअगाडि पोर्चुगलमा शुक्रबार दिउँसो शोकसभामा धेरै मानिस उपस्थित रहे।
लिभरपुलका खेलाडीहरूले आफ्ना सहकर्मीको असामयिक मृत्युलाई स्वीकार गर्न कठिन भइरहेको अभिव्यक्ति दिइरहेका छन्। ‘म एकदम दुखित र पूर्ण रूपमा अविश्वासमा छु,’ लिभरपुलका कप्तान भर्जिन भान डाइकले इस्न्टाग्राममा पोस्ट गरेका छन्। लिभरपुलका प्रशिक्षक आर्ने स्लटले क्लबसँग जोडिएका सबैलाई जोटाका लागि सँगै उभिन र एकअर्का लागि हुन आग्रह गरेका छन्।
इजिप्ट स्टार सालाहले पनि शुक्रबार जोटालाई श्रद्धाञ्जलि अर्पण गरे। ‘म शब्दहरू खोज्दै छु,’ गत वर्ष प्रिमियर लिगमा शीर्ष गोलकर्ता सालाहले इन्स्टाग्राममा लेखे, ‘हिजोसम्म मैले सोच्न पनि सकेको थिइनँ। अब बिदापछि लिभरपुलमा फर्कन यति धेरै डर लाग्छ भन्ने सोचेको पनि थिइनँ।’ सालाहले अगाडि भने, ‘साथीहरू आउँछन् र जान्छन्। तर, यसरी भने होइन। बिदापछि डिएगो त्यहाँ आउँदैनन् भन्ने स्वीकार गर्न अन्त्यन्तै गाह्रो भइरहेको छ।’
सालाहले जोटाका आमाबुबा, श्रीमती र उनका सन्तानलाई कस्तो भइरहेको होला भनेर चिन्ता पनि व्यक्त गरेका छन्। ‘उनका बुबाआमाले एकैपल्ट दुई सन्तान गुमाउनुप¥यो। जोटाका श्रीमती र सन्तानलाई पनि कस्तो असह्य भैरहेको होला? त्यसैले उनीहरूलाई साथसहयोगको आवश्यकता परिरहेको छ। यो घटनालाई जोटाको परिवार कहिल्यै बिर्सने छैनन्,’ सालाहले आफ्ना साथीको परिवारबारे चिन्ता व्यक्त गरे।
जोटाले गत जुन २२ गते मात्र रुट कार्डोसोसँग विवाह गरेका थिए। उनले दुर्घटनामा पर्नुभन्दा केही घण्टाअगाडि मात्र इस्न्टाग्राममा विवाहको एउटा भिडियो सार्वजनिक गरेका थिए। जोटाका तीन सन्तान पनि छन्।
स्लटको प्रशिक्षणमा रहेका टोलीका केही खेलाडीहरू क्लबमा फर्किएका छन्। उनीहरू आइतबार फिजिकल टेस्ट पनि दिएर प्रशिक्षणमा पनि सहभागी भए। यद्यपि, केही खेलाडी फर्कने समय भने केही पछि धकेलिएको रिपोर्ट सार्वजनिक भएको छ। लिभरपुलको प्रिसिजनको पहिलो खेल आगामी जुलाई १३ तारिखमा हुँदै छ। तर, केही दिन मात्र बाँकी छँदा खेलाडीहरू पनि फर्किएका छैनन्।
क्लबले जोटामाथि श्रद्धाञ्जलि अर्पण गर्न एक डायरी राखेको छ भने झन्डा पनि झुकाएको छ। समर्थकले पनि स्टेडियमबाहिर पूmलगुच्छाहरूबाट जोटाप्रति श्रद्धाञ्जलि अर्पेका छन्। सोही दृश्य वुभ्सको स्टेडियम मोनिनेक्समा पनि छ। जुन जोटाको पूर्वक्लब पनि हो।
प्रकाशित: २१ असार २०८२ ०८:४४ शनिबार





