उमा कुङ्फु खेलाडी कमल मगर अमेरिकामा नगदसहित सम्मानित भएका छन्। नेपालमा उमा कुङ्फु खेलको विकास र विस्तारमा योगदान पुर्याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा कमललाई सम्मान गरिएको हो।
कमललाई अमेरिकामा रहेका वरिष्ठ कानुन व्यवसायी खगेन्द्र घर्ती क्षेत्री, सिद्धार्थ लामालगायतले २ लाख ७४ हजार नगदसहित सम्मान गरेका हुन्। त्यसमा क्षेत्रीले एक लाख २ हजार ७ सय ५० र लामाले ६८ हजार ५ सय रूपैयाँ सहयोग गरेका थिए। न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्स क्लब, युएसएमा आयोजित कार्यक्रममा कमललाई प्रशंसापत्रसहित नगद प्रदान गरिएको थियो। त्यसै अवसरमा न्युयोर्क स्टेट एसेम्बलीका सदस्य माननीय स्टेवन वी. रागाले कमललाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरी सम्मान गरे।
त्यस्तै, न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजना गरिएको ‘हिमालयन स्ट्रिट फेयर–हाम्रो मेला’ कार्यक्रममा क्विन्स बरोका अध्यक्ष माननीय डोनेभान रिचार्डले कमललाई ‘साइटेसन अफ अनर’ बाट सम्मान गरे। सम्मानित भएपछि कमलले च्याम्पियन मार्सल आटर््स क्लबप्रति आभार व्यक्त गर्दै यस्तो सम्मानले खेलाडीलाई आफ्नो खेलजीवन अगाडि बढाउन प्रेरणा दिने बताउँदै भविष्यमा पनि नेपाली खेलाडीलाई सहयोग गर्न आग्रह गरे। उनले क्लबका अध्यक्ष ११औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनील लामा र क्लब परिवारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए।
सम्मान कार्यक्रममा च्याम्पियन मार्सल आटर््स क्लबका अध्यक्ष लामाले इमानदार, उत्तरदायी र सहयोगी खेलाडीका रूपमा परिचित कमलको सफलताले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा गौरवान्वित तुल्याएको बताए। उनले कमलको प्रेरणादायी यात्रा भविष्यको पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे। सोलुखुम्बुको दूधकुण्ड नगरपालिका १० निवासी चौथो डान कमल प्रशिक्षक र निर्णायकको भूमिकामा पनि उत्तिकै सक्रिय रहेको नेपाल उमा कुङ्फु संघका उपाध्यक्ष सिद्धार्थ लामाले बताए।
कमलले इन्टरनेसनल ब्याटल अफ डेटोना, अमेरिका, युरोपियन च्याम्पियनसिप, बेलायत, डब्लुएमएसी प्यान्डेमिक गेम्स, अष्ट्रिया, १३ औं वल्र्ड मार्सल आटर््स गेम्स, क्रोएसिया, १२ औं डब्लुएमए वल्र्ड च्याम्पियनसिप, बेलायत र सातौं वल्र्ड कुङ्फु च्याम्पियनसिप, थाइल्यान्डमा स्वर्ण जितेका छन्। उनले निर्णायकको रूपमा कमलले विभिन्न राष्ट्रिय उमा कुङ्फु च्याम्पियनसिप, उमा वल्र्ड च्याम्पियनसिप ग्रीस, १४औं राष्ट्रिय कुङ्फु च्याम्पियनसिप, भारत, केम्पो खुकुरी च्याम्पियनसिपलगायत विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन्।
कमलले चीनको बेइजिङ साओलिन उसु स्कुलमा एक महिनाको विशेष प्रशिक्षण लिएर सियाङसिङवान, ब्राडस्वर्ड, डबल सेक्सन स्टाफ, नाइन सेक्सन ह्विप, कुङ्फु फ्यान, कुडजेल, छिगोङजस्ता विधामा दक्षता हासिल गरेका छन्। कमल नेपाल उमा कुङ्फु संघका महासचिव पनि हुन्।
प्रकाशित: १० असार २०८२ ०८:२७ मंगलबार