एएफसी महिला एसियन कप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लाओसविरुद्ध पहिलो हाफमा २-० को प्रभावशाली अग्रता बनाएको छ।
उज्वेकिस्तानको तास्केन्तमा जारी खेलमा नेपालका लागि अनिता बस्नेत र कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले एक-एक गोल गरिन्।
खेलको सुरुवातदेखि नै लाओसलाई दबाबमा राखेको नेपालले १२औं मिनेटमा अग्रता लिएको थियो। सविता राना मगरको उत्कृष्ट क्रसमा कप्तान साम्बाले हेडमार्फत मिलाइदिएको पासलाई अनिता बस्नेतले सुन्दर लेफ्ट फुटेड सटमा परिणत गर्दै गोल गरिन्।
खेलको ४४ औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो। यस पटक अनिता बस्नेतको सटिक क्रसलाई साम्बाले उत्कृष्ट हेडरमार्फत जाली चुमाउँदै नेपाललाई २-० को सहज स्थितिमा पुर्याइन्।
यस खेलमा नियमित कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको स्थानमा सावित्रा भण्डारी ‘साम्बा’ले कप्तानीको जिम्मेवारी सम्हालेकी छिन्।
नियमित गोलकिपर तथा कप्तान एन्जिलासहित विदेशी लिगमा व्यस्त रहेका रेखा पौडेल, पूजा राना, स्टार मिडफिल्डर प्रीति राई र विमला बिक जस्ता आधा दर्जन प्रमुख खेलाडी आज बेन्चमा छन्। एन्जिलाको स्थानमा अन्जना राना मगरले गोलपोस्ट सम्हालेकी छिन्।
प्रकाशित: १५ असार २०८२ १९:१८ आइतबार





