नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले स्कटल्यान्ड भ्रमणका क्रममा आइसिसी विश्वकप लिग–२ मा पाएका सफलताले आगामी शृंखलाका लागि टोलीको मनोबल थप बढ्ने बताएका छन्।
स्कटल्यान्ड भ्रमणमा लिग–२ र टी ट्वान्टी शृंखलामा सुखद प्रदर्शन गर्दै नेपाली टोली आइतबार स्वदेश फर्किएको थियो। सो क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षक स्टुआर्ट लको आगमनसँगै थोरै समयमा धेरै सुधार आएको भन्न नसकिने उल्लेख गर्दै टोलीको वातावरण भने राम्रो बनेको उल्लेख गरेका छन्।\
स्कटल्यान्डमा नेपालले आइसिसी विश्वकप लिग–२ को चार खेलमध्ये तीन जित दर्ता गरेको थियो। लिग–२ को अङ्कतालिकामा कमजोर देखिएको नेपालले यो भ्रमणमा भने सुधारिएको प्रदर्शन गरेको देखिएको थियो।
यद्यपि, स्टुआर्ट लले टोलीको वातावरण र माइन्डसेटमा पनि सुधार ल्याएको रोहितको भनाइ छ। कप्तान रोहितले प्रशिक्षक स्टुआर्ट ल सीधा र सरल तरिकाले प्रशिक्षण गरेको उल्लेख गरेका छन्।
मिटिङ भन्दा पनि मैदानमा कसरी जित निकाल्नेतर्फ प्रशिक्षकको ध्यान केन्द्रित हुने गरेको रोहितको भनाइ छ। रोहितले यी सफलताको जित भने कोचिङ स्टाफलाई नै दिनुपर्ने बताएका छन्।
नेपालले लिग–२ मा जस्तै तीन देश (स्कटल्यान्ड र नेदरल्यान्ड) सम्मिलित टी ट्वान्टी शृंखलामा पनि चार खेलमध्ये दुई खेल जितेको थियो। नेपालले आइसिसी वरीयतामा आफूभन्दा बलियो टोलीलाई हराउँदै सुधारिएको खेल प्रदर्शन गरेको हो।
कप्तान रोहितले यी बलिया टोलीविरुद्ध जितले लिग–२ को आगामी शृंखलाका लागि पनि नेपाली टोलीको आत्मबल बढाउने आशा व्यक्त गरेका छन्। टी ट्वान्टी शृंखलामा नेपालले नेदरल्यान्ड्सँग तीनपल्ट सुपर ओभर खेलेको थियो।
उनले तीनपल्ट सुपर ओभर होला भन्ने कल्पना नै नगरेको र त्यहाँसम्म पुग्न नन्दन यादवले महत्वपूर्ण भूमिको खेलेको बताए। तर, सुपर ओभरमा समय लिएर खेल्न अवस्था नहुने र नतिजा पनि चाहेअनुरूप नआएको उल्लेख गरे।
तेस्रो सुपर ओभरमा भने सोचेअनुरूप हुन नसकेको उनी बताउँछन्। आइसिसी टी ट्वान्टी विश्वकप एसिया छनोटको तयारीका लागि राम्रो ब्याक अप आवश्यक पर्ने भएकाले यसै टी ट्वान्टी शृंखलामा सबै खेलाडीलाई अवसर दिएको कप्तान रोहितले बताएका छन्। डन्डीको विकेट धेरै राम्रो रहेको र नेपाली टोलीको पनि ब्याटिङमा सुधारको विश्वास व्यक्त गरेका छन्।
कप्तान रोहितले पछिल्ला दुई तीन वर्षयता टोलीमा समालेकाले हारपछि कसरी कमब्याक गर्ने बारे सिकेको पनि उल्लेख गरे।
नेपाली टोलीका सदस्य नन्दन यादवले यो भ्रमणअघि केही अभ्यास खेलले पनि शृङ्खलामा राम्रो नतिजा आएको बताएका छन्।
यद्यपि, चारमध्ये एउटा खेलमा केही गल्ती गर्दा नतिजा आफ्नो पक्षमा आउने नसकेको उनको भनाइ छ। टी ट्वान्टी शृंखलामा पनि नेपालले जित्नुपर्ने उनको भनाइ थियो। तर, केही पक्षमा राम्रो हुन नसक्दा नतिजा आउन नसकेको नन्दन बताउँछन्।
सुपर ओभर हुनुअघि आफूले चौकाको ठाउँमा छक्का हानेको भए नतिजा आफ्नो पक्षमा आउने भए पनि त्यो गर्न असमर्थ भएको उनले बताएका छन्।
प्रकाशित: ८ असार २०८२ २१:०७ आइतबार





