३२ असार २०८२ बुधबार
image/svg+xml
खेल

मनास्लु र वारियर्सलाई उपाधि

मनास्लु र वारियर्सले मंगलबार एसडब्लुएससी एसइई थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

वसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा सम्पन्न प्रतियोगितामा मनास्लु ब्वाइजमा र वारियर्स गर्ल्समा च्याम्पियन भएका हुन्। ब्वाइज फाइनलमा मनास्लुले बिएमकेलाई १८–१७ ले पराजित गर्‍यो।

गल्र्सको उपाधि भिडन्तमा वारियर्सले भ्याली पब्लिकलाई १३–१२ ले हरायो। दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे। विजेता टोलीका प्रत्येक खेलाडी र मोस्ट भेलुएबल प्लेयरले ५० प्रतिशत छात्रवृत्ति पनि पाउनेछन्। उपविजेतालाई ४० प्रतिशत तथा सहभागी टिमका खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ। तीन दिनको अवधिमा मनास्लु र वारियर्सको यो दोस्रो उपाधि हो। दुवैले आइतबार प्रथम एलएनए एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका थिए।

ब्वाइजमा मनास्लुका शुभम सैजु र गल्र्समा वारियर्सकी दिब्यान्शा कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। विजेतालाई एसडब्लुएससीका क्याम्पस चिफ डा. राजेन्द्र केसी, भाइस प्रिन्सिपल हरिसिंह केसी, प्रोग्राम को–ओर्डिनेटर राजेन्द्र लामिछाने, प्रोग्राम डाइरेक्टर गणेश महरा र इन्टरनेसनल रिलेसन को–ओर्डिनेटर सरिता शाक्य प्रधानले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ११ असार २०८२ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App