विश्वविख्यात फुटबल क्लब रियल मेड्रिडले नेपाली युवा प्रतिभाहरूलाई आफ्नो तालिम तथा भर्ना प्रक्रियामा सहभागी हुन प्रोत्साहन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेनस्थित क्लबको घरेलु मैदान ‘सान्टियागो बर्नाबाउ’ को भ्रमणका क्रममा क्लबका अन्तर्राष्ट्रिय निर्देशकले यस्तो आह्वान गरेका हुन्।
प्रधानमन्त्री ओलीसँगको भेटमा क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले नेपाली विद्यार्थी तथा युवा खेलाडीहरूलाई रियल मेड्रिडको एकेडेमी र तालिम कार्यक्रममा सहभागी हुन स्वागत गरिने बताए।
सो अवसर प्रधानमन्त्री ओलीले रंगशालाको भ्रमण गरे। संयुक्त राष्ट्रसंघको कार्यक्रमका लागि स्पेनमा रहेका प्रधानमन्त्री ओलीले रंगशाला भ्रमण गर्दा आफू रियल मेड्रिडको समर्थक भएको बताएका थिए। सोही क्रममा उनलाई क्लबले ७ नम्बरको जर्सी उपहार दिएको थियो।
रंगशाला अवलोकनका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल पनि सहभागी थिए।
प्रकाशित: १९ असार २०८२ १६:५४ बिहीबार





