मोरङ जिल्ला खेलकुद विकास समितिका कर्मचारी र प्रशिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले मोरङका कार्यालय प्रमुखमाथि हातपात र गालीगलोज गर्ने समूहलाई कारबाहीको माग गर्दै आन्दोलन थालेका छन् ।
मोरङ जिल्ला खेलकुद विकास कर्मचारी संघका अध्यक्ष प्रकाश मल्ल र राष्ट्रिय खेलकुद परिषद् केन्द्रीय कर्मचारी संघका सदस्य प्रविनकुमार राना मगरले कार्यालय प्रमुखमाथि भएको घटनाप्रति खेद प्रकट गर्दै घटनामा संलग्न दोषीहरुलाई चाँडो पक्राउ गरी कारबाहीको माग राख्दै आन्दोलन थालेको जानकारी दिए ।
जेठ २२ दिउँसो कार्यकक्षमै कार्यालय प्रमुखमाथि हातपात र गालीगलौज हुनु निन्दनीय भएको बताउँदै, अध्यक्ष मल्लले भने, ‘कसैले पनि कानुनविपरीत काम गर्नु हुँदैन' । यदी कार्यालय प्रमुखबाट केही भएको भए बसेर छलफल गर्ने वा कानुनी उपचारको बाटो हुँदाहुँदै समूहमा आए काम गर्दै गरेको कर्मचारीलाई हातपात, गालीगलौज गर्दै ज्यान मार्नेसम्मको धम्की दिँदै कानुन हातमा लिने समूहलाई तत्कालै पक्राउ गरी कारबाही नभएको हुँदा आन्दोलन थालेका हौं ।’
घटना भए लगत्तै घटनामा संलग्न भएका ३ जनाको नाम उल्लेख गरेर कार्यालयले उनीहरुलाई कारबाही गरी शान्ति सुरक्षा गरी पाऊँ भनेर जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयमा पत्र पठाए पनि हालसम्म कुनै सुनुवाई नभएको हुँदा आन्दोलनमा उत्रनु परेको अध्यक्ष मल्लले बताए । उनले यसरी कार्यालय प्रमुखमाथि भएको घटनाका दोषी खुला रुपमा हिँडिरहेको हुँदा कार्यालयमा बसेर काम गर्ने वातावरण नभएको प्रस्टाए ।
आन्दोलनको पहिलो दिन आइतबार कालो पट्टी बाँधेर २ घण्टा कार्यालयको कामकाज ठप्प गरी धर्ना बसेका थिए । सोमबार ४ घण्टा, १० गते ६ घण्टा कार्यालयको कामकाज ठप्प गर्ने बताइएको छ । यस्तै, असार ११ गतेबाट कार्यालयमा चाबी लगाएर अनिश्चितकालीन कार्यालय बन्द गर्नेसम्म आन्दोलनको घोषणा गरेका छन् ।
कार्यालय प्रमुख राजन पोखरेलले आफू कार्यालयमा बसेर काम गर्दैगर्दा राम लिम्बूसहित चन्द्र पराजुली र धर्म न्यौपानेको टोली आएर मलाई एउटा निवेदन जबरजस्ती दर्ता गराउन खोजको बताए । उनीहरु कराँते खेलसँग आवद्ध रहेका छन् ।
१५ औं राष्ट्रपति खेलकुद प्रतियोगिता र खेलाडी छनोटका विषयलाई लिएर राम लिम्बूसहितको टोलीले असुन्तष्टी पोख्दै हातपात, गालीगलौजका साथै धम्की दिएको बताउँदै, पोखरेलले भने, ‘काम गरेर बसेका बेला ३ जनाको समूह आएर एउटा निवेदन जबरजस्ती दर्ता गर्न भनेपछि मैले सो निवेदन अध्यक्षसँग तोक लगाएरपछि मात्रै गर्छु भनेपछि उनीहरु ममाथि खनिए ।’
१५ औं राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिताअन्तर्गत कराँते खेल नियमविपरीत अरुलाई आयोजनाको जिम्मा दिएको र खेलाडीलाई खेल खेल्नबाट बञ्चित गराएको लिम्बूले ल्याएको निवेदनमा उल्लेख गरिएको छ । लिम्बू समूहले प्रतियोगिता आयोजनाको जिम्मा पाउने आधिकारी संस्थाको आफूहरु हुँदाहुँदै कराँते संघ बाहिरका व्यक्ति र समूहलाई जिम्मेवारी दिँदा केही खेलाडीहरु खेल्नबाट वञ्चित हुनु परेको निवेदनमा छ ।
त्यस्तै, कोशी खेलकुद विकास बोर्डले यसअघि नै कराँते महासंघलाई विघटन गरेर तदर्थ समिति बनाएको थियो । त्यहीँ समितिलाई प्रतियोगिता आयोजना र खेलाडी छनोटको जिम्मा दिइएको थियो ।
प्रकाशित: ८ असार २०८२ २०:०६ आइतबार





