२६ असार २०८२ बिहीबार
image/svg+xml
खेल

एसिसी यु–१६ इस्ट जोन कपको चौथो उपाधि लक्ष्यमा नेपाल

तीन पल्टको च्याम्पियन नेपाली यु–१६ क्रिकेट टोली मलेसियामा हुने यु–१६ इस्ट जोन कपको उपाधि रक्षा गर्ने लक्ष्यसहित होमिँदैछ।

मलेसियाको बाङ्गीमा आगामी जुन २२ देखि जुलाई ५ सम्म एसिसी यु–१६ इस्ट जोन कप हुँदै छ। ५० ओभरमा हुने यस इस्ट जोन कपमा नेपालसहित १० राष्ट्रले चुनौती प्रस्तुत गर्दैछन्।

नेपाल लगातार तीन पल्टको च्याम्पियन पनि हो। यसअघि नेपालले सन् २०१७, सन् २०१९ र २०२३ मा इस्ट जाने उपाधि जितेको हो। दुई वर्षपछि हुन लागेको यु–१६ इस्ट जोन कपमा नेपाली किशोर टोलीले उपाधि जित्ने लक्ष्य राखेका छन्।

नेपालका कप्तान विपिन शर्माले मलेसियामा हुने एसिसी यु–१६ इस्ट जोन कपको उपाधि जितेर घर फर्कने बताएका छन्। यसै प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक कार्यक्रमका बीच किशोर टोलीको बिदाइ गरेको थियो।

सो अवसरमा कप्तान विपिनले नेपाल यस कपको डिफेन्डिङ च्याम्पियन रहेको र सोहीअनुरूप तयारी पनि भएकाले उपाधि जित्ने लक्ष्यसहित जाने बताए।

नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सबाट विपिनले प्रभावशाली प्रदर्शन गरेका थिए। सिनियर स्तरमा पनि राम्रो प्रदर्शन गरेका विपिनलाई क्यानले कप्तानी जिम्मेवारी सुम्पिएको हो।

उनले पनि आफूलाई प्राप्त जिम्मेवारीमा बिनादबाब काम गर्ने अठोट व्यक्त गरेका छन्। ‘पहिलोपल्ट कप्तान हुँदा दबाब हुनसक्छ। तर, यसलाई अवसरको रूपमा लिएर अगाडि बढ्नेछ, ’विपिनले भने, ‘यस प्रतियोगिताले युवा खेलाडीको स्तरोन्नतीमा राम्रो गर्ने विश्वास लिएको छु।’

यस संस्करणमा नेपाल र मलेसियासहित भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, सिंगापुर र थाइल्यान्डले प्रतिस्पर्धा गर्दैछन्।

‘१० वटा राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। सबैले उत्कृष्ट प्रदर्शन गर्छन्। यीमध्ये हङकङ र मलेसिया तुलनात्मक रूपमा केही बलिया छन्। तर, हामी पनि यसका लागि तयार छौं,’ विपिनले भने, ‘ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा हाम्रो टोली सन्तुलित छ। सबै खेलाडीहरू राम्रो लयमा छन्।’

यस टोलीमा दुई जना लेप्ट आर्म स्पिनर र एक जना फास्ट बलर छन्। ब्याटिङ पनि यो टोलीका खेलाडी लयमा देखिन्छन्। पछिल्लो समय खेलाडीहरू विभिन्न प्रतियोगितामा व्यस्त रहेकाले थप सहज हुने विपिनको अपेक्षा छ।

टोलीमा राम्रो तालमेल पनि मिलिरहेको उनी बताउँछन्। त्यसैले इस्ट जोनमा उत्कृष्ट प्रदर्शन गर्नेमा कप्तान विपिन विश्वस्त देखिए। समूह ‘बी’ मा मलेसिया र हङकङ राम्रो टोली हुन सक्ने विपिनले औंल्याए। तर, पनि उनीहरूलाई हराउनेमा उनी विश्वस्त देखिए।

क्यानले यस प्रतिस्पर्धा सहभागी हुने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरेको थियो। क्यानका कोषाध्यक्ष पदमबहादुर खड्का र प्रवक्ता छुम्बी लामाले टोलीलाई बिदाइ गरेका हुन्। सो अवसरमा नेपाली टोलीका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जसरी पनि उपाधि जित्ने बताए।

प्रशिक्षणका लागि कम समय पाए पनि खेलाडीले एक महिनादेखि जिल्लास्तरीय हुँदै राष्ट्रिय प्रतियोगिता खेलिरहेको हुँदा सहज भएको उनी बताउँछन्। उनले सबै जान फिट रहेको बताए।

टोली सन्तुलित रहेकाले राम्रो प्रदर्शन गर्नेमा उनी विश्वस्त छन्। त्यसैले पनि उपाधि लिएर फर्किने उनले बताए। नेपालले पछिल्लो पल्ट सन् २०२३ मा यसको उपाधि जितेको थियो।

फाइनलमा नेपालले मलेसियालाई पराजित गरेको हो। यस संस्करणमा नेपाल समूह ‘ए’ मा छ।

यस समूहमा सिंगापुर इन्डोनेसिया, भुटान र जापान छन्। अर्को समूह ‘बी’ मा मलेसिया, थाइल्यान्ड, हङकङ, माल्दिभ्स र म्यानमार छन्।

नेपालले जुन २२ मा सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालले जुन २४ मा जापान, २९ मा इन्डोनेसिया जुलाई १ मा भुटानविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ।

नेपाली किशोर टोलीमा विपिन (कप्तान), शूर्यान्सु कोइराला (उपकप्तान), रौनक श्रीवास्तव, अभय यादव, प्रसिद्ध जैसी, जोय थापा, सचिन भट्ट, सुगम बुढाथोकी, शिवांश बजगाईं (विकेटकिपर), परिमर्जन यादव (विकेटकिपर), सुयोग भट्टराई, सुशीलबहादुर रावल, सुभम खनाल र रोशन साही छन्।

प्रकाशित: ६ असार २०८२ २०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App