२८ असार २०८२ शनिबार
image/svg+xml
खेल

राहुल र सुवासको संयुक्त अग्रता

एमेच्योर राहुल विश्वकर्मा र प्रोफेसनल गल्फर सुवास तामाङले जारी सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा मंगलबार संयुक्त रूपमा अग्रता बनाएका छन्।

पार–७२ को गोकर्ण गल्फ कोर्समा भएको दोस्रो दिनको खेल सकिँदा एमेच्योर गल्फर राहुल र प्रो. गल्फर सुवासले समान १० अन्डर १३७ स्कोर गर्दै अग्रता लिएका हुन्। यी दुई युवा गल्फर सद्भाव आचार्यभन्दा दुई स्ट्रोकले अगाडि छन्। प्रिमियर गल्फ सूर्य नेपाल गल्फ टुर २०२४–२५ सिजनको अन्तिम प्रतियोगिता हो।

अघिल्लो दिन भने रवि खड्काले अग्रता लिएका थिए। तर, दोस्रो दिन भने उनको प्रदर्शन सुखद रहेन। राहुलले ७ अन्डर ६५ को सानदार प्रदर्शन गरे। सुवासले ६ अन्डर ६६ को स्कोर गर्दै शीर्षता कायम गरेका हुन्। नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भावले दिनकै उत्कृष्ट प्रदर्शन गरे पनि शीर्षता भेट्टाउन सकेनन्।

सद्भावले ८ अन्डर ६४ को स्कोरसहित दोस्रो दिनको खेल पूरा गरे। तर, समग्रमा उनी ८ अन्डर १३६ सहित तेस्रो स्थानमा उक्लिए। नीरज तामाङ चौथो स्थानमा छन्। उनले पाँच अन्डर ६७ मा मंगलबारको खेल सकाए। उनी समग्रमा सात अन्डर १३७ को कार्डमा छन्।

भुटानका एमेच्योर खेलाडी निमदोर्जी तामाङ पाँचौं स्थानमा रहे। उनले समग्रमा ६ अन्डर १ सय ३८ स्कोर बटुले। यस क्रमका निमदोर्जीले तीन अन्डर  ६९ को स्कोर जोडे। एमेच्योर वाङ्चेन ढोन्चुप समग्रमा पाँच अन्डर १३९ सहित छैटौं स्थानमा उक्लिए। उनको दोस्रो दिन चार अन्डर ६८ को प्रदर्शन रह्यो।

दिनेश प्रजापति र भुवन नगरकोटी संयुक्त रूपमा सातौं स्थानमा रहे। यी दुई समग्रमा तीन अन्डर १४१ को स्कोरमा छन्। दिनेशले तीन अन्डर ६९ र भुवनले इभन पार ७२ मा दोस्रो दिनको खेल पूरा गरे। कृष्णमान राजवाहक र रवि खड्का समग्रमा दुई अन्डर १४२ को स्कोरमा संयुक्त रूपमा नवौं स्थानमा छन्। रविले तीन ओभर ७५ को खराब प्रदर्शन गरेपछि शीर्षबाट झरेका हुन्।

कृष्णमानले भने तीन अन्डर ६९ मा रहेर दोस्रो दिनको खेल सकाए। कुल ३६ होलको खेल समाप्तिपछि २२ प्रो. र ६ एमेच्योर गरी कुल २८ गल्फरले कट (६ ओभर १५० सम्म स्कोर गर्ने) बनाएका छन्।

सञ्जय लामा, धनबहादुर थापा, शुक्रबहादुर राई, दीपक मगर, विष्णुप्रसाद शर्मा, तोरणविक्रम शाही, जयराम श्रेष्ठ, भुवनकुमार रोक्का, प्रदीपकुमार लामा, रामे मगर, रमेश अधिकारी, टंकबहादुर कार्की, रामकृष्ण श्रेष्ठ, वसन्तराज गुरुङ, शिवराम पौडेल र बलभद्र राईले कट बनाएका हुन्।

एमेच्योरतर्फ टासी छिरिङ र पदमहाङ लिम्बु पनि कट बनाउन सफल भए। नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित प्रिमियर गल्फको विजेताले ट्रफीसहित तीन लाख, दोस्रो हुने खेलाडीले एक लाख ८५ हजार, तेस्रोले एक लाख २५ हजार, चौथोले एक लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रूपैयाँ पुरस्कार पाउनेछन्। शीर्ष २१ भित्र रहने गल्फर पुरस्कार प्राप्त गर्नेछन्।  

प्रकाशित: ४ असार २०८२ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App