कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले आगामी आर्थिक वर्षको बजेटमा सरकारले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको गुनासो गरेका छन्। शुक्रबार विराटनगरमा बोर्डले आयोजना गरेको खेलकुद सरोकारवाला, निजी क्षेत्र र स्थानीय तहसँगको अन्तरक्रियामा बस्नेतले यस्तो गुनासो गरेका हुन्।
बस्नेतले सङ्घीय सरकारले आफ्नो बजेट मार्फत खेलकुद क्षेत्रलाई उत्साहित बनाउने प्रयास गरे पनि कोशी प्रदेश सरकारले उक्त लय बिथोल्ने प्रयास गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। कोशी प्रदेश सरकारको आर्थिक वर्ष ०८२/८३ मा सामाजिक विकास मन्त्रालयले खेलकुद बोर्डलाई न्यून बजेट विनियोजन गरेको बस्नेतले बताए।
बस्नेतले खेलकुद क्षेत्रमा बजेट अपर्याप्त भएको बेला मन्त्रालयले बजेट कम गर्ने निर्णयले सम्पूर्ण खेल क्षेत्र र खेलकुदकर्मीहरू निराश भएको धारणा राखे। निजी क्षेत्रलाई प्रदेश मातहतको जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका, आर्थिक विवरण अद्यावधिक र नवीकरण गरेका खेलकुद संस्था मार्फत मात्रै खेल क्षेत्रमा लगानी गर्न आग्रह गर्न बस्नेतले आग्रहसमेत गरे।
सामाजिक विकास मन्त्री पाँचकर्ण राईले आफूले खेलकुद क्षेत्रको बजेट बढाउन मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्रीलाई आग्रह गर्दा समेत स्रोतको सीमितताको कारण खेलकुद क्षेत्रमा न्यून बजेट विनियोजन भएको बताए। मन्त्री राईले भने, ‘मन्त्रालयको बजेटको सिलिङ्ग प्रदेशका केही पालिकाको बजेटभन्दा थोरै रहेको र कार्यक्षेत्र धेरै भएकोले बोर्डलाई बजेट कम हुन गएको हो।’
उनले खेलकुद क्षेत्रलाई गतिशील बनाउन सङ्घीय, प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे। अन्तर्क्रियामा आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरले कोशी प्रदेशमा साहसिक खेलकुद पर्यटनको आधार निर्माण गर्ने गरी काम गर्नुपर्ने बताए।
मन्त्री मगरले प्रदेशमा खेलको प्राथमिकीकरण गरेर अघि बढ्ने योजना रहेको स्पष्ट पारे।
प्रकाशित: २० असार २०८२ १९:५४ शुक्रबार





